पूर्वबाट बढ्दैछ पर्यटक आउने दर

हिमाल प्रेस ३१ साउन २०८१ १३:२० | Thursday, August 15, 2024
पूर्वबाट बढ्दैछ पर्यटक आउने दर फाइल

झापा- पूर्वी नाका काँकडभिट्टाबाट तेस्रो मुलुकका लागि आवागमन खुल्ला गरेसँगै पर्यटक आउने क्रम बढेको छ। अध्यागमन कार्यालयका अनुसार तेस्रो मुलुकका लागि नाका खुलेको १५ दिनभित्रमा यो नाका भएर दुई सय २५ पर्यटकको आवागमन भएको छ।

सोही अवधिमा एक सय २३ जना विभिन्न मुलुकबाट स्थलमार्ग हुँदै प्रवेश गरेको देखिन्छ भने एक सय दुई जना बर्हिगमन भएका छन्। कार्यालयका प्रमुख मोहन पनेरुले बङ्गलादेशमा भएको आन्दोलनको असरका कारण पर्यटक सोचे जति आउन नसकेको बताए। उनले नाका खुलेसँगै पर्यटक आगमन अब बढ्ने बताए। ‘धेरै यो नाकाबाट आउने पर्यटक बंगलादेशी हुन्छन्’, उनले भने, ‘आन्दोलनका कारण उहाँहरूलाई नेपाल प्रवेशमा नाकामा कडाइ गरिएको छ, त्यहाँ सहज वातावरण भएसँगै यता सहज भइहाल्छ।’

कोरोना महामारी समाप्तिपछि मुलुकका अरु सबै नाकाबाट पर्यटक आवागमन खुला गरिए पनि पूर्वी नाका भारतीय पक्षबाट अवरुद्ध रहँदै आएको थियो। यही कारण पूर्वी नाकाबाट तेस्रो मुलुकका पर्यटक चार वर्षयता आगमन ठप्प भएको थियो। यही साउन १७ गते भारतीय अध्यागमन कार्यालयबाट सरकारको पहलमा पर्यटकका लागि नाका खुला गरिएको थियो।

यो अवधिमा भूटानी, अमेरिका, स्वीजरल्याण्ड, बङ्गलादेश, मलेसिया, रोमानिन्या, साउथ कोरिया, सिङ्गापुरलगायत विभिन्न देशका पर्यटकको आगमन भएको उनले बताए।

प्रकाशित: ३१ साउन २०८१ १३:२० | Thursday, August 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast