संविधानको धारा ७६ (२) बमोजिम ओली प्रधानमन्त्री बन्छन् : कांग्रेस संसदीय दल

हिमाल प्रेस २२ असार २०८१ १७:५२
76
SHARES
संविधानको धारा ७६ (२) बमोजिम ओली प्रधानमन्त्री बन्छन् : कांग्रेस संसदीय दल संसदीय दलको बैठकको निर्णय सुनाउँदै कांग्रेसका प्रमुख सचेतक रमेश लेखक।

काठमाडौँ– नेपाली कांग्रेसले एमालेसंग भएको सहमतिअनुसार संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार बन्ने दाबी गरेको छ। संसद् भवन नयाँबानेश्वरमा शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले दुई दलबीच भएको सहमतिअनुसार अब बन्ने सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने र त्यस्तो सरकार संविधानको धारा ७६ (२) बमोजिम गठन हुने दाबी गरेको हो।

कांग्रेस मुख्य सचेतक रमेश लेखकले बैठकले एमालेसँग भएको सहमति कार्यान्वयनमा दृढ रहेको निष्कर्ष निकालेको जानकारी दिए। त्यस्तै प्रधानमन्त्रीले २८ गते विश्वासको मत लिने पत्र संसद् सचिवालयमा दर्ता गरेको अवस्थामा उक्त प्रस्तावको विपक्षमा उभिने निर्णय भएको उनले बताए। बैठकले कांग्रेस-एमालेबीच भएको राष्ट्रिय सहमतिय सरकार गठन गर्ने सहमतिको समर्थन गर्दै स्वागत गर्ने निर्णय गरेको छ।

लेखकले राष्ट्रिय हितको रक्षा, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्ने, शिथिल अर्थतन्त्रलाई क्रियाशील गर्ने, संविधान कार्यान्वयनका सवालमा देखिएका सबल र कमजोर पक्षको समीक्षा गरेर संविधानको आवश्यक संशोधन गर्ने सवालमा नयाँ सरकार दृढतापूर्वक लाग्ने विश्वास व्यक्त गरे।

धारा ७६ (२) मा प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ भन्ने प्रावधान छ।

एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको मसर्थन फिर्ता लिएको छ भने सरकारमा सहभागी एमालेका मन्त्रीले पनि राजीनामा दिइसकेका छन्। त्यसैले प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेका छन्। अल्पमतमा परे पनि प्रधानमन्त्रीले संसद्मा विश्वासको मतका लागि प्रयास गर्ने भएका छन्।

प्रकाशित: २२ असार २०८१ १७:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =