कमला पुल निर्माणको माग गर्दै इन्जिनियरहरू आन्दोलित

हिमाल प्रेस २३ साउन २०८१ १५:३८
4
SHARES
कमला पुल निर्माणको माग गर्दै इन्जिनियरहरू आन्दोलित सञ्चालनअगावै भासिएकाे कमला पुल

सिरहा– हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला पुल पुनःनिर्माणमा दबाब दिन सिरहाका इन्जिनियरहरुले आन्दोलन घोषणा गरेका छन्। सिरहाका इन्जिनियरहरुको अगुवाइमा गठित सङ्घर्ष समितिले आन्दोलनको घोषणा गरेको हो।

संघर्ष समितिका संयोजक प्रवीणकुमार यादवका अनुसार मङ्गलबार सरोकारवाला पक्ष तथा बुद्धिजीवीहरुबीच छलफल भएको थियो। छलफलबाट दबाब सिर्जनास्वरुप आन्दोलनको कार्यक्रम तय भएको हो।

जसअन्तर्गत बिहीबार सिरहाको महावीर चोकदेखि थाना चोकसम्म दबाब जुलुस गर्ने कार्यक्रम छ। आगामी आइतबार सिरहाको बसबिट्टा चोकदेखि मुख्यमन्त्री कार्यालय जनकपुरसम्म मोटरसाइकल जुलुसयात्रा गर्ने सङ्घर्ष समितिले जनाएको छ। पुल पुनःनिर्माण अघि नबढाएसम्म आन्दोलनका थप कार्यक्रम घोषणा गरिने समितिका संयोजक यादवले बताए।

मधेशको दीर्घकालीन महत्व बोकेको कमला पुल निर्माण नहुँदा सिरहा र सप्तरीका सर्वसाधारण प्रदेशको राजधानी जनकपुरधाम आउनजान सास्ती भोग्दै आएका छन्। बाढी आएको समयमा तीन गुणा बढी दुरी पार गरेर मात्र जनकपुर आउजाउ गर्नुपर्ने बाध्यता छ।

प्रदेश तथा संघीय सरकारका विभिन्न मन्त्रीलाई यस विषयमा ध्यानाकर्षण गराउँदा पनि समयमा पुल बन्न नसकेको स्थानीयको गुनासो छ। करिब १३ वर्षअघि निर्माण सम्पन्न भई उद्घाटनको तयारी गरिएको बेला कमला नदीमा आएको बाढीले पुल भासिएको थियो। उक्त पुल अझै पुनः निर्माण हुन नसकेको हो।

केही दिनअघि मात्रै मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पुल निर्माणका लागि आवश्यक सहयोग गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आग्रह गरेका थिए। मुख्यमन्त्री सिंहले मधेशको ‘लाइफलाइन’ मानिएको हुलाकी राजमार्गअन्तर्गतको कमला पुललगायत प्रदेशको विकासमा दीर्घकालीन र सकारात्मक योगदान पुग्ने योजना प्रधानमन्त्री ओलीसमक्ष प्रस्तुत गरेका थिए।

प्रकाशित: २३ साउन २०८१ १५:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + one =