 
                             
                                            पोखरा- पाँच वर्षको उमेरदेखि बुबा धनबहादुर गन्धर्वको पछि लागेर सारंगी रेट्दै हिँडेको सम्झना रामबहादुरका स्मृतिमा अझै ताजै छन्। पोखरा महानगरपालिका–३२ छुचीका रामबहादुर उमेरले ६० वर्ष पुगे।
उनले पुर्ख्याैली पेसालाई निरन्तरता दिइरहेका छन्। गन्धर्व समुदायमा सारंगी बजाउने पेसा विस्तारै लोप हुन थालेको बेला उनले निरन्तरता दिइरहेका हुन्। पितापूर्खाले गाउँगाउँ डुल्दै गीत गाएरै जीविकोपार्जन गरेको परम्परा लोप हुने अवस्थामा पुगेको उनले बताए।
‘सारंगी गन्धर्व जातिको प्राचीन संस्कार र संस्कृति अधिकांश स्थानमा हराईसकेको छ’, उनले भने, ‘पछिल्लो पुुस्तामा यस पेसाप्रतिको आकर्षण छैन।’ परापूर्व कालदेखि समाजमा भए गरेका घटनालाई गीतको माध्यबाट मानिसको मन छुनेगरी र्याइँर्याइँ सारंगी रेट्दै सूचना दिन घरघरमा डुल्ने गन्धर्व जातिको यो संस्कृति मौलिक लोक संस्कृति हो।
पुर्ख्याैली पेसाका रुपमा वर्षैदेखि अँगाल्दै आएको यो पेसा संरक्षणको अभावमा अहिले लोप हुने अवस्थामा पुगेको हो। पहिलेपहिले गाउँमा अहिले जस्तो सडक तथा यातायातको सुविधा थिएन। गन्धर्वहरू सारंगी रेट्दै गीत गाएर गाउँलेले दिएको नुन, चामल, दाल, तरकारीले जीविकोपार्जन गर्दथे।
यो संस्कृति तत्कालीन समयमा सामाजिक संस्कृतिको रुपमा थियो। बाउबाजे कास्कीकै बडहरेबाट छुचीमा बसाइँ सरेर आएको बताउँदै रामबहादुरले आफ्ना बुबाहरू लाले, काले र गोरे सबैले आफ्नो जीवनपर्यन्त यही पेसालाई अँगालेको स्मरण गरे। गाइने पेसाबाटै तीन छोरी, एक छोराको पालपोषण र शिक्षादीक्षा दिने काम गरे। आफूलाई अझै यस पेसाप्रति गौरव लाग्ने उनी बताउँछन्।
सारंगीलाई गन्धर्व समुदायको सौभाग्यका रुपमा लिने गरेको उल्लेख गर्दै उनले भने,‘गन्धर्व समूदायमा बुढापाकाले आफ्ना सन्ततिलाई गन्धर्व पेसा छोडे पनि घरको मूल धुरी खाँबोमा सारंगी राख्न भने नछोड्नु है भन्दै आएका छन्।’
जीवनको सर्वस्व नै सारंगी भएको बताउँदै उनले आफूले बालबच्चा र परिवार पाल्ने गैरी खेतका रुपमा लिने गरेको बताए। ‘यो पेसा भगवानको समयदेखि अस्तित्वमा आएको पेसा हो’, उनले भने,‘त्यस समयमा गन्धर्वहरूले गाउने,अप्सरा नाच्ने र देवतालाई मनोरञ्जन प्रदान गर्ने संस्कृति हाम्रा धर्मग्रन्थमा पाइन्छ।’
बाँकी जीवन यही पेसामा समर्पित गर्ने उनको रहर छ। नयाँ पुस्ता भने यसतर्फ आकर्षित नहुँदा पेसा लोप हुने हो कि भन्ने चिन्ताले उनलाई पिरोलिरहन्छ। रासस

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 