तनहुँ जलविद्युत् आयोजनाको सुरुङ तयार

हिमाल प्रेस १९ माघ २०७९ १५:०४
6
SHARES
तनहुँ जलविद्युत् आयोजनाको सुरुङ तयार फाइल तस्बिर-रासस

काठमाडौँ– तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको सुरुङ तयार भएको छ। सेती नदीको बायाँ किनारतर्फबाट प्रस्तावित बाँधको माथिल्लो भागतर्फ जाने ४३६ मिटर लम्बाइ र ७ मिटर ब्यास भएको सुरुङ तयार भएको आयोजनाले जनाएको छ।

सुरुङ तयार भएपछि अब सेती नदीको बायाँतर्फबाट हुने निर्माणका लागि आवश्यक सामग्री तथा उपकरण लैजान पनि सहज हुने भएको छ। आयोजनाको पहिलो प्याकेजअन्तर्गत प्रवेश सुरुङ निर्माण गत वर्षको फागुनमा सुरु गरिएको थियो।

पहिलो प्याकेजअन्तर्गतकै बाँधलगायतका संरचना सोंग दा कर्पोरेशन, भियतनाम-कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीले निर्माण गरिरहेको छ। हालसम्म मुख्य बाँध निर्माणका लागि नदी फर्काउन आवश्यक डाइभर्सन, सुरुङ, बाँधको माथिल्लो भाग तथा स्लोप खन्ने, प्रवेश सडकको स्तरोन्नतिलगायत काम भइरहेका छन्।

आयोजनाका अनुसार ५३९ मिटर लम्बाइको डाइभर्सन सुरुङ-१ को ‘ब्रेक थु्र’ भइसकेको छ। सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत दोस्रो प्याकेजको काम सिनो हाइड्रो चीनले गरिरहेको छ।

यस्तै, तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण केइसी भारतले गरिरहेको छ। आयोजना निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ।

आयोजनाको कूल लागत ५० करोड ५० लाख अमेरिकी डलर रहने अनुमान छ। जसमा एसियाली विकास बैंक (एडीबी)ले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 4 =