कांग्रेसको सांगठनिक गतिविधि सुस्त

सन्तोष अधिकारी ३ साउन २०८१ १६:५८
150
SHARES
कांग्रेसको सांगठनिक गतिविधि सुस्त सभापति शेरबहादुर देउवा ।

काठमाडौँ- सत्ता राजनीतिमा केन्द्रित हुँदा नेपाली कांग्रेसको आन्तरिक गतिविधि प्रभावित भएको छ। जसका कारण असार मसान्त डाकिएको पार्टी केन्द्रीय कार्यसमितिको बैठक अनिश्चित भएको छ। पार्टीका विभागलाई कहिलेसम्म पूर्णता दिने भन्ने टुंगो छैन। विभाग गठन र मनोनयनको काम असार मसान्तमा केन्द्रीय कार्यसमितिको बैठकबाट सक्ने तयारी थियो।

नेतृत्व नेकपा एमालेसँग गठबन्धन बनाउन व्यस्त भएपछि  यी सबै काम प्रभावित भएका हुन्। कांग्रेस र एमालेबीच असार १७ गते  गठबन्धन बनाउने सहमति भएको थियो। त्यसयता पार्टी सम्पूर्ण रूपमा सत्ता राजनीतिमा केन्द्रित भएको छ।

एमालेका अध्यक्षसमेत रहेका ओलीलाई प्रधानमन्त्री बनाएर कांग्रेस सत्तामा गएको छ। एमालेले प्रधानमन्त्रीसहित ९ मन्त्रालय पाएको छ। कांग्रेसको भागमा गृहसहित १० मन्त्रालय परेको छ। यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टी पनि सरकारमा गएका छन्। अन्य साना दललाई पनि सरकारमा ल्याउन कांग्रेस-एमाले सक्रिय रहेको नेताहरू बताउँछन्।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कहिले बस्ने भन्ने पनि अनिश्चित भएको छ। कांग्रेसको आफ्नो आन्तरिक गतिविधि सक्रिय बनाउन ७० विभाग बनाइएको छ। तीमध्ये १९ विभाग गठन भएका छन्। यी पनि पूर्ण छैनन्। गठन भएकामध्ये  प्रचार विभाग मात्रै सक्रिय छ। गठित अधिकांश विभागमा प्रमुखबाहेक अन्य सदस्य मनोनयन हुन सकेका छैनन्।

पार्टी विधानअनुसार महाधिवेशन भएको ६ महिनाभित्र विभाग गठन गरिसक्नुपर्छ। १४औँ महाधिवेशन भएको २६ महिना बितिसक्दा पनि विभाग गठन हुन सकेको छैन। १४औँ महाधिवेशन २०७८ मंसिरमा  भएको थियो।  १६८ सदस्यीय केन्द्रीय कार्य समितिमा मनोनीत गर्नुपर्ने दुई पद रिक्त छ।

त्यस्तै ४५ सदस्यीय केन्द्रीय कार्यसम्पादन समितिमा ८ सदस्य मनोनीत गर्न बाँकी छ। कांग्रेसमा कोषाध्यक्ष चयन गर्न सकिएको छैन। १४ सदस्यीय पदाधिकारीमा सभापति, उपसभापति (२), महामन्त्री (२), सहमहामन्त्री (८) सहित १३ जना हुन्छन् भने सभापतिले कोषाध्यक्ष मनोनीत गर्न पाउने वैधानिक व्यवस्था छ।

कांग्रेसको विभागलगायतका निकायलाई पूर्णता दिँदा झन्डै चार हजार नेताकार्यकर्ताले जिम्मेवारी पाउन सक्छन्। सरकारमा सहभागी भएपछि संगठनात्मक गतिविधि धकेलिनु स्वाभाविक भएको नेताहरूको दाबी छ। त्यसो त कांग्रेस सरकारमा पहिलो दल होइन। प्रतिपक्षमा रहँदा पनि कांग्रेसले संगठन सुदृढीकरणमा कुनै कार्यक्रम अघि सारेको थिएन।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत अब सभापति शेरबहादुर देउवा संगठनात्मक गतिविधिमा सक्रिय हुने बताउँछन्। प्रवक्ता महतले भने, ‘अहिले मन्त्रिपरिषद् विस्तारदेखि अन्यत्र ध्यान दिनुपर्‍यो अब ती सबै काम हुन्छ। अब सभापतिले पार्टीमा ध्यान दिनुहुनेछ। गठन हुन बाँकी, मनोनयन गर्न बाँकी सबै काम हुनेछ।’

सभापति देउवा पार्टी महाधिवेशनलगत्तै तीन तहको निर्वाचन र सत्ता राजनीतिमा अल्झिए। गत फागुनमा कांग्रेससहितको सत्ता समीकरण टुटेपछि सभापति पार्टी काममा केन्द्रित भएका थिए। महामन्त्रीलगायतका पदाधिकारीहरूले पनि देशव्यापी रूपमा पार्टीलाई चलायमान बनाएका थिए।

‘पार्टीका ७० वटै विभागलाई पूर्णता दिने र पार्टी संगठनलाई थप चलायमान बनाउने गरी सभापतिले काम गरिरहनुभएको थियो,’ कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडैलले भने, ‘दुई ठूला दल मिलेर सरकार बनाउनुपर्ने अवस्था आएकाले सभापतिसहित पार्टी शीर्ष नेता त्यता व्यस्त हुनुपर्‍यो। अहिले मन्त्रिपरिषद् पनि विस्तार भइसक्यो।’ उनले केन्द्रीय कार्यसमितिको बैठक चाँडे बस्ने दाबी गरे। त्यसपछि पार्टीका सबै निकायलाई पूर्णता दिने काम सुरु हुने पौडेलको बुझाइ छ।

साथै संघका तदर्थ कार्यसमितिहरूको समयावधि पनि आगामी चैतसम्मका लागि थपिएको छ। नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल दलित संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ र नेपाल थारू संघका निर्देशक समितिहरूलाई २०८१ चैत मसान्तसम्म अनिवार्य रूपमा महाधिवेशन सम्पन्न गर्ने गरी कार्यादेश दिइएको छ।

पार्टी यी भ्रातृ संस्थाको महाधिवेशन केन्द्रित कार्यक्रम गर्ने तयारी भइरहेको मुख्य सचिव पौडेलले बताए। यसका लागि पदाधिकारीहरूलाई गृहकार्य गर्न सभापति देउवाले निर्देशन दिइसकेका छन्। महाधिवेशन सम्पन्न नगरेका भ्रातृ संगठनको महाधिवेशन गर्न र गराउन फरक भ्रातृ संस्थाका लागि अधिकार सम्पन्न फरकफरक निर्देशक समिति गठन गर्ने निर्णय केन्द्रीय कार्यसम्पादन समिति बैठकले यसअघि नै गरिसकेको थियो।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघबाहेकका भ्रातृ संस्था महाधिवेशन गराउन असफल भएपछि कांग्रेसले पार्टीका नेतालाई जिम्मेवारी दिइएको पौडेलको भनाइ छ। उनका अनुसार केन्द्रीय समिति बैठकले महाधिवेशन हुन नसकेका भ्रातृसंस्थाको महाधिवेशन गराउन पार्टी केन्द्रीय सदस्यको नेतृत्वमा तीन सदस्यीय समन्वय समिति बनाउनेछ। यही समितिले आगामी चैतभित्र महाधिवेशन पनि गराउने अधिकार पाउनेछ।

पार्टीका जनसम्पर्क समिति (विदेशमा भएका समिति) को अधिवेशन गराउन पनि आगामी केन्द्रीय समितिले निर्देशन दिने गरी काम भइरहेको उनले बताए। कांग्रेसका अनुसार ३६ देशमा पार्टीको जनसम्पर्क समिति गठन भएका छन्।

प्रकाशित: ३ साउन २०८१ १६:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − five =