 परराष्ट्रमन्त्री आरजु राणा , फाइल तस्बिर।
                            परराष्ट्रमन्त्री आरजु राणा , फाइल तस्बिर।
                                            काठमाडौँ- परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले पार्टीका तर्फबाट प्रधानमन्त्री बन्ने कुरामा समय किटान गर्न नहुने बताएकी छन्। शुक्रबार पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्।
राणाले भनिन्,‘प्रधानमन्त्री कति पटक बन्न पाउने भन्ने विषयमा कुनै प्रावधान पार्टीको विधानमा नै राख्नुपर्छ भन्ने मलाई लाग्दैन, यो त अनुभव, काम तथा व्यक्तिको प्रभावकारिताका आधारमा हुने हो।’
महामन्त्रीद्वयले पेश गरको प्रतिवेदन एवं जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका–२०१८ का सन्दर्भमा आफ्ना सुझाव राख्दै उनले कतिपटक प्रधानमन्त्री हुने कुरा विधानमै तोक्न जरूरी नभएको बताएकी हुन्।
मन्त्री राणाले प्रत्यक्ष निर्वाचनमै ३३ प्रतिशत महिला उम्मेदवारी अनिवार्य गर्नेगरी पार्टीले नीति बनाउनुपर्ने उल्लेख गरिन्।
कांग्रेसले राज्यका निकायमा ३३ प्रतिशत महिला सहभागिताको नीति लिएको भए पनि प्रत्यक्ष निर्वाचनमा नै यसको सुनिश्चितता गर्नुपर्ने उनको भनाइ थियो।
केन्द्रीय सदस्य राणाले भनिन्,‘समावेशिताका विषयमा मैले पहिल्यैदेखि प्रत्यक्ष निर्वाचनमै महिलालाई ३३ र दलित समुदायका लागि १० प्रतिशत उम्मेदवारीको सुनिश्चितता हुनेगरी नीति बनाउँ भनेर भन्दै आएको छु, यो मेरो सुझाव हो।’
उनले पार्टीका प्रत्येक प्रशिक्षण कार्यक्रममा लैङ्गिक र समावेशितासम्बन्धी छुट्टै सत्र समावेश गरी यसको पाठ्यक्रममा नै यी विषय समेट्नुपर्ने धारणा राखिन्।
राणाले पार्टीको सबै विभागले अलग्गै वेबसाइट बनाएर त्यसमा ती विभागका कामहरूको प्रतिवेदन अद्यावधिक गरेर राख्नुपर्ने बताइन्। उनले कामको प्रभावकारिता र प्रतिबद्धताका आधारमा भातृ संस्था या शुभेच्छुक संस्थामा सदस्य तथा पदाधिकारी नियुक्त गरिनुपर्ने र थप जिम्मेवारी दिनुपर्ने उल्लेख गरिन्।
त्यस्तै सम्पूर्ण भातृ संगठनको आ–आफ्नै बैंक खाता खोली ती सबै खाताको अनुगमन पार्टीको केन्द्रले गर्ने र बर्सेनी लेखापरीक्षणको व्यवस्था हुनुपर्ने उनको सुझाव थियो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 