३३औँ ग्रीष्मकालीन ओलम्पिक उद्घाटन आज

हिमाल प्रेस ११ साउन २०८१ १०:५६
34
SHARES
३३औँ ग्रीष्मकालीन ओलम्पिक उद्घाटन आज

काठमाडौँ– विशेष समारोहबीच फ्रान्सको पेरिसमा शुक्रबार ३३औँ ग्रीष्मकालीन ओलम्पिक उद्घाटन हुँदैछ। आधुनिक ओलम्पिकको १२९ वर्षको ओलम्पिक इतिहासमा पहिलोपटक उद्घाटन समारोह रंगशालाभित्र नभई बाहिर आयोजना गरिने भएको छ। समारोह पेरिसको सेइन नदीमा हुनेछ।

२०६ देशका १० हजार ७१४ खेलाडीले सेइन नदीमा डुंगामा ६ किमि लामो परेड गर्नेछन्। यसपटकको ओलम्पिकमा नेपालबाट सात खेलाडीले सहभागिता जनाएका छन्। तिनमा चार महिला र तीन पुरुष खेलाडी छन्। उनीहरूले एथ्लेटिक्स, सुटिङ, पौडी, टेबल टेनिस, ब्याडमिन्टन र जुडोमा प्रतिस्पर्धा गर्नेछन्। उद्घाटनको परेडमा नेपालको झण्डा टेबल टेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले बोक्नेछन्।

उद्घाटन समारोह नेपाली समयअनुसार राति ११ः१५ बजे सुरु हुनेछ। इतिहासमा पहिलो पटक रंगशालाबाट खोला र सडकमा परेड अफ नेसन्स र कार्यक्रम हुने भएको छ। सेन नदीबाट सुरु भएर ६ किलोमिटर लामो परेड ट्रोकाडेरो गार्डेनसम्म पुग्नेछ। जसमा १० हजारभन्दा बढी खेलाडी सहभागी हुनेछन्।

समारोहमा १२० भन्दा बढी देशका नेता र प्रशासनिक अधिकारीहरू पनि सहभागी हुनेछन्। परेड सकिएपछि केही समय फ्रान्सेली संस्कृति झल्कने नृत्य तथा गायन कार्यक्रम हुनेछ। समारोह करिब २ घण्टा चल्नेछ। फ्रान्सले सन् २०२४ को ओलम्पिकको नारा ‘गेम्स वाइड ओपन’ राखेको छ।

सबै खेलाडी करिब ९४ डुंगामा समारोहमा सहभागी हुनेछन्। डुंगा क्यामेराले सुसज्जित भएकाले राष्ट्रहरूको परेडमा हरेक देशका खेलाडीलाई टीभी र अनलाइनमा देख्न सकिनेछ।

१८९६ को पहिलो संस्करणदेखि नै ओलम्पिकमा उद्घाटन समारोह समावेश गरिएको थियो। जसमा खेलाडीले खेलकुद देखाउने सपथ लिएका थिए। यो ६० हजार दर्शकहरूको क्षमताको रंगशालमा भएको थियो । त्यसयता यो समारोह रंगशालामा मात्रै हुँदै आएको थियो।

प्रतियोगितामा २०३ राष्ट्रिय ओलम्पिक समितिहरूको प्रतिनिधित्व गर्दै करिब १० हजार पाँच सय खेलाडी सहभागी भएका छन्। ती खेलाडीले २६ जुलाईदेखि ११ अगस्तसम्म ३२ खेलका ३२९ इभेन्टमा प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: ११ साउन २०८१ १०:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =