तनहुँ जलविद्युत् आयोजना प्याकेज-३ को काम वनका कारण प्रभावित

हिमाल प्रेस २९ असार २०८१ १६:३५
8
SHARES
तनहुँ जलविद्युत् आयोजना प्याकेज-३ को काम वनका कारण प्रभावित

तनहुँ-  १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्याकेज–३ को काम प्रभावित भएको छ। प्याकेज–३ अन्तर्गत प्रसारणलाइन निर्माणको काम वन क्षेत्रका कारण प्रभावित भएको हो।

वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुखबिरुवा हटाउन स्वीकृति नपाउँदा प्रसारणलाइन निर्माण कार्य प्रभावित भएको आयोजनाका निमित्त प्रमुख श्यामजी भण्डारीले जानकारी दिए।

प्रसारणलाइन निर्माणका लागि रुख कटान गर्न सरकारका तर्फबाट स्वीकृति प्राप्त भइसके पनि स्थानीयस्तरमा सहमति नहुँदा प्रसारण लाइन निर्माणको काम प्रभावित भएको उनको भनाइ छ। तनहुँतर्फको भागमा समस्या नरहे पनि चितवनतर्फ समस्या रहेकाले समस्या समाधान गर्नेतर्फ आयोजना लागिरहेको भण्डारीले बताए।

प्रसारणलाइन निर्माणको काम हालसम्म ७३ दशमलव पाँच प्रतिशत सकिएको छ। प्रसारणलाइनमा पर्ने ९४ टावरमध्ये हालसम्म ७७ टावरको जग हाल्ने र ६९ टावर जडान कार्य सम्पन्न भइसकेको छ।

तीन टावरको जग हाल्ने कार्य जारी रहेको बताउँदै भण्डारीले २० वटा टावरको जग संरक्षण कार्य सम्पन्न भएको जानकारी दिए। उनका अनुसार दुई स्थानमा जग संरक्षणको काम भइरहेको छ।

केइसी इन्टरनेसनल, भारतले दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको ३६ किलोमिटर डबल सर्किट प्रसारणलाइन निर्माण कार्य गरिरहेको छ। प्रसारणलाइन निर्माणको काम सन् २०२२ मेसम्म सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोभिड–१९ को महामारी र वन क्षेत्रको रुख कटानको स्वीकृति वन मन्त्रालयबाट प्राप्त हुन ढिलाइ हुँदा सम्झौताको म्याद थप गरिएको थियो। प्रसारणलाइन निर्माणको अवधि वि‍‍.सं. २०८१ पुस ४ गतेसम्म रहेको छ।

प्रकाशित: २९ असार २०८१ १६:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + eighteen =