सुदूरपश्चिम प्रदेशसभामा राजस्व संकलनसम्बन्धी अध्यादेश पेश

हिमाल प्रेस २७ साउन २०८१ १९:३३ | Sunday, August 11, 2024
सुदूरपश्चिम प्रदेशसभामा राजस्व संकलनसम्बन्धी अध्यादेश पेश

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठकमा ‘सुदूरपश्चिम प्रदेश सामयिक राजश्व संकलनसम्बन्धी अध्यादेश,२०८१’ पेस गरिएको छ। आइतबार प्रारम्भ भएको प्रदेशसभाको पाँचौ अधिवेशनको पहिलो दिनको बैठकमा प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले अध्यादेश पेश गरेका हुन्।

मन्त्री थापाले बजेट पारित नभएको, राजश्व सङ्कलन गर्न कानुनी व्यवस्था नभएकोे अवस्थामा राजश्व संकलनका लागि नेपालको संविधानको धारा २०३ बमोजिम अध्यादेश जारी गरिएको बताए। अध्यादेश जारी गरिएसँगै कर, दस्तुर, सेवा शुल्क, महशुल, दण्ड जरिवाना, रोयल्टी, ब्याज संकलनका लागि बाटो खुलेको छ।

बैठकको प्रारम्भमा सभामुखबाट समय लिएर प्रदेशसभा सदस्य जुनाकुमारी दानीले वर्षासँगै बाजुराको हिमाली गाउँपालिका—३ को गोरुखर्कमा साउन २६ गते गएको पहिरोमा परी भएको धनजनको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराइन्।

उनले पहिरोमा परी प्रेमकला बुढा, हङ्स बुढा, ललिता बुढा र अनौति रोकाया घाइते भएको, ४१ पशु चौपाया मरेको र पहिरोका कारण ३० परिवार समस्यामा परेको उल्लेख गर्दै घाइतेको उपचारको व्यवस्था गरी प्रभावितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन ध्यानाकर्षण गराइन्। उनले वर्षासँगैको पहिरोका कारण अवरुद्ध बनेको साँफे–मार्तडी सडक र मार्तडी–कोल्टी सडकमा आवागमन चाँडो सञ्चालनको माग गरीन्।

बैठकमा सभामुख भीमबहादुर भण्डारीले सुदूरपश्चिम प्रदेशसभा नियमावली बमोजिम विधायन तथा प्रदेश मामिला समिति सदस्यमा रमेशसिंह धामी र लक्ष्मी बिक, सार्वजनिक लेखा समिति सदस्यमा दीर्घबहादुर सोडारी, गीतादेवी माल, र अक्कलबहादुर रावल, सामाजिक विकास समिति सदस्यमा माया पन्त, ओम विक्रम भाट र झपटबहादुर साउँदलाई मनोनयन गरिएको जानकारी गराए।

बैठकको प्रारम्भमा सभामुख भण्डारीले पाँचौँ अधिवेशन आह्वानसम्बन्धी गरिएको प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा वाचन गरे।

प्रकाशित: २७ साउन २०८१ १९:३३ | Sunday, August 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast