जसपा नेपालले पाँच लाख नयाँ सदस्य थप्न चार महिने अभियान चलाउने

हिमाल प्रेस २८ साउन २०८१ १६:२९
46
SHARES
जसपा नेपालले पाँच लाख नयाँ सदस्य थप्न चार महिने अभियान चलाउने उपेन्द्र यादव

ललितपुर (सानोगाउँ)- जनता समाजवादी पार्टी नेपालले पाँच लाख नयाँ संगठित क्रियाशील सदस्य थप्ने लक्ष्य निर्धारण गरेर आधारभूत संगठन निर्माण अभियान सुरु गर्दैछ। आगामी भदौको पहिलो साता जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्नेगरी तयार गरिएको संगठन निर्माण अभियान मंसिरको मसान्तसम्म जारी रहनेछ।

केन्द्रीय र प्रदेश सत्ताबाट बाहिर बसेको जसपा नेपालको सिंगो पार्टी पंक्ति आगामी चार महिनासम्म विशुद्ध संगठन निर्माणमा होमिँदैछ। त्यसका लागि जसपा नेपालले आफ्ना केन्द्रीय नेतृत्वलाई एक दिवसीय प्रशिक्षण समेत दिएको छ।

ललितपुरको महालक्ष्मीस्थान ६, सानोगाउँको थसी ब्यांक्वेटमा आइतबारदेखि जारी केन्द्रीय समिति बैठक जारी छ। बैठकको दोस्रो दिन दुई सय १५ जना केन्द्रीय सदस्यहरूलाई संगठन निर्माण अभियानबारे प्रशिक्षण दिइएको छ।

केन्द्रीय सदस्यहरूलाई प्रशिक्षण दिँदै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी चार महिनासम्म संगठन निर्माण, विस्तार,शुद्धीकरण र सुद्दढीकरण अभियानमा होमिन सम्पूर्ण पार्टीपंक्तिलाई निर्देशन दिएका छन्। ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण’ नाम दिइएको सो अभियानलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन सक्रिय भएर लाग्न अध्यक्ष यादवले केन्द्रीय सदस्यहरूलाई आह्वान गरेका छन्।

यो अभियान टोल, बुथ, गाँउ, नगर, पालिका, प्रदेश, संघीय निर्वाचन वा क्षेत्रमा केन्द्रीत हुनेछ। पार्टी संगठन टोल, बुथ, वडा, गाँउ, नगर, प्रदेश, संघीय निर्वाचन क्षेत्रमा समिति गठन/पुनर्गठन, संगठन विस्तार, प्रशिक्षण, अन्तक्रिया, गोष्ठि, जनसभा, लगायत अन्य कार्यक्रमहरू गर्ने र सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण गरिने बताइएको छ।

देशव्यापी रूपमा जनपरिचालन अभियान, जसमा सदस्यता वितरण, सङ्गठन निर्माण र परिचालन, प्रशिक्षण, सेमिनार, गोष्ठी, जनसभालगायत आवश्यक कार्यक्रमहरू तय भएको जसपा नेपालले जनाएको छ।
‘यो केन्द्रीय समिति बैठकले आगामी अभियान संचालन गर्न समयावधि निर्धारण गर्ने र केन्द्रीय सदस्यहरूलाई जिल्ला, महानगर, नगरलगायत स्थानीय तहहरूको अभियन्ताको रूपमा जिम्मेवारी दिएर पठाउँछौं’ अध्यक्ष यादवले भने।

प्रकाशित: २८ साउन २०८१ १६:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast