इटहरीमा हटाइयो पार्किङ शुल्कको ठेक्का

हिमाल प्रेस ६ साउन २०८१ १९:३७
16
SHARES
इटहरीमा हटाइयो पार्किङ शुल्कको ठेक्का इटहरीको मुख्य राजमार्गमा गुडिरहेको गाडी रोकेर शुल्क असुलिँदै । तस्बिर : विवेक विवश रेग्मी

इटहरी- इटहरीमा बाटै छेकेर पार्किङ शुल्क उठाएको गुनासो आएपछि उपमहानगरले यस वर्षदेखि ठेक्का प्रक्रिया हटाएको छ। इटहरी प्रवेश गर्नका लागि गुडिरहेका गाडीहरूलाई बाटै छेकेर पार्किङ शुल्क उठाइँदै आएको समाचार यसअघि हिमाल प्रेसले सार्वजनिक गरेको थियो। समाचार प्रकाशितपछि उपमहानगरको ठेक्का प्रक्रिया गलत भएको भन्दै तीव्र आलोचना भएको थियो। यस वर्षदेखि ठेक्का प्रक्रिया हटाइएको उपमहानगरले जनाएको छ।

राजस्व शाखा प्रमुख सन्तोष ढकालका अनुसार इटहरी-९ मा बसपार्क निर्माणाधीन रहेकोले यो आर्थिक वर्षमा पार्किङ ठेक्का नलगाउने निर्णय भएको छ। कसैले अनधिकृत रूपमा पार्किङ शुल्कको नाममा रकम संकलन गरेको पाइए खबर गर्नसमेत उनले अनुरोध गरे।

यससँगै गुडिरहेका गाडीहरूले अब पार्किङ शुल्क तिर्नुपर्ने छैन। ‘अनधिकृत रूपमा पार्किङ शुल्क लिएको पाइए तत्काल उजुरी दिन आग्रह गर्दछु,’ उनले भने, ‘गुडिरहेको गाडीलाई जथाभाबी रोकेर शुल्क लिइँदा दुर्घटनाको जोखिमसमेत रहेको कुरालाई मध्यनजर गर्दै ठेक्का प्रक्रिया यस वर्षदेखि हटाइएको हो।’

तोकिएको पार्किङ स्थलमा रोकिएका सवारी साधनसँग मात्र पार्किङ शुल्क लिने प्रावधान ऐनमा छ। तर इटहरीमा आधिकारिक पार्किङ स्थल कतै पनि छैन। उपमहानगरपालिकाले बर्सेनि पार्किङ शुल्क भनेर गुडिरहेको गाडीलाई पार्किङ शुल्क उठाउँदै आएको थियो। यसले दुर्घटनाको जोखिमसँगै गाडी चालकहरूसमेत आजित थिए।

इटहरी उपमहानगरपालिकाले गत आर्थिक वर्षमा पार्किङ शुल्कका लागि एक करोड ५२ लाखमा नमुना कन्ट्रक्सन बराहक्षेत्र ५ लाई ठेक्का दिएको थियो। इटहरीको विराटनगर लाइन, पश्चिम लाइन, पूर्व लाइन र भित्री बाटाहरूमासमेत पार्किङ शुल्क उठाइँदै आएको थियो।

बाटोमा हिँड्ने चारपाङ्ग्रे सवारीसाधन र तीन पाङ्ग्रे ई–रिक्सालाई बाटै छेकेर पार्किङ शुल्क उठाउँदा सवारी धनीहरू आजित बनेको भन्दै पटकपटक इटहरी उपमहानगरको आलोचना भएको थियो। बाटै छेकेर पैसा नउठाउन उपमहानगरले पटकपटक आग्रह गरे पनि ठेक्का पाएको कम्पनीले भने बाटै छेकेर शुल्क उठाउँदै आएको थियो।

भारतबाट आउने पर्यटकहरू पनि बाटै छेकेर शुल्क तिर्न बाध्य हुँदा समस्यामा पर्दै आएका थिए। खास गरी नगरले तोकिएको पार्किङ स्थलमा रोकिएका सवारी साधनसँग मात्र पार्किङ शुल्क लिने प्रावधान ऐनमा रहे पनि जथाभाबी शुल्क उठाइँदै आइएको थियो।

यो पनि

इटहरी उपमहानगर जहाँ गाडी रोकेर असुलिन्छ ‘पार्किङ शुल्क’

प्रकाशित: ६ साउन २०८१ १९:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + twenty =