नहर पुरिँदा जमिन बाँझै

हिमाल प्रेस १२ साउन २०८१ १२:४९
8
SHARES
नहर पुरिँदा जमिन बाँझै

स्याङ्जा- पहिरोले नहर पुरिँदा स्याङ्जाको चापाकोटमा झण्डै पाँच सय हेक्टर जमिन बाँझो भएको छ। चापाकोट नगरपालिका–४ दार्सिङस्थित ज्याग्दीखोलामा बाँध बाँधेर २७ किलोमिटर टाढाबाट सिँचाइका लागि पानी ल्याइएको नहर पहिराले पुरिँदा खेतीयोग्य जमिन बाँझो रहेको हो।

गत असार २२ गते अविरल वर्षासँगै आएको पहिराले ठूला ढुङ्गा ल्याइ नहर पुरिएको थियो। अहिले पनि नहरबाट पहिरो हटाउन नसकिएकाले पानी सञ्चालन गर्न नसकिएको चापाकोट टार सिँचाइ योजना जल उपभोक्ता समितिका अध्यक्ष कृष्णप्रसाद सुवेदीले बताए।

‘गत असार २२ गते विभिन्न ठाउँमा नहरको माथिल्लो भागबाट ठूला ढुङ्गासहितको पहिरा आएर पुरिएको छ’, उनले भने, ‘ससाना पहिराहरु त हटायौँ तर ठूला ढुङ्गासहितको पहिरा हटाउन पटकपटक प्रयास गरिएता पनि सकिएको छैन।’

नहरको छ किमी तीन सय मिटरको दूरीमा रहेको भुङ्दी र चार किलोमिटर नौ सय ५० मिटरको दूरीमा रहेको डाङ्ग्रेपानी भन्ने ठाउँमा ठूला ढुङ्गासहितको पहिराले नहर अवरुद्ध भएको उनले बताए।

‘स्थानीय खोला खोल्साको पानीले करिब पाँच सय हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ’, उनले भने, ‘बाँकी रहेको पाँच सय हेक्टर क्षेत्रफलमा रोपाइँ गर्नका लागि नहर चल्नैपर्छ, वर्षा नभएमा र नहर नचलेमा अहिले रोपिएको धान खेतमा धाँजा फाट्छन्।’

पहिराले नहरमा ठूला ढुंगा ल्याउँदा त्यसलाई हटाउन समस्या भएको नगर प्रमुख देवबहादुर खाँणले बताए। ‘पहाडको भिरालो भागमा नहरभन्दा माथिबाट ठूला ढुङ्गा आएर अड्किएको छ’ उनले भने, ‘मान्छे लगाएर, फोडेर हटाउन सकिने अवस्था छैन, त्यहाँ डोजरलगायतका साधनहरु जाने ठाउँ पनि छैन।’

नगरपालिकाको पहलमा ढुंगा हटाउनका लागि नगरस्तरीय विपद समिति, जिल्ला विपद व्यवस्थापन समिति, जिल्ला सुरक्षा समिति, गण्डकी प्रदेशका मुख्यमन्त्री, सिँचाइ, ऊर्जालगायतका मन्त्रालय र केन्द्रमा गृह, उर्जा, रक्षा मन्त्रालयहरुमा पटक–पटक जानकारी र छलफल जारी रहेको उनले बताए।

‘स्थानीय स्रोत र साधनको प्रयोग गरी ढुङ्गा हटाउन सकिने स्थिति देखिएन’, उनले भने, ‘ठूला ढुङ्गा हटाउने एकमात्रै विकल्प भनेको विष्फोटक पदार्थको प्रयोग गरी ढुङ्गा फुटाल्नु हो, त्यसका लागि नेपाली सेनासित निरन्तर छलफल जारी रहेको छ।’

प्रकाशित: १२ साउन २०८१ १२:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =