५ हजार घूस दिएको बताउने पूर्वमन्त्री महतोमाथि कारबाही माग गर्दै निवेदन दर्ता

हिमाल प्रेस ११ साउन २०८१ १६:२०
126
SHARES
५ हजार घूस दिएको बताउने पूर्वमन्त्री महतोमाथि कारबाही माग गर्दै निवेदन दर्ता वीरेन्द्र महतो। फाइल तस्बिर

काठमाडौँ- छोराको समकक्षता प्रमाणपत्रका लागि पाँच हजार रुपैयाँ घुस दिनुपरेको बताउँदै आएका जनता समाजवादी पार्टी (जसपा) का सांसद एवं पूर्वमन्त्री वीरेन्द्र महतोलाई कारबाही गर्न माग गर्दै निवेदन दर्ता भएको छ। सांसद महतोमाथि भ्रष्टाचारसम्बन्धी कारबाही गर्न माग गर्दै रहबर अन्सारी भन्ने व्यक्तिले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा निवेदन दिएका हुन्।

सांसद महतोले गत आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै छोराको समकक्षता प्रमाणपत्र लिन शिक्षा मन्त्रालयको सानोठिमी कार्यालयमा गए पनि समयमा काम नभएपछि ५ हजार रूपैयाँ घुस दिएपछि काम बनेको बताएका थिए।

महतोले पदीय मर्यादा नराखि भ्रष्टाचार कसुर गरेको भन्दै उनीमाथि कारबाही गर्न अन्सारीले निवेदनमा माग गरेका छन्। ‘सरकारलाई समर्थन दिनुभएको र सरकारले नै भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्न दिन्न र भ्रष्टाचारीको अनुहार पनि हेर्दिनँ भन्ने संकल्प गरेको परिवेशमा आफ्नो काम चाँडो गराउनका लागि घुस दिएको स्वीकार्नु भएको छ,’ निवेदनमा भनिएको छ।

घुस रिश्वत दिने कार्यलाई रोक्नुपर्नेमा उल्टै त्यसलाई प्रोत्साहन गरेकाले महतोलाई कानुनबमोजिम कारबाही गर्न अन्सारीले माग गरेका छ। ‘अख्तियार दुरूपयोग अनुसन्धान आयोगको अधिकारक्षेत्रमा नपर्ने निजको उक्त कार्य र संसदमा अभिलिखित रहेको अभिव्यक्ति भ्रष्टाचारजन्य रहेको हुँदा निजलाई हदैसम्मको कारबाही गरी राज्यमा सुशासन कायम गराइदिनहुन भनि यो निवेदन पेश गर्दछु,’ उनले निवेदनमा उल्लेख गरेका छन्।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ मा रिसवत लिने दिनेलाई सजाय हुने व्यवस्था रहेको अन्सारीले निवेदनमार्फत ध्यानाकर्षणसमेत गराएका छन्।

प्रकाशित: ११ साउन २०८१ १६:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =