फ्रान्स : अनपेक्षित नतिजाले ल्याएको अन्योल

प्रविण बिक्रम कटवाल २६ असार २०८१ ८:३६
52
SHARES
फ्रान्स : अनपेक्षित नतिजाले ल्याएको अन्योल संसद्‌मा सबैभन्दा ठूलो पार्टी बनेको फ्रान्स अन्बोउडका अध्यक्ष जिन लुक मेलेन्चोन समर्थकहरूलाई अभिवादन गर्दै। तस्बिर : एपी/रासस

फ्रान्सेली संसदीय निर्वाचनको पहिलो चरणको मतदानमा बलियो देखिएका उग्र दक्षिणपन्थीहरू आखिरमा पछाडि धकेलिएका छन्। सोमबार आएको दोस्रो चरणको मतदानको नतिजाअनुसार मरिन ले पेनको पार्टी नेसनल र्‍याली (आरएन) सम्मिलित गठबन्धन (एलआर-आरएन) तेस्रो स्थानमा सीमित भएको छ। आरएन र उसका सहयात्री दलहरूले १४३ सिट जितेका छन्।

जब कि वामपन्थीहरूको गठबन्धन न्यु पपुल फन्ट (एनएफपी) ले १९३ र राष्ट्रपति इम्मानुएल म्याक्रोनको गठबन्धन एन्सेम्बलले १६४ सिटमाथि कब्जा जमाएका छन्। फ्रान्सको नेसनल एसेम्बली (तल्लो सदन) को कुल ५७७ सिटका लागि दुई चरणमा मतदान भएको थियो। बहुमतका लागि २८९ सिट आवश्यक पर्ने र यो संख्या कसैसँग नभएपछि फ्रान्समा ‘हङ पार्लियामेन्ट’ देखिने भएको छ।

जुन ३० मा भएको पहिलो चरणको मतदानमा आरएनसहितको गठबन्धनले ३३.१४ प्रतिशत पाएको थियो। पहिलो चरणको नतिजापछि ले पेनको पार्टी सहजै संसद्को सबैभन्दा ठूलो पार्टी बन्ने आकलन थियो। तर आइतबारको मतदानले भने यो आकलनलाई गलत साबित गरिदिएको छ। उग्र दक्षिणपन्थी आरएनलाई सत्तामा पुग्न नदिन गैरदक्षिणपन्थीले अघोषित गठबन्धन गरेका थिए। राष्ट्रपति म्याक्रोन तथा उनका सहयात्री दलहरूले दक्षिणपन्थीलाई मत नदिन मतदातामाझ सार्वजनिक आह्वान गर्नुपरेको थियो।

कार्यकारी राष्ट्रपतिको व्यवस्था भएको फ्रान्समा संसद्‌मा बहुमत ल्याउने दलले सरकार बनाउँछ। खासमा संसदीय निर्वाचन सन् २०२७ मा हुनुपर्ने थियो। तर राष्ट्रपति म्याक्रोनले तीन वर्षअगावै निर्वाचन गराएका हुन्। यसको मुख्य कारण हो, युरोपेली संसद्का लागि भएको निर्वाचनमा दक्षिणपन्थीको दबदबा। जुन ९ मा भएको युरोपेली निर्वाचनमा ले पेन नेतृत्वको गठबन्धनले ३० प्रतिशतभन्दा बढी मत पाएको थियो।

उता म्याक्रोनको पार्टी सम्मिलित गठबन्धन रेनेसेन्सको भागमा १५ प्रतिशत मत परेको थियो। फ्रान्सभित्रको युरोपेली निर्वाचनमा उग्र राष्ट्रवादको पैरवी गर्नेहरू विजयी भएपछि म्याक्रोनले घरेलु संसद् विघटन गर्दै निर्वाचन मिति घोषणा गरेका थिए। ताजा जनादेश देशका लागि आवश्यक रहेको उनको जिकिर थियो।

म्याक्रोको त्यो निर्णयलाई विश्लेषकहरूले खतरापूर्ण मानेका थिए। दक्षिणपन्थीहरू बलियो बन्दै गइरहेका बेला पूर्वनिर्धारित मितिअगाडि निर्वाचन गराउँदा म्याक्रोनको पार्टीलाई घाटा हुने सर्वत्र आकलन थियो। उसो त पहिलो चरणको मतदानको संकेत पनि त्यस्तै थियो।

त्यसबेला ले पेनको गठबन्धनले ३३ प्रतिशतभन्दा बढी मत पाउँदा राष्ट्रपतिको पार्टी र सहयात्री दलहरूले २० प्रतिशत मत मात्र पाएका थिए।

उता दोस्रो स्थानमा रहेका वामपन्थीहरूको भागमा २८ प्रतिशत मत थियो। तर दास्रो चरणमा पुगेर भने माहोल नाटकीय रुपमा वामपन्थी र म्याक्रोनको नेतृत्वको मध्यमार्गीहरूको पक्षमा पुगेको हो।

फ्रान्सेली व्यवस्थाअनुसार पहिलो चरणमा निर्वाचित हुन उम्मेदवारले ५० प्रतिशत मत ल्याउनुपर्छ। यो ५० प्रतिशत मत त्यस निर्वाचन क्षेत्रमा दर्ता भएका मतदातामध्ये कम्तीमा २५ प्रतिशत मतदाताले दिएको हुनुपर्छ। नभए प्रतिस्पर्धा दोस्रो चरणमा प्रवेश गर्छ। जहाँ पहिलो चरणको प्रतिस्पर्धामा शीर्ष दुईमा रहेका उम्मेदवार र दर्ता भएका १२.५ प्रतिशत मतदाताले पत्याएका उम्मेदवारबीच हुन्छ। पहिलो चरणमै विजयी हुने उम्मेदवारको संख्या ८० थियो। जसमध्ये ३० जतिले आरएन गठबन्धनका थिए।

यसपालिको निर्वाचनमा धेरैजसो क्षेत्रमा तीनपक्षीय भिडन्त थियो। फ्रान्सेली अखबार ले मोन्डका अनुसार दोस्रो चरणमा ३०६ सिटमा तीनपक्षीय र १९० सिटमा दुईपक्षीय भिडन्त निश्चित भएको थियो। पहिलो चरणको नतिजापछि मध्यमार्गी र वामपन्थीहरूले हरेक क्षेत्रमा तेस्रो भएका आआफ्ना उम्मेदवारलाई प्रतिस्पर्धा त्याग्न लगाए, ताकि दक्षिणपन्थीहरूलाई संयुक्त रुपमा रोक्न सकियोस्।

ले मोन्डका अनुसार दोस्रो चरणको मतदानका लागि योग्य २२१ उम्मेदवारहरूले चुनावी मैदान छाडेका थिए। जसका कारण ४०९ सिटको प्रतिस्पर्धा दुईपक्षीय भिडन्तमा परिणत भएको थियो। यस्ता ८९ सिट थिए, जहाँ भने तीन पक्ष प्रतिस्पर्धामा उत्रिए।

आखिरमा कसरी कमजोर बने दक्षिणपन्थी?

एक्जिट पोल तथा चुनावी नतिजा विश्लेषकहरूले मरिन ले पेनको पार्टी आरएनले सबैभन्दा धेरै सिट ल्याउने प्रक्षेपण गरेका थिए। पहिलो चरणको मतदानपछि स्थिति उनकै पक्षमा थियो। तर दोस्रो चरणको मतदानपछि उनको पार्टी र गठबन्धन पछाडि धेकिलिए। किन?

पहिलो कारण त दास्रो चरणको मतदानमा मध्यमार्गी र वामपन्थीबीचको साँठगाँठ हो। दोस्रो चरणको मतदानमा राष्ट्रपति म्याक्रोनको गठबन्धन एन्सेम्बल र वामपन्थीहरूको एनएफपीले एकअर्कालाई सघाए। पहिलो चरणको मतदानमा तेस्रो स्थान ओगटेका आआफ्ना उम्मेदवारलाई दुवै गठबन्धनले हटाए, ताकि आरएनसँग संयुक्त रूपमा भिड्न सकियोस्।

एन्सेम्बल र एनएफपीका नेताहरूले आआफ्ना समर्थकलाई आरएनविरुद्ध मतदान गर्न अपिल गरे। उसो त अनावश्यक दबाब सिर्जना गरेमा मतदाताले ती दुई गठबन्धनका उम्मेदवारलाई छान्दैनन् कि भन्ने संशय पनि थियो। तर बहुमत मतदाताले आखिरमा दक्षिणपन्थीहरूलाई रोक्ने अभियानमा साथ थिए।

यसरी त्रिपक्षीय भिडन्त भएका क्षेत्रमध्ये ९० प्रतिशत क्षेत्रमा प्रतिस्पर्धा दुईपक्षीयमा झारियो। ले मोन्डका अनुसार यी अधिकांश क्षेत्रमा ले पेनको पार्टीका उम्मेदवार पहिलो वा दोस्रो स्थानमा थिए। पहिलो चरणको मतदानमा करिब २९६ क्षेत्रमा आरएन र उसका सहयोगी दलका उम्मेदवार अरू उम्मेदवारभन्दा अगाडि थिए। यस्तोमा दोस्रो चरणको मतदानमा वामपन्थीहरूसँग अघोषित गठबन्धन नगरेको भए म्याक्रोनले यतिबेलाले जोर्डन बर्डेलालाई प्रधानमन्त्री घोषित गरिरहेको हुनुपर्ने थियो। २८ वर्षीय बर्डेला ले पेनको पार्टी नेसनल र्‍याली आरएनका अध्यक्ष हुन्।

दक्षिणपन्थीहरूलाई रोक्न वामपन्थीहरूसँग गरिएको गठजोड सफल साबित भए पनि यो निर्वाचनले म्याक्रोनको गठबन्धनलाई दिएको पीडा भने यथावत् छ। यो गठबन्धले करिब एक सय सिट गुमाएको छ। यद्यपि संसद्‌मा एन्सेम्बल दोस्रो ठूलो घटकका रूपमा उभिनेछ। यहाँ भुल्न नहुने तथ्य के पनि छ भने आरएनविरुद्धको प्रतिस्पर्धामा एन्सेम्बल एनएफपीभन्दा बढी सफल भएको छ। आरएनका उम्मेदवारविरुद्ध एन्सेम्बलका १११ उम्मेदवारले सफलता हात पारेका छन् भने वामपन्थीहरूले १०१ क्षेत्रमा जित दर्ता गरेका छन्।

समाजवादी पार्टीका नवनिर्वाचित संसद सदस्यहरू पूर्वराष्ट्रपति फ्रान्कोइस ओलान्ड (बीचमा) सँग सामूहिक तस्बिर खिचाउँदै। तस्बिर : एपी/रासस

वामपन्थी गठबन्धनभित्रको सबैभन्दा ठूलो पार्टी हो, फ्रान्स अन्बोउड (एलएफआई)। अब यो पार्टी फ्रान्सेली संसद्कै सबैभन्दा ठूलो दलमा परिणत भएको छ। एलएफआईले आफ्नो सिट संख्या ५२ बाट ७४ मा पुर्याएको छ। एलएफआईले आफूलाई बलियो बनाउन सक्नुले पनि आरएनलाई घाटा भएको हो। फ्रान्समा रहेका वामपन्थी मतदातामध्ये धेरैजसोको मत आफूतर्फ एकत्रित गर्न एलएफआई सफल भयो। वामपन्थी गठबन्धन एलएफपीभित्रका अरू दलमध्ये सोसियोलिस्टले ५९, ग्रिनले २८ र कम्युनिस्ट पार्टीले नौ स्थानमा जितेका छन्।

दोस्रो चरणको मतदानमा वापमन्थी मत मध्यमार्गीतर्फ सहजै सरेकाले पनि दक्षिणपन्थी पछाडि परेको बताइँदैछ। निर्वाचन शोधकर्ता संस्था इप्सोसका अनुसार पहिलो चरणमा वामपन्थीलाई मत दिएका मतदाताले दोस्रो चरणमा दक्षिणपन्थी र मध्यमार्गीबीचको प्रतिस्पर्धामा मध्यमार्गीलाई साथ दिएका थिए। पहिलो चरणमा वामपन्थीलाई मत दिएका मतदातामध्ये ७२ प्रतिशतले मध्यमार्गीलाई छानेको बताइँदैछ। तीन प्रतिशत मात्र ले पेनको पार्टीतिर आकर्षित भएको आकलन छ।

फ्रान्समा बढ्दो महँगी, बिग्रिएको सार्वजनिक सेवा र आप्रवाससम्बन्धी मुद्दालाई ले पेनको पार्टीले बोक्ने प्रयास गरेको छ। फ्रान्समा दक्षिणपन्थमा विश्वास राख्ने मतदाताको संख्यामा बढोत्तरी भए पनि पेनले राष्ट्रपतीय निर्वाचनमा भने सफलता हासिल गर्न सकिरहेकी छैनन्। यसको मूल कारण पार्टीले फेर्न नसकेको ‘इमेज’ नै हो। यसपालिको निर्वाचनमा पनि उनको पार्टीले यस्ता उम्मेदवार उठाएको थियो, जसले बारम्बार यहुदीविरुद्ध नरसंहार नभएको दाबी गरेका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फ्रान्सले सुमधुर सम्बन्ध राख्नुपर्ने बताउँदै आएका छन्। निर्वाचन प्रचारका क्रममा पनि उनीहरूले आप्रवासी, अश्वेत र मुस्लिम समुदाय लक्षित टिप्पणी गरेका थिए।

‘हङ पार्लियामेन्ट’

निर्वाचन नतिजा आएपछि प्रधानमन्त्री गाब्रियल अट्टलले राजीनामा घोषणा गरेका थिए। तर उनको राजीनामा राष्ट्रपति म्याक्रोनले स्वीकार गरेका छैनन्। ३५ वर्षीय अट्टललाई म्याक्रोनले केही समयका लागि प्रधानमन्त्री पदमा रहिरहन भनेको बताइएको छ। देशको परिस्थिति ठिकठाक नरहेको र ओलम्पिक आउनै लागेकाले आफूले राजीनामा दिने अट्टलको भनाइ थियो। प्रधानमन्त्रीले राजीनामा दिँदा देश झन् अस्थिर हुने म्याक्रोनको प्रतिक्रिया थियो।

उता संसद्‌मा सबैभन्दा ठूलो पार्टी बनेको फ्रान्स अन्बोउडले आफ्ना अध्यक्ष जिन लुक मेलेन्चोनलाई प्रधानमन्त्रीका रूपमा नियुक्त गरिनुपर्ने बताइसकेको छ। पछिल्लो राष्ट्रपतीय निर्वाचनमा तेस्रो बनेका मेलेन्चोनलाई फ्रान्सेली समाज विभाजित गर्ने नेताका रूपमा हेरिन्छ।

उसो त मेलेन्चोनसँग पूरै एनएफपी गठबन्धनको समर्थन रहन्छ वा रहँदैन, टुंगो छैन। रहिहाले र मेलेन्चोनलाई राष्ट्रपति म्याक्रोनले प्रधानमन्त्री नियुक्त गरेर सरकार बनाउने बाटो खुला गरिदिए मेलेन्चोनको गठबन्धनसँग बहुमतका लागि चाहिने सांसद संख्या छैन। यस्तोमा अल्पमतको सरकार बन्न सक्छ।

फ्रान्समा राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्छन्। त्यसरी नियुक्त भएका प्रधानमन्त्रीसँग बहुमत सांसदको साथ आवश्यक रहन्छ। ताकि विपक्षीले अविश्वासको प्रस्ताव ल्याए, चिर्न सकियोस्। यस्तोमा एनएफपीले अल्पमतको सरकार बनाए उसले कम्तीमा मध्यमार्गीसँग अविश्वासको प्रस्ताव नल्याउन समझदारी गर्नुपर्ने हुन्छ।

वामपन्थी गठबन्धनले प्रधानमन्त्री को बन्ने भन्ने औपचारिक निर्णय गरिनसकेको बताएको छ। यद्यपि आफूहरूले अर्को साता प्रधानमन्त्रीको नाम प्रस्ताव गर्ने वामपन्थी नेताहरूको भनाइ छ। वामपन्थी गठबन्धनभित्र मेलेन्चोनलाई प्रधानमन्त्री बनाउन नहुने धार बलियो रहेको फाइनान्सियल टाइम्सले लेखेको छ।

म्याक्रोनको गठबन्धनले सरकार निर्माणका लागि हरेक पार्टीसँगको सहकार्य स्वीकार्य रहेको बताइरहेको छ। यद्यपि यो गठबन्धन मेलेन्चोनको हकमा भने सहकार्य गर्न तयार छैन। उसो त आफ्नै पार्टीभित्र पनि मेलेन्चोनका विरोधी छन्।

विश्लेषकहरू के पनि दाबी गरिरहेका छन् भने राष्ट्रपति म्याक्रोन आफ्नो गठबन्धनले वामपन्थी गठबन्धनभित्रको मेलेन्चोन नेतृत्वको एलएफआईबाहेकका तीन दल (सोसलिस्ट, ग्रिन र कम्युनिस्ट पार्टी) समेटेर सरकार बनाओस् भन्ने चाहन्छन्। तर के ती तीन दल एलएफआईसँग सम्बन्ध तोड्न चाहलान्? यसको जवाफ दिन मुस्किल छ।

फ्रान्समा कुनै दल वा गठबन्धनले सरकार बनाउन नसके राष्ट्रपतिले राजनीतिबाहिरका कसैलाई प्रधानमन्त्री नियुक्त गर्न सक्छन्। यसरी बनेको सरकारसँग नयाँ निर्वाचन गराउने म्यान्डेट हुनेछ। यस्तो सरकार बन्दा फ्रान्स झन् संकटमा फस्ने विश्लेषकहरूको भनाइ छ। त्यसबेला निर्धारित समयभन्दा अगाडि निर्वाचन गराउन म्याक्रोसामु राजीनामाबाहेकको विकल्प हुनेछैन। म्याक्रोनको पदावधि सन् २०२७ मा सकिँदैछ। उनी दुई पटक राष्ट्रपतिमा निर्वाचित भइसकेकाले अर्को निर्वाचनमा उठ्न पाउने छैनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 9 =