खुम्बुमा भीषण बाढी, घरहरू बगे, सतर्क रहन प्रशासनको अपिल

हिमाल प्रेस ३२ साउन २०८१ १५:५३ | Friday, August 16, 2024
खुम्बुमा भीषण बाढी, घरहरू बगे, सतर्क रहन प्रशासनको अपिल बाढीले ध्वस्त थामे गाउँ।

काठमाडौँ- सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ स्थित थामेमा बाढीले कैयौँ घरहरू बगाएको छ।  थामे खोलामा दिउँसो एक्कासि बाढी आएर  घरहरू बगाएको गाउँपालिकाका प्रशासकीय अधिकृत तथा गुनासो सुन्ने अधिकारी सुजनकुमार बुढाथोकीले हिमालप्रेसलाई जानकारी दिए। उनका अनुसार क्षतिको विवरण आइसकेको छैन।

‘थामेमा बाढी आएको छ। कैयाैँ घरहरू बगाएका छन्। एक्कासि बाढी आएकोले हिमताल फुटेको आशंका छ,’ उनले भने, ‘गाउँमाथि तीनवटा हिमताल छन्। तर ताल फुटेको हो या हैन एकिन गर्न गाह्रो छ।’ मौसम खराब रहेकाले अहिले कोही जान सक्ने अवस्था नरहेको बुढाथोकीले बताए।

स्थानीय पालिकाहरूले सतर्कता अनपनाउन अनुरोध गरेका छन्। बाढीले खुम्बु पासाङ ल्हामु, माप्यदुधकोशी गाउँपालिका, सोताङ, थुलुङ दुधकोशी र नेचा सल्यान गाउँपालिकाका नदी किनारका बस्तीमा क्षति पुग्न सक्ने भन्दै सतर्कता अपनाउन अपिल गरिएको हो।

सोलुखुम्बुबाट तासी लाप्चा भन्ज्याङ हुँदै दोलखाको च्छो रोल्पा ताल झर्ने पदयात्रीहरू यही गाउँ हुँदै हिँड्छन्। मनसुनका कारण पर्यटकीय गतिविधि त्यति छैन।
प्रसिद्ध आरोही आप्पा शेर्पा यसै गाउँमा जन्मिएका हुन्।

बाढीका कारण स्थानीय ४५ घरका मानिसलाई सुरक्षित स्थानमा रहेको गुम्बामा सारिएको बूढाथोकीले बताए। थामे खुम्बु क्षेत्रकाे एउटा महत्त्वपूर्ण पर्यटकीय गन्तव्य हो। त्यस क्षेत्रमा चर्चित तीनवटा भन्ज्याङको पदयात्राको प्रस्थान र अन्तिम बिन्दु मानिन्छ।

प्रकाशित: ३२ साउन २०८१ १५:५३ | Friday, August 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast