नेपालमा यूएसएडको ७ दशक

हिमाल प्रेस ३ साउन २०८१ २१:४१
20
SHARES
नेपालमा यूएसएडको ७ दशक

काठमाडौँ- संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (यूएसएड)ले विगत ७ दशकदेखि नेपालबीच साझेदारी गरिरहेको छ।

नेपाल सरकारको दीर्घकालीन विकास योजनाअन्तर्गत नेपालमा पहिलोपटक कम्प्युटर भित्र्याउन, नर्स प्रशिक्षण विद्यालय स्थापना गर्न, टेलिफोन र रेडियो सञ्चालनलगायतको कार्य यूएसएडकै सहयोगमा भएको हो।

अमेरिकी राजदूतावासका अनुसार यूएसएडको सहयोगका कारण दक्षिणी तराई क्षेत्रबाट मलेरिया उन्मूलन भएको, कुनै समय बसोबास गर्न नसकिने मुलुकका भूभागमा कृषि फस्टाउन योग्य भएको, साक्षरता बढेको, औसत आयु दोब्बर भएको, बाल मृत्युदर उल्लेखनीय रुपमा घटेको, शान्ति र लोकतन्त्रमा सहजीकरण भएको र कोभिड-१९ सङ्कटको समयमा खोप, आवश्यक सामग्री र प्राविधिक सहायता प्राप्त भएको जनाएको छ।

विशेषतः ग्रामीण भेगलाई केन्द्र बनाई तीनै तहका सरकारसँगको सल्लाहमा नेपालमा लोकतन्त्र, सुशासन र अधिकार, आर्थिक वृद्धि, वातावरण र विपद् न्यूनीकरण, शिक्षा, स्वास्थ्यमा विशेष सहयोगका साथ काम गरिरहेको छ।

यूएसएडले कुनकुन क्षेत्रमा केकस्तो कार्य गरिरहेको छ ? यसबारे युएसएडले नेपाल र नेपाली जनतासँग सात दशक लामो साझेदारीका क्रममा गरिएका सहयोग र योगदानबारे जानकारी गराउन समीक्षात्मकरूपमा बिहीबार नागपोखरीस्थित आरण्य ब्याङ्क्वेटमा कार्यक्रम आयोजना गरेको थियो।

अन्तरक्रियामा कार्यवाहक मिसन निर्देशक बेथ होगनले नेपाल सरकारको आवश्यकता र प्राथमिकताअनुसार युएसएडले अनुदान सहयोग पुर्याउँदै आएको उल्लेख गरिन्।

कार्यक्रममा यूएसएडले विशेषतः दूतावासमा कार्यरत कर्मचारी र सम्बन्धित लोकतन्त्र, सुशासन र अधिकार, आर्थिक वृद्धि, वातावरण र विपद् न्यूनीकरण, शिक्षा, स्वास्थ्य क्षेत्रका प्रतिनिधिले आफूले गरिरहेको कामको विवरण सुनाए।

राजदूतावासका अनुसार सन् २००० देखि नेपालमा यूएसएडले हालसम्म डेढ अर्ब अमेरिकी डलर (१९६ अर्ब नेपाली रूपैयाँ) सहयोग गरेको छ। बर्सेनि १६ अर्व अर्थात् १ सय २५ मिलियन अमेरिकी डलर बजेटमार्फत छुट्याउने गर्दछ।

लोकतन्त्र, सुशासन र अधिकारका क्षेत्रमार्फत २०४६ सालको जनआन्दोलनदेखि संविधान निर्माण, लोकतन्त्र स्थापना, संघीय प्रणालीको विकासमा सहयोग गरिरहेको युएसएड नेपालका विकास विशेषज्ञ विश्वास राणाले बताए।

राणाका अनुसार सेवा प्रदायक निकाय, सीमान्तकृत वर्ग, मानव बेचविखनविरुद्ध सचेतनामूलक कार्यक्रममा सम्बन्धित निकायलाई सहयोग गरिरहेको छ। विभिन्न संघसंस्थाबाट जनताप्रति पर्ने मिथ्या सूचनालाई न्यूनीकरणका लागि फ्क्टचेक नामक संस्थालाई पनि सहयोग गरिरहेको उनले बताए। यस क्षेत्रमा १ सय २० लाख अमेरिकी डलर बजेट छुट्याइने गरिएको छ।

विकास कार्यक्रम विशेषज्ञ सुजन पियाले नेपालमा यूएसएडअन्तर्गत विशेषत आर्थिक पाटोमा कृषिलाई प्राथमिकतामा राख्ने गरेको बताए। ‘नेपाल कृषिप्रधान देश हो। यहाँका ६० प्रतिशत मानिस कृषिमा आवद्ध छन्। त्यसैले हामीले बढी कृषि पेसामा सहकार्य गरिरहेका छौँ,’ उनले भने। कृषि पेसाअन्तर्गत धान, मकै, मुसुरो, खेती, बाख्रा र कुखुरा पालनमा बढी जोड दिइरहेको उनले उल्लेख गरे।  आर्थिक वृद्धिअन्तर्गत  ग्रामीण विकास र साना किसानलाई सहयोग गर्ने कार्य गरिरहेकाे उनले बताए।

त्यस्तै प्रविधिको प्रयोगमार्फत किसानलाई कृषिसम्बन्धी उद्योगमा जोड्ने कार्यमा पनि सहकार्य गरिरहेको छ। उनका अनुसार आर्थिक कार्यका लागि बर्सेनि २७ मिलियन अमेरिकी डलर बजेट छुट्याउने गरेको छ।

शिक्षा क्षेत्रका विशेषज्ञ राजकुमार दुलालले शिक्षा क्षेत्रअन्र्तगत १ देखि ३ कक्षासम्म पढ्ने बालबालिकालाई लक्षित तहगत शिक्षाभन्दा बाहिर रहेर शिक्षा प्रदान गरिरहेको बताए। त्यस्तै कक्षा ६ देखि १० कक्षाका विद्यार्थीलाई समतामूलक सीप र समावेशीतालाई प्राथमिकताका साथ जोड दिई सहयोग गरिरहेको छ। त्यस्तै अपाङ्गताको हकमा पनि ह्वीलचियर, स्टिक, कम्युटरलगायतमा सामग्रीहरू प्रदान गरिरहेको छ।

स्वास्थ्य विभागका वरिष्ठ स्वास्थ्य सल्लाहकार जगन्नाथ शर्माले यूएसएडमार्फत आएको बजेटबाट गाउँमा नवजात शिशुलाई कपडा वितरणदेखि सुत्केरीलाई पोषणयुक्त खाद्यान्न उपलब्ध गराइरहेको र बर्थिङ सेन्टर, परिवार नियोजनको साधान एवं एचआईभी संक्रमितलाई औषधि उपलब्ध गराउन सहयोग गरेको बताए। त्यस्तै औंलो, मलेरिया, कोभिडको भ्याक्सिन, पोलियो उन्मूलन लगायतका रोगहरूको औषधि उपलब्ध गराइरहेको उनले बताए।

यसै अवधिमा युएसएडको सहयोगमा किसान र उद्यमीले छ करोड ३० लाख अमेरिकी डलर मूल्यको कृषि उत्पादनको बिक्री गर्न सफल भएको जनाएको छ। एक करोड २४ लाख व्यक्तिलाई मतदाता र नागरिक शिक्षा प्राप्ति गर्न सहयोग गरेको, नेपाल सरकारलाई दुई अर्ब ४० करोड अमेरिकी डलर मूल्य बराबरको एक हजार दुई सय मेगावाट विद्युत् उत्पादन गर्ने जलविद्युत् परियोजनालाई अन्तिम रुप दिन मद्दत गरिरहेको युएसएडले जनाएको छ।

सन् २०२३ मा स्वास्थ्य, शिक्षा, र आर्थिक वृद्धिका कार्यक्रममार्फत १० लाखभन्दा बढी महिलाको जीवनमा प्रत्यक्ष योगदान पु¥याएको र थप ५० लाख महिला माझ अप्रत्यक्ष रुपमा आमसञ्चार माध्यमका अभियानलगायत गतिविधि पुगेको युएसएडको तथ्याङ्क छ।

युएसएड नेपालका लैङ्गिक तथा समावेशी विकास सल्लाहकार मञ्जु तुलाधर, ऊर्जा विशेषज्ञ शंकर खागी,  प्राप्ति तथा सहायता विशेषज्ञद्वय चेतना घिमिरे र तेजेन्द्र पौडेल, वित्तीय विश्लेषक टेक पाण्डे, प्रमुख लेखापाल अपेक्षा श्रेष्ठलगायतले युएसएडले नेपालमा गरिरहेको सहयोग र सञ्चालित परियोजना बारे जानकारी गराएका थिए।

युएसएड अन्तर्राष्ट्रिय विकासको नेतृत्व गर्ने अमेरिकाको सरकारी निकाय हो । युएसएडले नेपाललगायत सयभन्दा बढी मुलुकमा काम गर्दछ।

प्रकाशित: ३ साउन २०८१ २१:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + three =