सरकारले नै दिँदैन विपद्‌को सूचना

रमेश भारती २३ असार २०८१ १५:०६
82
SHARES
सरकारले नै दिँदैन विपद्‌को सूचना रवि लामिछाने

काठमाडौँ- सरकारी गैरजिम्मेवारीका कारण बाढीपहिरोबाट भएको क्षतिको विवरण पाउन सर्वसाधारण वञ्चित भएका छन्। सरकारले शनिबार भएको बाढीपहिरोबाट  कति क्षति भयो भन्ने विवरण उपलब्ध गराउन नसकेको हो।

सञ्चारमाध्यममा प्रकाशित समाचारअनुसार शनिबार बाढीपहिरोबाट यस वर्षकै सबैभन्दा धेरै जनधनको क्षति भएको छ। उपत्यकासहित देशभरको जनजीवन अस्तव्यस्त भयो। मुख्य राजमार्ग अवरुद्ध भए। पहाडी क्षेत्रमा पहिरोमा परी जनधनको क्षति भयो भने सहरी क्षेत्रका डुबानमा परे। कतिपय परिवार विस्थापित भए।

गृह मन्त्रालयले राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सूचना र व्यवस्थापनको जिम्मेवारी दिएको थियो। मनुसन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८१ मा विपद्का क्रममा सूचना संकलन, व्यवस्थापन, विश्लेषण र प्रवाहलाई व्यवस्थित बनाउने जिम्मेवारी प्राधिकरणलाई तोकिएको छ।

जेठ २३ गते संसद् बैठकमा सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले विपत् जोखिमका लागि सरकारले पूर्वतयारी गरेको लामै विवरण सुनाएका थिए। राहत, क्षतिपूर्ति, जोखिमयुक्त ठाउँमा टोली परिचालन गरिएको जानकारी पनि उनले बैठकमा सुनाएका थिए। गृहमन्त्रीले सूचना आदानप्रदान गर्न ११४९ नम्बरको टोल फ्री नम्बर २४ सै घण्टा खुला रहने बताएका थिए।

गृहमन्त्री लामिछानेले यस्तो दाबी गरे पनि प्राधिकरणले  कार्यान्वयन गर्न सकेन।  गृह मन्त्रालयको विपत् व्यवस्थापन तथा द्वन्द्व व्यवस्थापन महाशाखा सहसचिवको नेतृत्वमा गठित मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमान्ड पोस्टको भूमिका पनि प्रभावकारी देखिएन। यसैगरी ११४९ को नम्बरमा सूचना माग गर्दा त्यहाँका कर्मचारीले सशस्त्र प्रहरी बलको सहप्रवक्ताको नम्बर दिएर उतैबाट जानकारी लिन आग्रह गरे।

प्राधिकरणले पनि शनिबार विपद्का घटनाबारे नियमित अद्यावधिक नगरी मौसमी विवरण मात्रै सार्वजनिक गरेको थियो। शनिबार दिउँसो प्राधिकरणकाउपसचिव एवम् प्रवक्ता र सूचना अधिकारी डिजन भट्टराईसँग विपद्का घटनाबारे अद्यावधिक विवरण माग गर्दा साँझसम्म अपडेट हुने बताएर पन्छिएका थिए।

भट्टराईले त्यसो भने पनि प्राधिकरणको वेबसाइट र फेसबुक पेजमा राति १० बजेसम्म कुनै विवरण प्रकाशित भएको थिएन। प्राधिकरणको फेसबुक पेजमा राति १० बजेपछि मौसमी विवरणसहित सेचत रहन आग्रह गरिएको जल तथा मौसम विज्ञान विभागको सूचना पोस्ट गरिएको छ। प्राधिकरणले विपद्, बाढीपहिरो र अन्य विपद्‌बाट भएको क्षतिपूर्तिको दैनिक बुलेटिन सार्वजनिक गर्दै आएको थियो। तर शनिबार बुलेटिन पनि सार्वजनिक गर्न सकेन।

प्राधिकरणका सहसचिव वसन्त अधिकारीले तथ्यांक संकलन र सार्वजनिक बिदा भएका कारण बुलेटिन सार्वजनिक गर्न नसकिएको बताए। उनले भने, ‘दिनमा बाढीपहिरोको तथ्यांक संकलन गर्ने काम भयो र अन्तिममा प्राविधिक समस्याका कारण बुलेटिन सार्वजनिक गर्न सकिएन।’

प्राधिकरण यसरी गैरजिम्मेवार हुन मिल्छ भन्ने प्रश्नमा उनले ‘बिदा र प्रविधिक समस्याका कारण नसकिएको’ भन्दै तर्किए। प्राधिकरणले आइतबार १ बजेसम्म शनिबार बाढीपहिरोका कारण भएको जनधन र क्षतिको विवरण सार्वजनिक गरेको छैन।

गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले शनिबार सार्वजनिक बिदा भए पनि आवश्यकताअनुसार काम गर्न मन्त्रालयअन्तर्गतका सम्बन्धित निकायलाई निर्देशन दिएको बताए। उनले भने, ‘शनिबार दिनभर प्रहरी र गृह प्रशासनले बाढीपहिरो केन्द्रित भएर काम गरेका थिए। राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विवरण सार्वजनिक नगरेको विषयमा सोधीखोजी गर्नेछौँ।’

प्रकाशित: २३ असार २०८१ १५:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 2 =