अबको एसईईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी काम सुरु गरेका छौँ : प्रधानमन्त्री ओली

हिमाल प्रेस १४ भदौ २०८१ १६:०५ | Friday, August 30, 2024
अबको एसईईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी काम सुरु गरेका छौँ : प्रधानमन्त्री ओली

काभ्रे- प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १० को आउँदो एसईई परीक्षामा ७० प्रतिशतसम्म विद्यार्थी उत्तीर्ण हुने गरी देशभर अनलाइनबाट शिक्षा सञ्चालनको घोषणा गरेका छन्।

धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको २९ औँ दीक्षान्त समारोहलाई शुक्रबार सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले अंग्रेजी, गणित, विज्ञानलगायत मुख्य विषयमा केन्द्र सरकारले अनलाइन माध्यमबाट विशेष कक्षा चलाउन सम्बन्धित निकायलाई भनिसकेको अवगत गराए।

‘५० प्रतिशतको हाराहारीमा मात्रै एसईईमा उत्तीर्ण हुनु विद्यार्थीमाथिको चरम अन्याय हो। यस्तो अवस्थालाई अन्त्य गर्न मैले शिक्षा मन्त्रालय, नेपाल टेलिकमलगायत निकायलाई आवश्यक प्रबन्धका लागि भनिसकेको छु। बढी नम्बर दिएर नभई विद्यार्थीले आफैँ राम्रो लेखेर धेरै उत्तीर्ण गराउने गरी हामीले काम थालिसकेका छौँ’, ओलीले भने, अहिलेको सरकारले परिणाममा देखाउने गरी काम गर्नेछ।’ सरकार देशको समृद्धि र समग्र शिक्षाको सुदृढीकरणका लागि आगामी दिनमा थप स्पष्ट र दृढताकासाथ अघि बढ्ने पनि प्रधानमन्त्रीको भनाइ छ।

प्रधानमन्त्रीले आफूले गतवर्ष झापाबाट अनलाइन कक्षा दिएका कारण विद्यार्थीको नतिजामा सुधार आएको उल्लेख गर्दै यस अभ्यासलाई देशभर विस्तार गर्ने बताए।

विश्वविद्यालयमा विभिन्न सङ्कायमा दीक्षित विद्यार्थीलाई आफूले प्राप्त गरेको ज्ञान–सीपलाई सही सदुपयोग गर्न तथा समाजका लागि सुयोग्य नागरिक बन्न प्रधानमन्त्रीको आग्रह छ। ‘अब तपाईँहरू संसारका जुनसुकै कुनामा गएर पनि आफ्नो क्षमता प्रदर्शन गर्न सक्नुहुन्छ। तपाईँहरूका लागि संसार खुल्ला छ। तपाईंहरूलाई अभिभावकको लगानी र स्नेहको प्रतिफलका रूपमा यो सफलता प्राप्त गर्नुभएको छ, त्यसलाई सही सदुपयोग गर्नुस्, सेवाभावको सुयोग्य नागरिक बन्नुस्’ प्रधानमन्त्री ओलीको सुझाव छ।

समारोहमा प्रधानमन्त्री ओलीले स्नातकोत्तर तहमा स्कुल अफ आर्टस्मा ४ सिजिपिए ल्याउने मिजला चित्रकारलाई चान्सलर स्वर्णपदक, स्कुल अफ साईन्स्बाट स्नातक तहमा ४ जीपीए ल्याउने मुकेश तिवारीलाई भाइस चान्सलर स्वर्णपदक प्रदान गरेका छन्।

त्यस्तै स्नातक तहमा मनिपाल कलेज अफ मेडिकल साइन्स पोखराका स्वीकार दाहाललाई भाइस–चान्सलर स्वर्णपदक, विराट मेडिकल कलेज विराटनगरको, रस्मिता पौडेललाई न्हुछेरत्न तुलाधर स्वर्णपदक, स्कुल अफ मेकिडल साइन्सेजमा अर्जुन दासलाई रमेशप्रसाद सिंह स्वर्णपदक र स्कुल अफ एजुकेशनको रनिषा पौडेललाई महेशनाथ पराजुली स्वर्णपदक प्रदान गरेका छन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराईलगायत उपस्थित समारोहमा विदेशी विद्यार्थीसहित दुई हजार तीन सय १४ विद्यार्थी दीक्षित भएका छन्।

प्रकाशित: १४ भदौ २०८१ १६:०५ | Friday, August 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast