संगीतकर्मीले सम्झिए गुरुदेव कामत

हिमाल प्रेस २६ साउन २०८१ १९:४८
28
SHARES
संगीतकर्मीले सम्झिए गुरुदेव कामत

काठमाडौँ– शास्त्रीय संगीतका दिवंगत गायक तथा संगीतकार गुरुदेव कामतलाई स्मरण गरिएको छ। शनिबार जमलस्थित नाँचघरमा गुरुदेव कामत संगीत फाउण्डेसन तथा गुरुकुल संगीत पाठशालाले संयुक्त रूपमा आयोजना गरेको श्रद्धाञ्जली एवं समवेदना कार्यक्रममा उनका गीतसंगीतसँगै नेपाली शास्त्रीय गीतसंगीतमा गायक कामतले पुर्‍याएको योगदानको चर्चा गरियो।

कलाकार मदनदास श्रेष्ठले गायक कामतसँग पहिलोपटक रेडियो नेपालमा भेटेको स्मरण गर्दै उनका गीतसंगीत सदैव अमर रहने बताए। उनले भने, ‘उहाँ निकै सरल र मिलनसार स्वभावको हुनुहुन्थ्यो। आफ्ना पीडा लुकाएर पनि बाँच्ने मान्छे। उहाँका शिष्यले नै अब संगीतमार्फत अमर बनाउनुपर्छ।’

कलाकार श्रेष्ठले गायक कामतको गीतसंगीत र सिर्जना आउँदो पुस्ताका लागि मार्गदर्शन हुने उल्लेख गरे। उनले एउटा सर्जक उपचार अभावमा ज्यान गुमाउनुपर्ने अवस्था राज्यका लागि सुहाउँदो नभएकाले आउँदा दिनमा यस्तो हुन नदिन गीतसंगीतलाई हेर्न गठित संस्थाले सतर्कता अपनाउनुपर्ने बताए।

गायक कामतसँग निकट गायक तथा कलाकार मुरलीधरले आफूले भाइ गुमाएको बताए। ‘मैले र गायक कामतले सँगै धेरै काम गरेका छौँ। नाटकदेखि गायनसम्म हामीले सहकार्य गर्‍यौँ,’ उनले भने।

उनले गायक कामतको सम्झना दुई गीत गुनगुनाए। ‘उहाँले मलाई चलचित्रमा गीत गाउन दिनु भन्नुभएको थियो। तर, ती सब निर्माता र निर्देशकले तय गर्ने भएपछि मैले त्यो अवसर दिन सकिनँ। उनको त्यो गुनासो सम्झिरहेको छु, अब उहाँको कामलाई संग्रहित गर्नुपर्ने दायित्व शिष्य र फाउण्डेसनमा आएको छ,’ मुरलीधरले भने।

संगीतकार राजु सिंहले गायक कामत संगीतको अनुसाशित साधक रहेको बताए। ‘गीतसंगीतमा साधना गर्ने एउटा अनुशासन हुन्छ। उहाँ त्यो कायम गरेर साधना गर्नुहुन्थ्यो। हामीले उहाँको सपनालाई पूरा गर्नु नै सच्चा श्रद्धाञ्जली हुनेछ। यसका लागि हामीले धेरै कार्य गर्नु छ,’ उनले भने।

उनले संगीतको बीमा हुनुपर्ने, गायक कामतको सालिक बन्नुपर्नेलगायत विषयमा चर्चा गरे। गायक कामतको शिष्य रहेकी गायिका शर्मिला बर्देवाले डायलाइसिसको समयमा अन्तिमपटक कुराकानी गरेको स्मरण गरिन्।

उनले भनिन्, ‘उहाँसँग थोरै बोल्न पाएँ, त्यही अन्तिम संवाद भयो। मैले उहाँसँग विसं २०२५ देखि २०४८ सम्म संगीत सिकेकी थिएँ। त्यही क्रममा मलाई चलचित्रमा गाउने अवसर आएको थियो। उहाँले शास्त्रीय संगीतलाई नछाडी अन्यलाई अँगाल्नु भन्नुभएको थियो। तर, विविध कारणले मैले शास्त्रीय संगीतलाई निरन्तरता दिन सकिनँ, यसमा दुःख लागेको छ।’

कार्यक्रममा फाउण्डेसनका संस्थापक अध्यक्ष प्रभातसगार सिंह प्रधानले एउटा सर्जक उपचार गर्न नसकेर काठमाडौँ छाडेर गाउँ फर्कनु पीडादायक रहेको बताए। ‘बिरामीहरु काठमाडौँ उपचार गराउन आएको सुनेको छु, तर गायक कामत गाउँ फर्किनुभयो। यहाँ उपचारमा आर्थिक संकट भएपछि गाउँमै केही होला भनेर फर्किनुभएको हो। हामीले पनि उपचारका लागि आर्थिक पहल गरिरहेका थियौँ, तर उहाँले छिट्टै छाडेर जानुभयो,’ अध्यक्ष प्रधानले भने।

त्यस अवसरमा साहित्यकार मुकुन्द पौडेलले गायक कामतको जीवनी सुनाएका थिए। यस्तै, उनका शिष्य भीम मगरसहितको समूहले गायक कामतको स्वर र संगीत रहेको ‘कुन पापीले कुन निष्ठुरीले’ गीतमार्फत श्रद्धाञ्जली दिएका थिए।

यहीसाउन १७ गते दिवंगत भएका गायक कामतको १० औँ दिनमा श्रद्धाञ्जलीसभाको आयोजना गरिएको हो।

प्रकाशित: २६ साउन २०८१ १९:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 2 =