पदबाट राजीनामा दिन प्रधानमन्त्रीलाई संसद्‌बाटै दबाब

हिमाल प्रेस २३ असार २०८१ १३:४८
54
SHARES
पदबाट राजीनामा दिन प्रधानमन्त्रीलाई संसद्‌बाटै दबाब फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सांसदहरूले वर्तमान सरकार अल्पमतमा परेकाले राजीनामा दिएर मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन्।

यही असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार गठनको सहमति भई एमालेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको सन्दर्भमा दाहाल नेतृत्वको सरकारले दीर्घकालीन प्रभाव पार्ने कुनै पनि निर्णय गर्न नहुनेमा दुवै दलले जोड दिएका छन्।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले वर्तमान सरकारले  नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए। एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बहुमत गुमाएको अहिलेको सरकार पदमा रहनु अशोभनीय भएको टिप्पणी गर्दै राजीनामा दिएर नयाँ  सरकार गठनका निम्ति मार्गप्रशस्त गर्न आग्रह गरे।

सोही दलका सांसद रघुजी पन्तले बहुमत गुमाएका प्रधानमन्त्री दाहालको राजीनामा माग गरे। सांसदहरू बलमपाकी मगर, मैना कार्की र मेनकाकुमारी पोखरेलले अल्पमतमा परेको सरकारले तत्काल राजीनामा दिनुपर्ने बताए। उनीहरूले अब बन्ने सरकारलाई काम गर्न वातावरण सृजना गर्नुपर्ने धारणा व्यक्त गरे।

सत्ताको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले भने विश्वासको मतको प्रस्ताव प्रस्तुत भएर असफल भएपछि प्रधानमन्त्री एक मिनेट पनि पदमा नबस्ने र संविधानअनुसार सरकार अघि बढ्ने स्पष्ट पारे। एमाले आजदेखि संसद्‌मा प्रतिपक्षी बेन्चमा बसेको छ।

असार १७ गते एमालेले नेपाली कांग्रेससँग सत्ता गठबन्धन गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेको थियो। एमालेले यसअघि नै सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरूलाई पनि फिर्ता बोलाइसकेको छ। कांग्रेस संसदीय दलले पनि एमालेको नेतृत्वमा सरकार गठन पहल गर्ने निर्णय गरिसकेको छ। एमालेले पनि कांग्रेसको उक्त निर्णयको स्वागत गरिसकेको छ।

प्रकाशित: २३ असार २०८१ १३:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 3 =