प्रधानमन्त्री केपी शर्मा ओली सडक विभागले आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन गरेका कामहरुको विषयमा आइतबार ललितपुरमा आयोजना गरेको प्रगति समीक्षा गोष्ठीको समापनमा निर्देशन मन्तव्य राख्दै। तस्बिर : रासस
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई पानीजहाज र रेल यातायातको युगमा रुपान्तरित गर्ने विषयलाई प्राथमिकता दिन निर्देशन दिएका छन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीको समापनपत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतीय सिमाना हनुमानगरदेखि त्रिवेणी र देवघाटसम्म पानीजहाज सञ्चालनको योजना बनाउन निर्देशन दिएका हुन्।
नेपालमा २०२७ सालमै पानीजहाजको कानुन बने पनि हालसम्म सेवा सञ्चालन नहुनु विडम्बना भएको उल्लेख गर्दै उनले छिट्टै जल यातायात सञ्चालन हुने गरी काम गर्न आग्रह गरे। पानीजहाजबाट सीमा पारदेखि सामान ल्याउन–लैजान सुलभ र छिटो हुने तथा यात्रुहरु पनि त्यसबाट ओहोरदोहोर गर्न सक्ने प्रधानमन्त्रीको भनाइ थियो।
‘पानीजहाजको तयारीसँगै हनुमानगरमा एउटा बन्दरगाह बनाऔँ, भिसा सेन्टर खेलौँ। ठूला भन्सार पनि खोलौँ। सबै काम त्यहीँबाट हुन्छ। यसबाट ढुवानी क्षेत्रमा फड्को मार्न सकिन्छ’, भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, सचिव केशवकुमार शर्मासहित सहभागी कर्मचारी/इन्जिनियरलाई सम्झाउँदै प्रधानमन्त्री ओलीले भने, ‘पानीजहाजसँगै अब हामी रेल यातायातमा जानुुपर्छ हाल सञ्चालित कुर्था-जनकपुुर रेलमार्गमा दुई वटा रेल थप्नुुपर्छ। त्यहाँको मार्गलाई बर्दिवाससम्म ल्याउनुपर्छ। पूर्व–पश्चिम रेलमार्ग विस्तार गर्नुपर्छ। काठमाडौँमा जमिनमुनि रेल चल्न सम्भव छैन भने स्काई रेल चलाउनुपर्छ।’



