काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले संस्कृति, पर्यटन र उड्डयनको चक्र निर्माण गरी अन्तरदेशीय पूर्वाधार निर्माण र आवागमनको सुदृढीकरण गर्नुपर्ने बताएका छन्।उनले धार्मिक पर्यटनको प्रवर्द्धनका साथै विश्वभरका आगन्तुकलाई नेपालका धार्मिक स्थलको पवित्रताको सहज अनुभूति गराउने वातावरण निर्माणका लागि सहकार्य गर्न आह्वान गरेका छन्।
भारतको गुजरतामा आयोजित आठौं धर्म–धम्ब सम्मेलनलाई शुक्रबारसाँझ सम्बोधन गर्दै उनले नेपालका पशुपतिनाथ, हलेसी र मुक्तिनाथ तथा भारतको काशीस्थित शान्तिस्तुपा दुई देशबीचका साझा सम्पदाहरु रहेको उल्लेख गर्दै नेपालमा यस सम्मेलनको भावना प्रतिविम्बित हुने खालको आध्यामिक अनुभूति गर्न सकिने उल्लेख गर्दै सम्मेलनका सहभागीहरुलाई नेपाल भ्रमणमा आउन निम्तो दिएका हुन्।
भूटान र श्रीलंका लगायतका देशका मन्त्री र अन्य देशका धार्मिक विचारकको ठूलो संख्यामा सहभागिता रेहेको सो सम्मेलनमा मन्त्री पाण्डेले एकता र विविधता नै हाम्रो परम्पराको आधारभूत मान्यता भएको बताउँदै शान्ति र करुणको प्रतिकको रूपमा नेपालमा धर्म र धम्बका सिद्धान्तहरु सदियौंदेखि व्यबहारमा रहेको कुरामा जोड दिए।
सम्बोधनका क्रममा उनले भने, ‘हाम्रा मनमोहक हिमाल, पवित्र तीर्थस्थलहरु तथा सांस्कृतिक सम्पदाहरुले ब्रम्हाण्डीय शक्ति र दैवीय उपस्थितिको झल्को दिई रहेका छन् तसर्थ नेपाल प्रकृति र दैवीय शक्तिको जीवित उदाहरण हो।’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको हैसियतमा हाम्रा आध्यात्मिक सम्पदाहरुको संरक्षण प्रवद्र्धन गर्ने निर्णय गरेको छु भन्दै उनले भने, ‘म हाम्रो संस्कृति, पर्यटन र उड्डयनको चक्र निर्माणका लागि अन्तर देशीय पूर्वाधार निर्माण र आवागमनको सुदृढीकरण, धार्मिक पर्यटनको प्रवद्धनका साथै विश्वभरका आगन्तुकहरुलाई हाम्रा धार्मिक स्थलहरुको पवित्रताको सहज अनुभूति गराउने वातावरणको निर्माणका लागि सहकार्य गर्न आव्हान गर्दछु । सायद यहिनै धर्म–धम्ब परम्पारको वास्तविक अर्थ प्रतिको योगदान हुने छ।’



