झापामा मुहान मर्मत नहुँदा ४ सय हेक्टर जमिन बाँझै

हिमाल प्रेस १७ मंसिर २०७९ १५:४८
6
SHARES
झापामा मुहान मर्मत नहुँदा ४ सय हेक्टर जमिन बाँझै फाइल तस्बिर।

बिर्तामोड– झापामा भत्किएको मुहान ममर्त नगरिँदा ४ सय हेक्टर जमिन बाँझै रहेको छ। गत वर्षको कात्तिकमा आएको बेमौसमी बाढीले मेचीनगर नगरपालिका १४ मा रहेको हडियाँ रेगुलेटर सिँचाइ आयोजनाको मुहानमा क्षति पुर्‍याएको थियो।

मुहान मर्मतका लागि नगरपालिका र डिभिजन सिँचाइ कार्यालय भद्रपुरले तत्काल परियोजना मर्मतका लागि पटकपटक प्रदेश सरकारसँग बजेट माग गरे पनि नपाएको वडा १४ का निवर्तमान अध्यक्ष शंकर पोखरेलले बताए।

प्रदेश सरकारले बजेट व्यवस्थापन गर्न नसक्दा परियोजनाको मर्मत अझै हुन नसकेको उनको भनाइ छ।

उक्त परियोजनाको मुहान मर्मतका लागि करिब १ करोड रुपैयाँ लाग्ने उनले बताए।

‘परियोजना सञ्चालनमा आएपछि ५ सय घरपरिवारको जमिन सिञ्चित भएको थियो,’ उनले भने, ‘अहिले अधिकांश जमिन बाँझै छ, कतिपयले आकाशे पानीको भरमा लगाएको धान खेतीसमेत सिँचाइ अभावकै कारण फस्टाएन।’

तत्काल परियोजना मर्मतका लागि स्थानीय र प्रदेश सरकार गम्भीर हुनुपर्ने उनले बताए।

‘खेती गर्ने पानीको अरू विकल्प छैन,’ उनले भने, ‘तत्काल परियोजनाको मुहान मर्मतका लागि नवनिर्वाचित प्रतिनिधि तथा प्रदेश सासंदले पहल गरिदिनुहुन्छ भन्ने अपेक्षा छ।’

४ वर्षअघि एसियाली विकास बैंकको ५ करोड २२ लाख रुपैयाँ लागतमा हडियाँ खोलाबाट बनेको सिँचाइ आयोजनाको मुहान नै भत्किएपछि बनाउन नसक्दा ५ सय किसानको ४ सय हेक्टर जमिन बाँझो बन्न पुगेको हो।

प्रकाशित: १७ मंसिर २०७९ १५:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 14 =