मेयर हर्क साम्पाङ : खानेपानीकै मुद्दाले निर्वाचित, शुल्क बढाएर आलोचित

विवेक विवश रेग्मी १६ साउन २०८१ १८:१८
116
SHARES
मेयर हर्क साम्पाङ : खानेपानीकै मुद्दाले निर्वाचित, शुल्क बढाएर आलोचित

इटहरी- स्थानीय तहको निर्वाचनताका धरान उपमहानगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका हर्क साम्पाङले निर्वाचन जित्नुको एउटै कारण थियो, धरानको खानेपानी समस्या समाधान।

साम्पाङले उतिबेला अभियन्ता हुँदा धरानमा खानेपानी समस्या समाधान गर्नुपर्ने माग जोडदार रूपमा राख्दै आएका थिए। उनले यस क्रममा खानेपानी बोर्डका कार्यकारी निर्देशक राजु पोखरेललाई ‘हप्काएको’ भिडियो भाइरल भएको थियो।

२०७७ सालमा धरानमा तिलक राई मेयर थिए। साम्पाङले खानेपानीको शुल्क घटाउनुपर्ने र पानीको समस्या समाधान गर्नुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएका थिए। तिनै साम्पाङले अहिले आएर नयाँ धारा जडान शुल्कसहित खानेपानीको महसुल अचाक्ली बढाएका छन्। सोही कारण राजनीतिक दलहरू आन्दोलित छन्।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, सलोराम संघीय लिम्बुवान मञ्च र राष्ट्रिय साझा पार्टीले चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन्।

धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्षसमेत रहेका नगर प्रमुख साम्पाङले चालू आर्थिक वर्षबाट खानेपानी महसुल वृद्धि गरेपछि यसबारे गत शुक्रबार यहाँका १० दलहरूले ७२ घण्टे अल्टिमेटम दिएका थिए।

साम्पाङले दलहरूको अल्टिमेटमलाई बेवास्ता गर्दै आएका छन्। खानेपानी महसुललगायतका अन्य विषयमा भएको शुल्क वृद्धिविरुद्ध धरानका दलहरूले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्।

धरानमा २०७४ सालमा कायम भएको खानेपानीअन्तर्गतका विभिन्न शुल्क र हाल कायम भएको नयाँ शुल्कमा ४० रुपैयाँदेखि ७५ हजार रुपैयाँसम्म वृद्धि गरेको पाइएपछि विरोध जनाउन बाध्य भएको दलका प्रतिनिधिहरूले बताएका छन्।

एकलौटी निर्णयमा साउन १ गतेदेखि लागू हुने गरी ११ प्रतिशतदेखि नौ हजार नौ सय प्रतिशतसम्म खानेपानीको शुल्क वृद्धि गरेको दलहरूको आरोप छ। साम्पाङमाथि स्वघोषित रूपमा धरान खानेपानी व्यवस्थापन बोर्डको अध्यक्ष बनेको आरोप छ।

दलहरूले बोर्डलाई बुझाएको संयुक्त ज्ञापनपत्रमा ११ प्रतिशतदेखि नौ हजार नौ सय प्रतिशतसम्म शुल्क वृद्धि गरेको उल्लेख छ। बोर्डले खानेपानीको पाइपको साइजअनुसार नयाँ धारा जडानदेखि सिफारिस, मालसामान मर्मत तथा परिवर्तन, धारा नामसारी र धाराको होल चेन्जमा महसुल वृद्धि गरेको हो।

दलहरूका अनुसार नयाँ धारा जडानमा पाँच हजार रुपैयाँदेखि ७५ हजार रुपैयाँसम्म वृद्धि गरिएको छ। हाफ इन्चको पाइपमा नयाँ धारा जडान गर्दा १५ हजार रुपैयाँ रहेकोमा हाल आएर २० हजार रुपैयाँ वृद्धि गरिएको पाइएको छ।

दलहरूले नगर प्रमुख साम्पाङलाई ‘सडकमा हुँदा सत्ताको विरोध गर्ने साम्पाङ आज सडककै आवाजलाई दबाउन’ खोजिरहेको आरोपसमेत लगाएका छन्। कांग्रेस धरान नगर सभापति श्याम पोखरेलले खानेपानीको महसुलको विरोधमा चरणबद्ध आन्दोलन गर्ने बताए। उनले दलहरूले सरोकारवालासँग छलफल गर्ने र २० गते खानेपानी बोर्डमा धर्ना बस्ने बताए।

‘अब धराने जनता वडा वडाबाटै स्वस्फूर्त निस्किँदैछन्,’ उनले हिमालप्रेससँग भने, ‘२० गते खानेपानी बोर्डमा धर्ना दिन्छौँ। माग सुनुवाइ भएन भने धर्नाको कार्यक्रम निरन्तर जान सक्छ।’

उनका अनुसार साउन १७ गते विभिन्न सरोकारवाला संघसंस्थाहरूसँग अन्तरक्रिया कार्यक्रम हुनेछ। साउन १८ गते सबै वडा कार्यालयमा वडास्तरबाट ध्यानाकर्षणपत्र बुझाउने र साउन २० गते धर्ना कार्यक्रम आयोजना हुनेछ।

‘असार मसान्तसम्म खानेपानीको जुन दर थियो, त्यही कायम नगरेसम्म आन्दोलन भइरहनेछ,’ उनले भने, ‘कुनै बेला खानेपानीको धारा नामसारी गर्दा दुई सय रुपैयाँ शुल्क थियो। पछि बढेर १५ सय हुँदै दुई हजारसम्म पुग्यो। अहिले २० हजारसम्म पुर्‍याएको अवस्था छ।’

पोखरेलले खानेपानी बोर्डले किर्ते गरेको आरोप पनि लगाए। बोर्डले साउन २ गते बोर्डले सूचना टाँस गरी महसुल वृद्धि गरेको जनाएको थियो। ११ गते दलहरूले ज्ञापनपत्र बुझाएपछि सोही दिन नामसारीमा भने ५० प्रतिशतसम्म छुट गर्ने जनाए पनि २ गतेकै मिति र सोही चलानी नम्बर प्रयोग गरी सूचना टाँस गरिएको पोखरेलले बताए।

‘११ गते हामी जाँदा छुटको सूचना थिएन। ज्ञापनपत्र बुझाएपछि २ गतेकै मिति राखी चलानी नम्बर पनि सोहीअनुसार राखेर किर्ते कागज बनाइयो,’ उनले भने।

बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलद्वारा हस्ताक्षरित सूचनामा बोर्डले खानेपानी महसुल र धारा जडान, नामसारीसम्बन्धी नयाँ शुल्कबारे जानकारी दिएको छ। साउन २ गते कार्यालयमा सर्वसाधारणका लागि टाँस गरिएको सूचनामा मृतकका नामबाट धारा नामसारी गर्दा छुटको कुरा कतै उल्लेख नगरिए पनि बोर्डले पछिल्लोपटक भने ‘मृतकका नामबाट धारा नामसारी गर्दा ५० प्रतिशत छुट हुनेछ’ भनेर थप गरेको पोखरेलले बताए।

नेकपा एमाले धरान नगर अध्यक्ष हर्कजंग एभेङले खानेपानीको महसुल नघटाएसम्म आन्दोलन जारी राख्ने बताए। हिउँदको समयमा धरानमा खानेपानीको चरम अभाव हुन्छ। एभेङले खानेपानी महसुल अचाक्ली बढाएर मेयर साम्पाङले धराने जनताको हितविपरीत काम गरेको आरोप लगाए।

शुल्क वृद्धिका विषयमा सुनसरी उद्योग वाणिज्य संघले समेत आपत्ति जनाएको छ। संघका अध्यक्ष विजय श्रेष्ठद्वारा जारी विज्ञप्तिमा खानेपानी व्यवस्थापन बोर्डले अवैधानिक रूपमा अत्यधिक महसुल वृद्धि गरेकाले फिर्ता लिन आग्रह गरिएको छ।

‘आर्थिक मन्दीको समयमा खानेपानी महसुल वृद्धिले उपभोक्तालाई आर्थिक भार बढाउने काम गरेको छ,’ विज्ञप्तिमा उल्लेख छ। खानेपानी व्यवस्थापन बोर्ड ऐन २०६३ अनुसार व्यवस्थापन बोर्डमा ७ जना सदस्य हुने भए पनि नगर प्रमुख साम्पाङले एकलौटी निर्णय गरेको आरोपसमेत लाग्दै आएको छ।

 

 

प्रकाशित: १६ साउन २०८१ १८:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − one =