पोखरामा उपन्यास ‘बोरा’ को चर्चा

हिमाल प्रेस २६ साउन २०८१ २०:०३
14
SHARES
पोखरामा उपन्यास ‘बोरा’ को चर्चा

पोखरा– पत्रकार एवं आख्यानकार अखण्ड भण्डारीद्वारा लिखित उपन्यास ‘बोरा’ को शनिबार परिचर्चा भएको छ।

र्‍यान्डम रिडर्स सोसाइटीको आयोजनामा शनिबार पोखरामा भएको कार्यक्रममा युवा लेखक राजिन पनेरूले कृतिको परिचर्चा गर्दै ‘नाट्यसमालोचना’ का रूपमा अवधारणापत्र प्रस्तुत गरे। पनेरूले आमाप्रति उच्च सम्मान व्यक्त गर्ने र आमालाई हेला गर्ने सबैले पढ्नैपर्ने उपन्यासका रूपमा बोराको चर्चा गरे।

‘यो ममत्वको कथा हो, मातृत्वले भरिएको आमाको आरोह–अवरोहको कथा हो,’ पनेरूले भने, ‘यो धर्तीरूपी आमाले दिने महान् क्षमा र करुणाको कथा हो।’

बोरालाई उनले आदर्शोन्मुख सामाजिक यथार्थवादी धाराको उत्तरवर्ती चरणको महत्वपूर्ण कृतिका रूपमा चिनाए। पुस्तकमा समावेश गरिएका सूक्तिमय वाक्यहरूले कृतिलाई मर्मस्पर्शी र वैचारिक दृष्टिले समेत बलियो बनाएका पनेरूको भनाइ थियो।

पद्मकन्या क्याम्पसका उपाप्राध्यापकसमेत रहेका समालोचक पनेरूले कथा संरचना, पुस्तकीय सूक्ति, बोरा संवेदना, तुलना, अतिशयोक्ति, तथ्य गडबडी, नियति, लाचार प्रवृत्ति र मानवता पात्र राखेर कृतिको परिचर्चा गरेका थिए।

उपन्यसकार भण्डारीले आफूले रिपोर्टिङका क्रममा भेटिएको यथार्थ घटनालाई आधार मानेर उपन्यास लेखेको बताए। पाठकले उठाएका प्रश्नको जवाफ दिँदै उनले उपन्यासमा आएका कतिपय पात्रको चरित्रमा नाटकीय परिवर्तन देखिएको स्वीकारे।

परिस्थितिले असल मानिसलाई खराब र खराबलाई असल बनाउन सक्ने भए पनि यथार्थविमुख हुन नसकिने उनको धारणा थियो। उनले उपन्यासप्रति पाठकले दिएको मायाले आफू उत्साहित भएको सुनाए। उनको यसअघि मलाया एक्सप्रेस (उपन्यास) र समाचारको भाषा कृति प्रकाशित छन्।

कार्यक्रममा सोम सापकोटा, बाबुराम सुवेदी, गणेश पौडेल, ईशा शाह, कृष्णमुरारी पौडेल, भरतमणि भट्टराईलगायतले टिप्पणी गरेका थिए। सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव नेपालप्रकाश अधिकारीले गरेका थिए।

सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार कुनै पुस्तक वा विषयमाथि बौद्धिक वहस सञ्चालन गर्दै आएको छ। बोराको परिचर्चा सोसाइटीको १०८ औं शृङ्खला हो।

प्रकाशित: २६ साउन २०८१ २०:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 7 =