राजधानीमा सुविधासम्पन्न स्नायु रोग केन्द्र बनाउने स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता

हिमाल प्रेस २७ साउन २०८१ २०:०१ | Sunday, August 11, 2024
राजधानीमा सुविधासम्पन्न स्नायु रोग केन्द्र बनाउने स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता फाइल तस्बिर

काठमाडौँ– स्वास्थ्य तथा जनंख्यामन्त्री प्रदीप पौडेलले राजधानीमा सुविधासम्पन्न स्नायु रोग उपचार केन्द्र स्थापना गर्ने प्रतिबद्धता जनाएका छन्।

आइतबार मन्त्रालयमा स्वास्थ्य क्षेत्र सुधारका प्राथमिकता र कार्ययोजना सार्वजनिक गर्दै उनले यथाशीघ्र केन्द्र स्थापनाका लागि पहल गरिने बताए। मन्त्री पौडेलले वाग्मती बाहेकका अन्य ६ प्रदेशमा सहिद गंगालाल हृदय केन्द्रको समन्वयमा मुटु रोग उपचारको सेवा विस्तार, सातै प्रदेशमा क्यान्सर रोग उपचार सेवा विस्तार गरिने पनि बताए।

उनले वैदेशिक रोजगारीमा जाने र गएका नेपाली नागरिकको मृत्युदर घटाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगको सहकार्यमा वैदेशिक रोजगारीमा जाने नागरिकको स्वास्थ्य परीक्षणलाई प्रभावकारी बनाइने योजना रहेको बताए।

मन्त्री पौडेलले बीमा सेवा सुधार गर्नका लागि आवश्यक रणनीतिले ल्याइने जानकारी दिए। उनले स्वास्थ्य बीमाको हालको दायरा कम्तीमा पाँच लाख बनाउने गरी फराकिलो बनाउने, सेवालाई गुणस्तरीय र सेवा प्रवाह प्रक्रिया सहज बनाउन, आबद्धतालाई द्रुत गतिमा बढाउन र स्वास्थ्य बीमाको नीतिगत र कानूनी व्यवस्थामा आवश्यक पुनरावलोकन गरिने बताए।

उनले नसर्ने रोगको भार बढेको उल्लेख गर्दै मन्त्रालयमा नसर्ने रोग र मानसिक स्वास्थ्य हेर्ने छुट्टै इकाइ स्थापना गरिने बताए। पौडेलले आयुर्वेद र वैकल्पिक चिकित्सा, उपचारात्मक सेवा विस्तार र विकास, औषधि, गुणस्तर र नियमन, पोषण, स्वास्थ्य जनशक्तिको व्यवस्थापनका लागि एकीकृत स्वास्थ्य सेवा ऐनको तर्जुमा गरिनेलगायतका विषयमा आफ्ना कार्ययोजनाहरु प्रस्तुत गरेका थिए।

प्रकाशित: २७ साउन २०८१ २०:०१ | Sunday, August 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast