मन्त्रीहरूलाई गगनले भने : एक महिना नबोल्ने ब्रत लिनुस्

हिमाल प्रेस २९ साउन २०८१ १५:१३ | Tuesday, August 13, 2024
मन्त्रीहरूलाई गगनले भने : एक महिना नबोल्ने ब्रत लिनुस्

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मन्त्रीहरुलाई एक महिना नबोल्न सल्लाह दिएका छन्। मंगलबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै थापाले काम गर्ने ठाउँमा गएर ‘यसो गर्छु र उसो गर्छु’ भन्नुभन्दा गरेर देखाउनु उपयुक्त हुने बताएका छन्।

उनले भने, ‘नियत राख्नुभयो। इच्छाशक्ति भयो काम हुन्छ। साउन महिना, ब्रतको महिना सकियो। अब तपाईंले ब्रत लिइदिनुहोस्। भदौ १ महिना उद्घाटन नगर्ने ब्रत । नबोल्ने ब्रत। गर्ने ठाउँमा भएकोले गर्ने हो, बोल्ने होइन। बोल्ने ठाउँमा हामी छौं।’

हरेक मन्त्रीले भाषणमा यस्तो गर्छु र उस्तो गर्छु भन्ने सुनेको बताउँदै भन्ने भन्दा गर्नमा जोड दिन भनेका हुन्। उनले थपे, ‘मन्त्रीज्यूको भाषण सुनिन्छ- हामी देश विकास गर्छौं । गर्नुहोस् न। राम्रोसँग काम गरिदिनुहोस्। तपाईंको कामबारे हामी यहाँ बोल्छौं । टेबल ठटाउँछौं।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि ‘भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ’ भन्ने कुरा नबोल्न भनेका छन्। उनले सल्लाह दिए, ‘प्रधानमन्त्रीज्यूले भ्रष्टाचार गर्ने पनि होइन, गर्न पनि दिन्नँ भन्दै हिँड्ने होइन। किनकि प्रधानमन्त्रीले भ्रष्टाचार गर्न नै पाइँदैन। बरु त्यसलाई रोक्न काम होस्।’

उनले सत्ता पक्ष भएपनि आफ्नै विवेक भएका सांसद् भएकाले हरकुरामा ताली नबजाउनेतर्फ सचेत गराएका छन्। ‘हामी विवेक भएका सांसद् छौं। जनताको म्यान्डेट लिएर आएका छौं। हरेक काममा तालिम बजाउँदैनौं। राम्रो गर्नुहोस् भन्ने शुभकांक्षा छ,’ उनले भने।

प्रकाशित: २९ साउन २०८१ १५:१३ | Tuesday, August 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast