कोशीमा कांग्रेसभित्रै मिलेन भागबन्डा, सरकार विस्तारमा ढिलाइ

विवेक विवश रेग्मी २४ साउन २०८१ १८:५७
68
SHARES
कोशीमा कांग्रेसभित्रै मिलेन भागबन्डा, सरकार विस्तारमा ढिलाइ

इटहरी- कोशी प्रदेशमा हालसम्म नेपाली कांग्रेसले मन्त्री पठाउन सकेको छैन। एमाले नेतृत्वको सरकारमा चार मन्त्रालयको भागबन्डा पाएको कांग्रेसले आन्तरिक समस्या मिलाउन नसक्दा मन्त्री पठाउन नसकेको हो।

हालसम्म मन्त्री कसलाई पठाउने? कुन आधारमा मन्त्रीको जिम्मेवारी दिने? भन्नेसमेत औपचारिक छलफल नभएको कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङ बताउँछन्।

‘हालसम्म केन्द्रीय कमिटीसँग एकैपटक पनि औपचारिक छलफल भएको छैन,’ उनले भने, ‘केन्द्रीय कमिटीको बैठक चलिरहेका कारण र यही बैठकपछि मन्त्रीको नामा टुंगिनेछ भन्ने विश्वास छ।’

प्रदेश कमिटीले मन्त्री छनोट गर्न केन्द्रलाई नै जिम्मा दिइसकेका कारण केन्द्रबाट औपचारिक निर्णय नआइकन केही नहुने उनले बताए। खासगरी प्रदेश सरकारमा पनि केन्द्रले नै हस्तक्षेप गर्दा समस्या हुँदै आएको छ। त्यसो त कांग्रेस कोशीमा केहीबाहेक सबै मन्त्रीका आकांक्षी भएका कारण पनि प्रदेश कमिटीले मन्त्री छनोट गर्न नसकेको बताइन्छ।

‘सबै मन्त्रीको नाम केन्द्रले नै पठाउने हो। तर हालसम्म छलफलै सुरु भएको छैन,’ प्रमुख सचेतक तामाङ भन्छन्, ‘तर हालसम्म केन्द्रले हामीसँग मन्त्रीको नामबारे एकैपटक पनि औपचारिक छलफल गरेको छैन।’

उनले अब यो साताभित्र कांग्रेस सरकारमा सहभागी हुने विश्वास व्यक्त गरे।  ‘हालसम्म छलफल नभए पनि अब एक/दुई दिनभित्रै सबैको नाम टुंगिन सक्छ,’ उनले भने।

कोशीमा एमाले संसदीय दलका नेतासमेत रहेका हिक्मतकुमार कार्की मुख्यमन्त्री छन्। उनी नेतृत्वको सरकारमा अहिले भौतिक पूर्वाधार विकास मन्त्रालय, पर्यटन, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय र सामाजिक विकास तथा कृषिमध्ये एक मन्त्रालय गरी चार मन्त्रालय कांग्रेसले लिने गरी सहमति भएको छ। तर अहिले ती मन्त्रालय भने मन्त्रीविहीन छन्। नौ मन्त्रालयमध्ये ती मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री कार्कीले नै सम्हालिरहेका छन्।

खासगरी कांग्रेसमा आन्तरिक गुटका कारण मन्त्रीको जिम्मेवारी दिन कठिन भएको बताइन्छ। कांग्रेसमा सभापति शेरबहादुर देउवाबाट अमृत अर्याल, हिमाल कार्की, प्रदीप सुनुवारलगायत मन्त्री बन्ने सम्भावना बलियो छ। यसै गरी कृष्णप्रसाद सिटौला समूहबाट भीम पराजुली र भूपेन्द्र राईको सम्भावना बलियो छ। यता, डा. शेखर कोइराला समूहबाट भने गोविन्द गिरी, मानबहादुर लिम्बू र रामकुमार खत्रीको सम्भावना बलियो रहेको कांग्रेस वृत्तमा चर्चा छ।

तर यसअघि मन्त्री बनेकाहरूलाई पुनः दोहोर्‍याउन नहुने पनि कुरा उठेका कारण यसै भन्न सक्ने अवस्था नरहेको बताइन्छ। कांग्रेसले पाउने चार मन्त्रालयमध्ये देउवा समूहलाई दुई, सिटौला र कोइराला समूहलाई एक-एक मन्त्रालयको जिम्मेवारी दिइने कांग्रेस नेताहरू बताउँछन्।

‘मन्त्री को बन्ने र कसको नेतृत्वमा सरकारमा सहभागी हुने टुंगो नलागेकाले हालसम्म सरकारमा सहभागी हुन नसकिएको हो,’ कांग्रेसका एक सांसद भन्छन्, ‘सबैले आ-आफ्नै दाबी गर्दा पनि समस्या भएको हो। खासमा आन्तरिक समस्या मिलाउन नसक्नु र सबैलाई मन्त्री हुने रहर पूरा गर्न नसक्दा हालसम्म मन्त्री छनोट नभएको हो।’

कांग्रेसबाट अहिले अमृत अर्याल, प्रदीप सुनुवार, हिमाल कार्की, भीम पराजुली, भूपेन्द्र राईले आफ्नो नेतृत्वमा सरकारमा सहभागी हुने दाबी गरिरहेको ती नेताको भनाइ छ।

संविधानको धारा १६८ (५) लाई दोस्रो पटक प्रयोग गर्दै कोशी प्रदेश सभाबाट तेस्रोपटक वैशाख २७ गते मुख्यमन्त्री बनेका हिक्मत कार्कीले केन्द्रको समीकरण अनुसार नै कोशीमा सरकार पुनर्गठन हुने भए पनि कांग्रेसले हालसम्म मन्त्री नपठाएकाले मन्त्रिपरिषद्ले पूर्णता नपाएको बताए।

उनका अनुसार कोशी प्रदेशमा हाल भौतिक पूर्वाधार विकास, स्वास्थ्य र पर्यटन वन तथा वातावरण मन्त्रालय र उद्योग, कृषि तथा सहकारी मन्त्रालय मन्त्रीविहीन छन्। प्रदेश सरकारको दोस्रो कार्यकालमा पहिलो मुख्यमन्त्री बनेका उनै कार्कीले १३ मन्त्रालयबाट घटाएर ९ मन्त्रालय बनाएका थिए। जसमध्ये हाल नयाँ समीकरणअुनसार मुख्यमन्त्री र चार मन्त्रालय एमालेको भागमा छ। बाँकी चार मन्त्रालय भने कांग्रेसको भागमा परे पनि कांग्रेसभित्रको विवाद नमिलेकाले ती मन्त्रालय मन्त्रीविहीन छन्।

एमालेले हाल मुख्यमन्त्रीसहित आर्थिक मामिला तथा योजना, आन्तरिक मामिला तथा कानुन, सामाजिक विकास र खानेपानी, ऊर्जा तथा सिचाइँ मन्त्रालयको जिम्मेवारी पाएको छ। ती मन्त्रालयमा क्रमशः रामबहादुर मगर, लिलाबल्लभ अधिकारी, पाँचकर्ण राई र एकराज कार्कीलाई मन्त्री छन्। एमालेबाटै सिर्जना राई राज्यमन्त्री नियुक्त भएकी छन्। उनलाई तत्काल कुन मन्त्रालयको राज्यमन्त्री भनेर नतोकिए पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।

९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। कोशीमा एमालेका ४० (उपसभामुखसहित), कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६ (सभामुखसहित), नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन्।

कोशीमा १८ महिनाको अवधिमा छैटौँपटक सरकार परिवर्तन भएको छ।

प्रकाशित: २४ साउन २०८१ १८:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + six =