खेतीकिसानी

कोदो : भान्छामा प्रिय, खेतीमा उपेक्षा

रमेश भारती ३० साउन २०८१ ११:३६
50
SHARES
कोदो : भान्छामा प्रिय, खेतीमा उपेक्षा लमजुङको बेसीसहर नगरपालिका-९ मा कोदो रोप्दै किसान। तस्बिर : रासस

काठमाडौँ- रैथाने खाद्यान्न कोदोको परिकारको माग बढे पनि उत्पादन भने उपेक्षामा परेको छ। होटल, रेस्टुरेन्ट र तारे होटलको मेनुमा कोदोका परिकार राख्न थालिएको छ। सहरी क्षेत्रका नेपाली पनि कोदोको ढिँडो, मःम, पिज्जा, रोटी र खोलेमा आकर्षित हुन थालेका छन्।

कोदो नेपालको धान, मकै र गहुँपछिको चौथो बाली हो। पहाडी भेगमा त मकैपछिको दोस्रो बाली मानिन्छ कोदो। तर सरकार धान, गहुँ र मकैजस्ता बालीमा मात्र केन्द्रित हुँदा कोदो उत्पादन उपेक्षामा परेको छ।

कुनै बेला कोदोको परिकार कमै नेपालीको भान्छामा मात्रै  पाक्थे। पहाडी क्षेत्रमा जाडोयाममा रोटी र ढिँडो खाने गरिए पनि सम्पन्नहरूको दृष्टिमा कोदो त्यति रुचिकर खाद्यान्न थिएन। साथै यसलाई ‘कुअन्न’ र ‘गरिबको खाना’ का रूपमा पनि लिने गरिन्थ्यो।

होटल व्यवसायी महासंघका अध्यक्ष दिनेशकुमार सुकेले कोदोबाट बनेका परिकार नेपालीले मात्र होइन विदेशी पर्यटकले मन पराउन थालेको बताए। उनले भने, ‘सामान्यदेखि स्टार होटलमा समेत कोदोबाट बनेका परिकारको मेनु राख्न थालिएको छ। विदेशीले पनि कोदोको परिकार मन पराउँछन्।’

बजारमा नेपाली कोदो मंसिरदेखि फागुनसम्म मात्रै पाइन्छ। ग्रामीण क्षेत्रका जनजाति बस्तीमा दसैँतिहारजस्ता चाडमा कोदोको रक्सी बनाउने प्रचलन छ। साथै पछिल्लो समयमा कोदोको रक्सीको माग बढ्न थालेपछि यसलाई व्यावसायिक रूपमा उत्पादन गर्ने किसानको संख्या पनि बढ्दो छ।

केही वर्षयता कोदोको ढिँडो विदेशी पर्यटकको रोजाइमा पर्न थालेको छ। ‘कोदोको ढिँडो विदेशीले सिस्नोको तरकारीसँग असाध्यै मन पराउँछन्’, सुकेले भने। नेपाली कोदो मंसिरदेखि फागुनसम्म बढी पाइन्छ।

कृषिविज्ञ डा. हरि दाहाल कोदोबाट बनेको परिकार सुपर फुड र स्मार्ट फुडका रूपमा विकास भइरहेको बताउँछन्। कोदोबाट बनेका परिकार खाँदा स्वास्थ्यमा फाइदा हुने भएपछि यसको माग बढ्न थालेको उनले बताए। विज्ञहरूका अनुसार कोदोमा क्याल्सियम, फस्फोरस, फलाम, लवण, अमिनोएसिडलगायतका पौष्टिक तत्त्व पाइन्छ। यसैगरी मधुमेह, एनिमिया, हड्डी बलियो बनाउने तथा रगतको मात्रा बढाउने गुण कोदोमा हुन्छ।

कोदोको रक्सी ब्रान्डिङ गर्ने विषयमा बेलाबेलामा आवाज उठ्ने गरेको छ। कोशी प्रदेशकी तत्कालीन सामाजिक विकासमन्त्री उषाकला राईले नीति तथा कार्यक्रममार्फत उक्त योजना अघि बढाएकी थिइन्। यस कार्यक्रमलाई पछिल्लो समय निरन्तरता दिएको पाइँदैन।

आयात बढ्दो, उत्पादन घट्दो

नेपालको कुल दुई लाख ६० हजार हेक्टर क्षेत्रफलमा कोदोखती हुन्छ। कृषि मन्त्रालयका सचिव डा.  रवीन्द्र मिश्र उत्पादन वार्षिक ३ लाख २५ हजार मेट्रिक टनको हाराहारीमा रहेको बताउँछन्।

कोदोको आयात बर्सेनि बढ्दै गएको भान्सार विभागको तथ्यांक छ। विभागका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा ७५ करोड ४४ लाख रुपैयाँ बराबरको कोदो र कोदोको बिउ आयात भएको थियो। यस वर्ष १ करोड ५२ लाख ९२ हजार ८२० किलो कोदो र ५ हजार ३ सय ६३ किलो कोदोको बिउ आयात भएको विभागको तथ्यांक छ। यस वर्ष ४४ लाख रुपैयाँको कोदो निर्यात भएको छ।

अघिल्लो आर्थिक वर्ष २०७९/८०  ७३ करोड २० लाखको कोदो र बिउ आयात भएको थियो। यस वर्ष ४२ लाख रुपैयाँको निर्यात भएको थियो। आव २०७८/७९ मा ७८ करोड ३७ लाखको आयात भएको थियो। विभागका अनुसार नेपालमा भारत, चीन, भुटान, बेल्जियम, क्यानडा, हङकङ, दक्षिण कोरिया, बेलायतलगायतका देशबाट कोदो आयात हुने गरेको छ।

सचिव डा. मिश्र कोदोको माग बढे पनि यसको उत्पादन घटेको बताउँछन्।  मन्त्रालयले गत वर्ष प्रकाशित गरेको तथ्यांकमा कोदोजन्य बाली हुने क्षेत्रफल क्रमशः घट्दो क्रममा रहेको उल्लेख छ।

मन्त्रालयका अनुसार २०७८/७९ मा  ३ लाख ३९ हजार ४ सय ६२ टन कोदो उत्पादन भएको थियो। २०७९/८० मा ३ लाख १० हजार ८ सय ४७ टन कोदो उत्पादन भएको तथ्यांक छ। गत आर्थिक वर्ष २०८०/८१ मा कोदोखेती र उत्पादन घटेको छ। उक्त वर्षमा  ३ लाख ५ हजार ७ सय ८७ टन कोदो उत्पादन भएको छ।

सरकारले कोदो उत्पादन बढाउन तीन वर्षयता प्रदेश र स्थानीय तहबाट कोदो खेती गर्ने किसानलाई अनुदान दिन थालेको सचिव मिश्रले बताए। ‘बाहिरबाट हेर्दा कोदोखेतीलाई उपेक्षा गरेजस्तो देखियो। तीनै तहको सरकारले कोदोखेती र उत्पादन बढाउन काम गरिरहेका छन्’, उनले भने। सरकारले सहुलियत मूल्य र केही पहाडी जिल्लामा कोदोको बिउ अनुदानमा वितरण गरेको छ। जसका कारण आगामी वर्षदेखि कोदोखेती र उत्पादन दुवै बढ्ने उनी बताउँछन्। मिश्रका अनुसार नेपालमा सात लाख मेट्रिक टनभन्दा बढी कोदो  खपत हुन्छ।

कृषिविज्ञ दाहालले सांस्कृतिक र सामाजिक मान्यताका कारण पनि सरकारले कोदो उत्पादन बढाउन जोड गर्नुपर्ने बताए। कोदोखेतीलाई प्रोत्साहन गर्ने कार्यक्रम सरकारले नल्याउँदा यसको उत्पादन घटेको उनको बुझाइ छ।

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार तराईदेखि समुद्र सतहबाट ३१०० मिटरसम्मका उच्च पहाडी क्षेत्रसम्म कोदो खेती गरिन्छ। ७७ वटै जिल्लामा कोदोखेती गरिएको पाइए तापनि सबैभन्दा धेरै खोटाङ, सिन्धुपाल्चोक, बागलुङ, स्याङ्जा, कास्की, ओखलढुंगा, गोरखा र सिन्धुली जिल्लामा कोदो खेती हुन्छ। सबैभन्दा थोरै क्षेत्रफलमा यसको खेती हुने जिल्लामा क्रमशः मनाङ र मुस्ताङ रहेको केन्द्रको अध्ययनमा उल्लेख छ।

कोदोको बिउ राख्ने र रोप्ने समय हावापानी र मौसमका आधारमा स्थानअनुसार फरक हुन्छ। नेपालमा बर्खेबालीका रूपमा कोदोखेती गरिन्छ। कतिपय ठाउँमा मकैसँग मिश्रित र कतिपय ठाउँमा एकल बालीका रूपमा पनि कोदोखेती गरिँदै आएको छ। अधिकांश जिल्लामा साउनभदौमा रोपेको कोदो मंसिरपुसमा थन्काइन्छ। नेपालमा कोदोखेती बेर्ना सारेर गर्ने गरिन्छ। कोदोको बेर्ना ३० देखि ३५ दिनको भएपछि रोप्न उपयुक्त मानिन्छ।

कृषिविज्ञ दाहाल सरकारले धान, गहुँ र मकैजस्ता बालीमा मात्र केन्द्रित हुँदा कोदोखेती उपेक्षामा परेको  बताउँछन्। ‘वैदेशिक रोजगारीका कारण आमनागरिकको क्रयशक्ति बढेको छ। गाउँगाउँमा बजारिया खानेकुरा पुगेका छन्। यातायातको विकासका कारण देशको जुनसुकै कुनामा उत्पादन भएको खानेकुरा अर्को ठाउँमा पाइन्छ। त्यसैले कोदोजस्ता रैथाने खाद्यान्न ओझेलमा छन् ’, उनले भने। कृषि खाद्यान्नमा भइरहेको परिवर्तनबारे सरकार अनभिज्ञ देखिएको उनको टिप्पणी छ।

नेपालमा चिनो, कागुनो, जुनेलो, घोगे, धानकोदो, झुसे कागुनो, बाँसपाते कोदो, भीरगाउँले, कोदीलगायतका कोदो खेती हुने गरेको राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्रको अध्ययनमा उल्लेख छ। बन्सो, टुडे, सामा, कोदेझार, जंगली जुनेलो, वनघोगे, कनिके कागुनो र जंगली चिनो नेपालमा पाइने जंगली कोदो हुन्। जंगली कोदोजन्य बाली भने पशु भने आहारका लागि मात्र प्रयोग हुन्छ।

प्रकाशित: ३० साउन २०८१ ११:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast