सरकार र निजी क्षेत्रको परस्पर सहयोगमा ऊर्जा क्षेत्रको विकास जरुरी : ऊर्जामन्त्री खड्का

हिमाल प्रेस १ भदौ २०८१ ९:४३ | Saturday, August 17, 2024
सरकार र निजी क्षेत्रको परस्पर सहयोगमा ऊर्जा क्षेत्रको विकास जरुरी : ऊर्जामन्त्री खड्का फाइल तस्बिर।

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार र निजी क्षेत्रको परस्पर सहयोगमा मुलुकमा ऊर्जा क्षेत्रको विकास गर्न जरुरी रहेको बताएका छन्।

नेपाल विद्युत् प्राधिकरणको ३९औँ वार्षिकोत्सवका अवसरमा आज शुभकामना दिँदै मन्त्री खड्काले मुलुकभर रहेको जलस्रोतको अधिकतम उपयोग गरी सरकारी र निजी क्षेत्रको परस्पर सहयोग तथा समन्वयबाट ऊर्जा क्षेत्रको विकास गरी मुलुकलाई समृद्ध बनाउनु जरुरी रहेको बताए।

उनले नेपालको कूल विद्युत् उत्पादन क्षमता तीन हजार २०० मेगावाट पुगेको र गत आर्थिक वर्षमा मात्र करिब चार सय ६३ मेगावाट राष्ट्रिय ग्रिडमा थपिएको जानकारी दिए। मन्त्री खड्काले सन् २०३५ सम्ममा २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा गर्नेतर्फ सम्बद्ध निकायले थप प्रभावकारी रुपमा काम गर्न जरुरी देखिएको बताए।

मन्त्री खड्काले सरकारले राखेको लक्ष्य पूरा गर्नसकेमा मुलुकमा पर्याप्त ऊर्जा खपत बढाउन सकिने, औधोगिकीकरणको विकास भई पर्याप्त रोजगारी सिर्जना हुने र आन्तरिक ऊर्जाको निर्यातबाट पर्याप्तमात्रामा वैदेशिक मुद्रा आर्जन गर्ने अवसर प्राप्त हुने बताए।

“प्राधिकरणले पछिल्लो समयमा विद्युत् उत्पादन, प्रसारण तथा वितरणका क्षेत्रमा राम्रो प्रगति हासिल गर्दै आए पनि आम उपभोक्तालाई नियमित र गुणस्तरीय विद्युत् सेवा प्रदान गर्न एवं जनतालाई विनाझन्झट छिटोछरितो रुपमा सेवा दिनेतर्फ प्राधिकरणले जिम्मेवार भई काम गर्नुपर्ने देखिएको छ”, मन्त्री खड्काले भने।

उनले मुलकभित्र औद्योगिक करिडोर निर्माणगरी यस क्षेत्रका उद्योगी, व्यवसायीले मागेजतिको क्षमतामा विद्युत् शक्ति दिन, दुरदराजका सबै घरमा २०८२ साल भित्र विद्युत् सेवा पु¥याउन, स्वदेशमा खपत हुन नसकेको अतिरिक्त ऊर्जालाई छिमेकी मुलुकमा निर्यात गर्न आवश्यक पूर्वाधार निर्माणका साथै अधिकतम ऊर्जा खपत तथा व्यापार अनुकूल हुनेगरी नीतिगत, संरचनागत र कानुनी व्यवस्था मिलाउन मन्त्रालयको आवश्यक सहयोग र समन्वय हुने विश्वास व्यक्त गरे।

प्रकाशित: १ भदौ २०८१ ९:४३ | Saturday, August 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast