बंगलादेश उथलपुथलपछि नेपालका युवा नेताहरूलाई प्राथमिकता दिँदै भारत

हिमाल प्रेस ३० साउन २०८१ २०:०८
122
SHARES
बंगलादेश उथलपुथलपछि नेपालका युवा नेताहरूलाई प्राथमिकता दिँदै भारत भारतीय विदेश सचिव विक्रम मिस्रीलाई नेपालमा स्वागत गर्दै परराष्ट्र सचिव सेवा लम्साल। फाइल तस्बिर

काठमाडौँ- सरकारी सेवामा ३० प्रतिशत आरक्षण दिने शेख हसिना सरकारविरूद्ध बंगलादेशमा विद्यार्थीहरूले सुरू गरेको आन्दोलन मत्थर भइसकेको थियो। आरक्षणको विरोधमा युवा विद्यार्थीहरू आन्दोलनमै रहँदै त्यहाँको सर्वोच्च अदालतले यो निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो। सर्वोच्चको आदेशपछि विद्यार्थीहरूको आन्दोलन मत्थर भएर बंगलादेशको जनजीवन बिस्तारै लयमा फर्किनै लागेको थियो।

सर्वोच्चको त्यो फैसला भएको एक सातापछि फेरि विद्यार्थी र युवाहरू आन्दोलनका लागि जुरमुराउन थाले। दोहोर्‍याएर एकजुट भएका युवा-विद्यार्थीहरू प्रधानमन्त्री हसिनाको राजीनामा माग्दै सडकमा उत्रिए। आरक्षणविरोधी आन्दोलन हसिनाको राजीनामामा परिणत भयो। राजीनामाको माग गर्दै सुरू भएको आन्दोलनको पहिलो दिन नै ५० बढी आन्दोलनकारीले ज्यान गुमाए।

आफ्नो राजीनामा माग्दै युवा विद्यार्थीहरूले सुरू गरेको आन्दोलनलाई डेढ दशकदेखि बंगलादेशको सत्ता सम्हालिरहेका हसिनाले खासै अर्थ दिइनन्। सेनादेखि प्रहरी प्रशासन आफूसँग भएको ‘दम्भ’ मा रहेकी हसिनालाई लागेको थियो– यो आन्दोलनलाई सजिलै मत्थर पार्न सकिन्छ।

उनले युवा विद्यार्थीहरूको आक्रोश र ऊर्जालाई सम्भवतः नजरअन्दाज गरेकी थिइन्। आन्दोलनरत युवा विद्यार्थीहरूको आह्वानमा लाखौंको संख्यामा बंगलादेशका नागरिकहरू ढाकाको सडकमा उत्रिएका थिए। त्यो भीड प्रधानमन्त्रीको सरकारी निवास ‘गण’ भवनतिर अगाडि बढिरहेको थियो।

स्थिति नियन्त्रणबाहिर पुगिसकेको थियो। हसिनाले भरोसा गरेको प्रहरीले हात उठाइसकेको थियो नै, सेनाले पनि साथ दिएन। यहाँसम्म कि सेनाले नै हसिनालाई ४५ मिनेटभित्र देश छोड्न निर्देशन दियो। बंगलादेशको स्थापनाको ‘लिगेसी’ बोकेकी हसिना अन्ततः देश छोड्न बाध्य भइन्।

हसिना नेतृत्वको बंगलादेशी सरकारलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘असीमित’ समर्थन थियो। यद्यपि यो समर्थनपछाडि भारतको आफ्नो निहीत स्वार्थ होला नै। बंगलादेशमा भारतले ठूलो लगानी गरेको छ। त्यसकारण बंगलादेशमा राजनीतिक उथलपुथल नहोस् भन्ने चाहना भारतको थियो र छ। प्रमुख प्रतिपक्षी दलले भाग नलिएको र न्यून मतदाता सहभागी भएको पछिल्लो निर्वाचनलाई समेत हतारमा मोदीले समर्थन गरेका थिए।

भारतीय प्रधानमन्त्री मोदीको समर्थनका बाबजुद युवा विद्यार्थीहरूको विरोध र आक्रोशका सामुन्ने हसिना धेरैबेर टिक्न सकिनन्। देश छोडेर भागिन्। र, भारतमै शरण लिइन्। हसिनाले बंगलादेश छोड्नुअघि नै उनको सुरक्षित वासका लागि चाजोपाजो मिलाइनुले पनि उनीप्रति मोदी सरकारको समर्थन प्रष्ट हुन्छ। डेढ दशकसम्म सत्ता हाँकेको अनुभवका छिमेकी मुलुकका प्रधानमन्त्री मोदीको समर्थनका बाबजुद हसिना देश छोड्न बाध्य भएपछि नयाँदिल्लीमा अनेक खालका आँकलनहरू भइरहेका छन्।

हसिनाले बंगलादेशमा यो स्थिति ल्याउनुपछाडि अमेरिकाको हात रहेको आरोप लगाएकी छन्। हसिनाले भनेजस्तै बाह्य कारण भए पनि त्यहाँका युवा पुस्ताले उनलाई वृद्ध, भ्रष्ट, परिवारवाद र आसपासेलाई मात्र हेर्ने नेताको रूपमा लिन थालेका थिए।

बंगलादेशमा राजनीतिक उथलपुथल भएको सेरोफेरोमै भारतीय नव नियुक्त विदेश सचिव विक्रम मिस्रीले नेपालको दुई दिने औपचारीक भ्रमण गरेका छन्। विदेश सचिवमा नियुक्त भएपश्चात यो उनको पहिलो नेपाल भ्रमण थियो।

नियुक्तिपछि पहिलोपटक नेपाल आएकाले मिस्रीको यो भ्रमणका क्रममा भएका भेटघाटलाई ‘शिष्टाचार’ भेटघाट भनिएको थियो। आफ्नो पहिलो नेपाल भ्रमणका क्रममा विदेश सचिव मिस्रीले राष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरूका साथै परराष्ट्र सचिव सेवा लम्साललाई भेटे नै, केही युवा पुस्ताका नेताहरूसँग पनि उनको भेटघाट भयो।

शीर्ष नेताहरूसँग भएको भेटघाटलाई सार्वजनिक गरिए पनि मिस्रीले युवा नेताहरूसँग गेरेको भेटघाटलाई उनीहरुले खासै बाहिर ल्याएनन्।  विभिन्न दलका युवा नेताहरूसँग भएको उनको भेटघाटलाई बंगलादेशको राजनीतिक घटनापछि भारतको विदेश मन्त्रालयले अब दक्षिण एसियामा युवापिँढीसँग नजिक हुने कोशिश गरिरहेको अर्थ्याइएको छ।

आइतबार त्रिभुवन विमानस्थलमा ओर्लिएपछि मिस्री दिनभर भेटघाटमा व्यस्त भए। राष्ट्रपति, प्रधानमन्त्री, माओवादी केन्द्रका अध्यक्षपछि अबेर साँझ उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेटे। त्यो भेटपछि भारतीय दूतावासले आयोजना गरेको रात्रिभोजमा उनी सामेल भए।

होटल मेरिएटमा हुने भनिएको दूतावासको रात्रिभोज एक्कासी होटल याक एन्ड यतीमा सारिएको थियो। सम्भवतः मेरिएट अमेरिकी चेन भएर होला। साँझ ७:३० बजे समकक्षी सेवा लम्साल र राप्रपाका नेता पशुपति शम्शेरबाहेक अरू सबै आमन्त्रित युवापिँढीका थिए।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आफ्नो सचिव मिस्री १७ वर्षपछि पहिलोपटक नेपाल आएको स्मरण गर्दै रात्रिभोजमा नेपाली थिन्क ट्याङ्क, नागरिक समुदाय र युवा नेताको उल्लेख्य सहभागिता रहेको बताए। याक एन्ड यतिको रात्रिभोजमा कांग्रेस महामन्त्री गगन थापा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, नेकपा एमाले बागमती प्रदेशका इन्चार्ज डा.राजन भट्टराई, पूर्वराजदूत डा.अन्जन शाक्य, माओवादी केन्द्रका उपमहासचिवद्वय वर्षमान पुन र नेता शक्ति बस्नेत, रास्वपा सांसद शिशिर खनाललगायतका युवा नेताहरूको उपस्थिति रहेको थियो।

त्यस्तै रात्रिभोजमा ‘थिंकट्याङ्क’ डा. निश्चलनाथ पाण्डे, सुजीव शाक्यलगायतका व्यक्तिहरू पनि पुगेका थिए। केही पत्रकारलाई पनि बोलाइएको थियो। रात्रिभोज चलिरहँदा विदेश सचिव मिस्रीले युवा नेताहरूसँग छुट्टाछुट्टै कुराकानी गरेका थिए। रात्रिभोजको कार्यक्रम चलिरहेकै बेला उनले विभिन्न राजनीतिक दलका युवा नेता र थिंकट्याङ्ककहरू अलग्गै छेउमा लगेर कुराकानी गरे।

युवा नेताहरू र थिंकट्याङ्कहरूसँग विदेश सचिव मिस्रीले बंगलादेशको पछिल्लो राजनीतिक उथलपुथलबारे नेपालीको दृष्टिकोण नाप्न खोजेको बुझिएको छ। बहालवाला प्रधानमन्त्री हसिनाले नै देश छोड्ने गरी बंगलादेशमा भएको राजनीतिक उथलपुथलपछि कतिपयले नेपालमा के हुन्छ भनेर प्रश्न गर्न थालेका छन्। हुनत बंगलादेशजस्तो राजनीतिक परिस्थिति नेपालमा नआउने नेताहरूको दाबी छ। जुनै रुपमा भए पनि यहाँ त्यहाँ जस्तो एकल शासन अन्त्य भएको निकै पहिले नै हो।

तर नेपालको स्थिति पनि बंगलादेशको भन्दा धेरै फरक नरहेको भन्ने तर्क गर्नहरू पनि धेरै छन्। झन्डै दुई दशकदेखि आलोपालो गरी केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहालले नै सरकारको नेतृत्व गरिरहेका छन्। यी नेताहरूले पनि कतै नकतै भारतको समर्थन पाउने गरेका छन्। भू–राजनीतिको सन्तुलन मिलाउन र नेपाली युवाहरू कतै भारतविरोधी नहोउन् भनेर भारत अब युवा नेतृत्वसँग नजिक हुन खोजेको देखिन्छ।

प्रकाशित: ३० साउन २०८१ २०:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =