खाली पैतालाका कारण पाएको तत्त्वज्ञान

हरिकुमार श्रेष्ठ २२ असार २०८१ १०:३७
232
SHARES
खाली पैतालाका कारण पाएको तत्त्वज्ञान

मलाई नयाँ वर्ष खास विशेष लाग्दैन। प्रत्येक दिन जस्तै हो- नयाँ वर्ष पनि। सधैँ उदाउने घामको पहिलो किरणसँग नयाँ वर्ष आउँछ। भित्तामा पुरानो क्यालेन्डरको सट्टा नयाँ क्यालेन्डर झुन्डिन्छ। सामाजिक सञ्जालमार्फत यान्त्रिक रूपमा नयाँ वर्षको शुभकामना आदानप्रदान हुन्छ। बस त्यति नै हो। तर यसपालिको नयाँ वर्ष मेरा लागि खास विशेष हुन पुग्यो।

अघिल्लो वर्ष बिदामा बाहिरफेर निस्कने खासै साइत जुरेको थिएन। घरमा नै सुस्ताएर दिन बिताएका थियौँ। यसपालिको नयाँ वर्षले नचिताएको साइत जुरायो। नयाँ वर्षको पूर्वसन्ध्यामा रामकुमार थापा भाइ (हाम्रा वीरगति प्राप्त भाइ सूर्यको स्कुल पढ्दादेखिको आत्मीय साथी) को फोन आयो। उनी वीरगन्जस्थित सरकारी वकिल कार्यालयमा हाकिम थिए।

नयाँ वर्षको शुभकामना आदानप्रदानपछि उनले भने, ‘दाइभाउजू कति नियास्रिएर घरै बस्ने? तपाईँहरूको दिल बहलाउन केही दिनका लागि बाहिरफेर घुमाउन लैजान्छु, हुन्न?’

उनको त्यो प्रस्तावले मभन्दा मेरी श्रीमती उज्यालिइन्। संयोगवस, राम भाइ  त्यतिखेर एउटा तालिमको सिलसिलामा काठमाडौँमै रहेछन्। नयाँ वर्षको पूर्वसन्ध्यामा तालिम सकेर उनी भोलिपल्ट वीरगन्ज जाँदै रहेछन्। उनले आफ्नै मोटरमा हामीलाई लिएर जाने भए।

नयाँ वर्ष २०८१ को शुभ साइतमा घुमघामका लागि हामी घरबाट निस्क्यौँ। वीरगन्ज पुग्ने छोटो मार्ग टीकाभैरव-दक्षिणकाली हुँदै जाने कान्ति राजपथ मर्मतसम्भारका लागि महिना दिनदेखि प्रत्येक दिन बिहान १० बजेदेखि ५ बजेसम्म बन्द गरिएको थियो। त्यो रुटबाट चल्ने टाटा सुमो मातातीर्थको वैकल्पिक बाटो पाहिल्याउँदै उकालो यात्रा गर्दै थिए। हामीले पनि त्यही बाटो पछ्यायौँ।

मातातीर्थदेखि साँघुरो उकालो बाटोमा धेरै घुम्ती र मोड रहेछन्। एकदुई ठाउँमा हाम्रो गाडीलाई ठाडो उकालो उक्लिन कठिन भए पनि चालकले उकालो बाटो सुरक्षित रूपमा छिचोली देउरालीमा गाडी बिसाएपछि हामीले लामो सास फेऱ्यौँ। देउरालीबाट उत्तरतर्फ हेर्दा काठमाडौँ खाल्डो बाक्लो तुँवालोभित्र गुम्सिरहेको थियो। देउराली नजिकैको वनमा लालीगुराँस ढकमक्कै फुलेको देखिन्थ्यो। त्यो मनमोहक दृश्य र त्यहाँको स्वच्छ चिसो हावा फोक्सोमा पुगेपछि हामीले बेग्लै पुनतार्जगी अनुभव गऱ्यौँ।

देउरालीमा तातो चिया खाएपछि हाम्रो ओरालो यात्रा सुरु भयो। त्यहाँबाट कुलेखानी- इन्द्रसरोवर पुग्ने सडक साँघुरो भए पनि कालोपत्रे भएकाले यात्रा गर्न सहज भयो। केहीछिन ओरालो लागेपछि बाटैमा ऐतिहासिक चिसापानी गढी भेटियो। गढी मर्मतसम्भारा लागि बन्द रहेकाले भित्र छिर्न भने पाइएन। मूलद्वारको बाहिर एक कुनाबाट ऐतिहासिक काली तोपको फोटो खिचेर सन्तोष गऱ्यौँ। अंग्रेजसँगको लडाइँमा राजधानी काठमाडौँ जोगाउन चिसापानी गढीको सामरिक महत्त्व थियो।

राणाकालमा भीमफेदीको बाटो हुँदै राजधानी प्रवेशका लागि चिसापानी प्रमुख प्रवेशद्वार थियो। त्यहाँ गढी, गोस्वारा, हुलाक, अतिथिगृहजस्ता महत्त्वपूर्ण सरकारी निकायको उपस्थिति थियो। काठमाडौँ प्रवेश गर्न त्यहाँस्थित गोस्वारा अड्डाबाट राहदानी लिन अनिवार्य थियो। राणा शासकहरूले प्रयोग गर्ने आयातित मोटर पनि भरियाहरूले त्यही बाटो बोकेर  थानकोटसम्म ल्याउँथे। अहिले ती सबै दन्त्यकथाजस्तो लाग्छ।

चिसापानीबाट केहीबेर ओरालो यात्रापछि कुलेखानी जलविद्युत् आयोजनाको इन्द्रसरोवर बाँध आइपुग्यो। सुख्खा मौसममा विद्युत् उत्पादनका कारण जलाशयमा पानीको मात्रा निकै घटेको थियो। नेपालमा जलाशययुक्त विद्युत् परियोजनाको औचित्य कुलेखानी आयोजनाले राम्ररी पुष्टि गर्दछ। त्यहाँबाट उत्पादित बिजुलीले राजधानीको लोडसेडिङ कम गर्न धेरै मद्दत गरेको तथ्य त्यस परियोजनाको तीव्र आलोचना गर्नेहरूले अहिले थाहा पाउँदैछन्। मुलुकको दीर्घकालीन विद्युत्‌को माग आपूर्ति गर्न जलाशययुक्त बूढीगण्डकी आयोजना शुरु गर्न ढिला भैसकेको तथ्य सरकार र सरोकारवाला दुवैको चेत कहिले खुल्ने हो ?  त्यसो त, समय घर्केपछि चेत खुल्ने त हाम्रो संस्कार नै हो।

कुलेखानीमा माछा खान र किन्न भने लागिएन। ‘भ्यात्त भुँडी भएका यहाँको तालको माछामा केही स्वाद हुन्न, बरु वीरगन्जमा दाइभाउजुलाई ताजा रहु माछाको परिकार ख्वाउँला’, त्यो बाटो आउजाउ गरेर अनुभवी भइसेकाले रामकुमार भाइको कुरा हामीलाई ठिकै लाग्यो। हाम्रो यात्रा कहीँ नबिसाई अघि बढ्यो।

त्यसपछि अलिबेरको यात्रा ग्रामीण परिवेश भएर गुज्रियो। जस्ताले छाएका घर, भिराला बारी, कान्ला, बाटामा बाख्राको लर्को अनि स्थानीय उत्पादित वस्तु लिएर सडकछेउमा बेच्न बसेका महिला-पुरुष। त्यहाँ प्लास्टिकको झोलाझोलामा कोइरालोको सेतो फुल बेच्न राखेको मैले टाढैबाट देखेँ। मेरो आँत रसाइहाल्यो। रामकुमार भाइको दृष्टिचाँहि राताम्मे फिँजारिएको लोकल गाजरमा थियो। हामीले एक झोला कोइरालो र दुई झोला गाजर किन्यौँ। कोइरालोको झोला समात्दै उनले ठट्टा गर्दै भने – ‘यो कोइरालोलाई अर्को कोइरालाले आज साँझ ठेगान लाउने भयो।’ मैले अर्थ बुझिनँ। उनले सस्पेन्समा राख्दै भने- ‘वीरगन्ज पुगेपछि थाहा भइहाल्छ नि दाइ।’

भीमफेदी पुगेपछि मोटर समथर बाटोबाट दौडिन थाल्यो। सबै वस्तुको आआफ्नो समय हुँदो रहेछ भन्ने ज्वलन्त उदाहरण भीमफेदीलाई लिन सकिन्छ। इतिहासको कुनै खालखण्डमा असाध्यै गुलजार भीमफेदी बजार अहिले बुढ्यौलीले झोक्राएर बसेको देखिन्छ। न रूप रंग, न कुनै जोसजाँगर, आफ्नै इतिहासले गिज्याएर बसेको छ – भग्नावशेष जस्तो लाग्ने यो सुनसान भीमफेदी बजार।

त्यसपछि आउने भैँसे दोभानको हालत पनि त्यस्तै थियो। एउटा बेलिब्रिजको भरमा आफ्नो अस्तित्व जोगाइरहेको त्यो दोभान कुन बेला बाढीले बगाउला भनेर तर्सिएर बसेको जस्तो देखिन्थ्यो। बरु त्यहाँको खोला किनारको हरियालीमा तैबिसेक केही जीवन भएको अनुभूति हुन्थ्यो। नयाँ वर्षको बिदामा हेटौँडाको गर्मी छल्न त्यहाँ हुलकाहुल मान्छे पिकनिकमा रमाइरहेका दृश्यले त्यस्तो आभास हुन्थ्यो ।

हामी ती रमाइला दृश्य हेर्दै हेटौँडा बजार पस्यौँ। म धेरै वर्ष पहिला पुगेको हेटौँडा र अहिले आनकातान फरक रहेछ। पूर्वपश्चिम राजमार्गले बीचमा चिरेर जाने हेटौँडा बजारको मुख्य सडकको दायाँबायाँ झपक्क परेका अशोकका बोटले राजमार्ग मनमोहक बनाएको थियो। सडक पेटी, चोक पनि चिटिक्क सफा सुघर- बागमती प्रदेशको राजधानी भन्न सुहाउने।

हेटौँडा बजार छाडेर हाम्रो गाडी पूर्वपश्चिम राजमार्गको  पथलैया खण्डतर्फ रफ्तारमा कुद्‌न थाल्यो। चुरेको घाँटी कट्ने बेलामा राजमार्गछेउमा निर्मित चुरिया माईको दर्शन गरेपछि हामी कतै नरोकिई अगाडि बढ्यौँ। अमलेखगन्ज नाघेपछि राजमार्ग छेउछाउमा हेर्न लायक त्यस्तो केही थिएन। राजमार्गको दुवैतिरको चारकोसे झाडी धेरैजसो ठुटामा परिणत भएको देखिन्थ्यो। बस त्यत्ति नै हो।

पथलैया पुग्ने बेलामा केही किलोमिटरको दुरीमा लस्करै तीनवटा पुल भेटिए। राजमार्गको ती पुलको नाम खोलाको नामअनुसार भए पनि स्थानीयले सजिलोका लागि पुल नं १, २, ३ भन्दा रहेछन्। बिदाको दिन वीरगन्जको गर्मी छल्न कर्मचारी र स्थानीय बासिन्दा ती पुल वरिपरि शीतल छहारी खोज्दै पिकनिक आउँदा रहेछन्। रामकुमार भाइले आफ्नो अनुभव सुनाउँदै भनेका थिए।

अन्तिमको पुल नं १ नाघेको केहीबेरमा त हामी पथलैया पुगिहाल्यौँ। त्यहाँबाट पूर्व जाने ढल्केबर छाडेर हामी दक्षिण वीरगन्जतिर सोझियौँ। वीरगन्जको प्रमुख औद्योगिक स्थल परवानीपुर, जितपुर, श्रीपुर छिचोलेपछि हामी वीरगन्ज सहर प्रवेश गऱ्यौँ। काठमाडौँबाट बिहान १० बजे हिँडेको दिउँसोको ४ बजे त हामी सुबिस्तासँग वीरगन्ज पुगिसकेका थियौँ।

***

हामी धेरैलाई सामान्य लाग्ने  काठामाडौँदेखि वीरगन्जसम्मको यात्रालाई यति लामो बखान किन गर्न परेको होला भन्ने लाग्नु स्वाभाविक छ। तर भीमफेदी, हेटौँडा, वीरगन्जको नाम प्रायः सुन्ने गरेको भए तापनि त्यो बाटो अहिलेसम्म नहिँडेकी मेरी श्रीमतीलाई त्यो यात्रा विशेष लाग्ने नै भयो। त्यसो त  हेटौँडा, वीरगन्ज म धेरै पहिले गएको थिएँ तर कुलेखानीको बाटो मेरो लागि पनि नयाँ भएकोले यो यात्रा सम्झनालायक रह्यो।

पहिलोपल्ट वीरगन्ज जाँदा त्यहाँको घन्टाघर र नेपाल-भारत सीमास्थित शंकराचार्यद्वारबाहेक सम्झना गर्नलायक अरू केही देखेको थिइनँ। त्यहाँको अव्यवस्थित बजार, फोहोर, धुलो अनि मान्छेको भीडभाड र कोलाहलचाँहि सम्झनाको अन्तरकुन्तरमा अझै बाँकी थियो। अहिले वीरगन्ज सहर धेरै व्यवस्थित भएछ। मुख्य बजार चोकमा झिलिमिली बत्ती, फराकिला बाटाघाटा, सडकपेटी पनि सफा – वीरगन्ज बल्ल सहर भन्नलायक भएछ।

वीरगन्जको घण्टाघर क्षेत्र। फाइल तस्बिर

वीरगन्जको मुख्य व्यापारिक केन्द्र आदर्शनगर हुँदै शंकराचार्य सीमाद्वारसम्मको चौडा सडकलाई सौर्य ऊर्जाको बत्तीले शोभायमान बनाएको थियो। सहरको केन्द्रमा रहेको घडीओर्वा पोखरी साँझको रंगीचंगी झिलीमिली बत्तीले छठपर्वको झलक दिने गरी धपक्क बलेको थियो। संयोगले चैती छठ ( चैते दसैँ जस्तै) पनि नयाँ वर्षकै दिन परेको थियो।

बजार घुमघाम गरी क्वार्टरमा फर्कँदा रातको ९ बजेको थियो तर हामीलाई यात्राको थकानको अनुभव भएको थिएन। घरमा आउँदा डिनर तयार थियो। डिनरको मुख्य मेनु – ताजा रहु माछाको परिकार र कोइरालोको अचार थियो। डिनर तयार गर्ने व्यक्ति थिए- रामकुमार भाइका स्टाफ उदयपुर घर भएका भुवन कोइराला। बल्ल कोइरालो किन्दा राम भाइले भनेको वाक्यको अर्थ खुल्यो। हामी रमाइलो गरी हास्यौँ। मैले कोइरालोको अचार थपीथपी खाएँ। धेरै वर्षपछि जिब्रोले त्यसको स्वाद पाएको थियो।

खाना खाइवरी सुत्दा रात छिप्पिइसकेको थियो। हामीले सोचेजस्तो वीरगन्जमा गर्मी चढिसकेको थिएन। त्यसैले सुत्न खासै समस्या भएन। त्यसमाथि गेस्टरुममा एयर कुलरको व्यवस्था थियो। हामी पंखाकै भरमा सुत्यौँ। त्यसको आवश्यकता परेन तर लामखुट्टेले भने हैरान पाऱ्यो।

भोलिपल्ट बिहान नहाईधुवाई गरी ब्रेकफास्ट लिन बस्दा उनै स्टाफ भुवन भाइले अलि मलिन स्वरमा भने, ‘सरको अर्को जुत्ता छैन?’ उनको प्रश्नले मलाई किञ्चित अचम्भित बनायो। जागिरबाट विश्राम लिएदेखि बाहिरफेर घुम्न निस्कँदा मैले सधैँ उन्ने गरेको हल्का स्पोर्टस् जुत्ताबाहेक अर्को जोर जुत्ता बोकेर हिँडेको अनुभव छैन। त्यसको खासै जरुरत पनि परेको थिएन। यसपालि उनले अर्को जुत्ता किन खोजे होलान्? मैले ठम्याउन सकिनँ।

‘म त पार्टीसार्टीमा जाँदा पनि त्यही लाएकै जुत्ताको भरमा काम चलाउने हो, भाइ’, मैले उनलाई सम्झाएँ। ‘सरले बाहिर खोलेको एउटा जुत्ता राति कुकुरले उठाएर कहाँ लगेछ, लगेछ – बिहान सबेरैदेखि घर वरिपरि सबतिर धुइँधुइँती खोज्दा पनि कतै फेला पार्न सकिनँ’, उनले अँध्यारो मुख लाएर भने।

हिजो राति बजार घुमेर घर फर्कँदा हामी बूढाबूढीले आफ्नो जुत्ता क्वार्टरको भुइँतलाको बरान्डामा खोलेका थियौँ। राम भाइ र भुवनले पनि जुत्ता त्यहीँ फुकालेर राख्ने गर्दा रहेछन् । ‘त्यो त एकदम राम्रो बानी हो – जुत्ता सकभर कोठाभित्र नहुलेकै राम्रो’, मैले भनेको पनि थिएँ। हामी पाहुना र घरेभेटीका जुत्ता त्यहाँ लस्करै मिलेर बसेका थिए तर राति कुन सड्को घरको कम्पाउन्डको सानो ढोकाको चेपबाट कुकुर पसेर लाइनमा सजिएका जुत्ताको हुलबाट मेरो एउटा जुत्ता खुसुक्क उठाएर टाप कसेछ।

बिहान उठ्दा त एकाएक म नांगो खुट्टामा भएँ। कुकुरले मेरै जुत्ता उठाउनुपर्ने के कारण परेछ भनेर एकछिन घोरिएँ पनि। त्यो मैले सपनामा पनि नसोचेको घटना थियो।  न मैले कहिल्यै देखेको, न कहिल्यै भेटेको कहाँको कुकुरले किन मेरै जुत्ता उठाएर लानुपऱ्यो भन्ने प्रश्नले मलाई एक छिन सताइरह्यो। खाली पैताला छामेर एकछिन म गम्भीर भएँ। त्यसरी घोरिँदै गर्दा मलाई कवि भूपी शेरचनको कविताको प्रसिद्ध हरफको  याद आयो :

‘हामी दौडमा प्रथम हुन्छौँ

हाम्रो छातीले तक्मा थाप्छ

हाम्रो निधारले टीका थाप्छ

हाम्रो गलाले माला लाउँछ।

हामी त केवल पैताला मात्र हौँ

फगत पैताला।’

विडम्बना, अहिले  त्यही पैताला पनि जुत्ताविहीन हुन पुगेको थियो। मेरो मन अमिलो भएर आयो। म निन्याउरो लागेको देखेर उनै भुवन भाइले भने, ‘जुत्ता हरायो भनेर सरले दुखमनाउ नगर्नु होला। त्यो त शुभ संकेत पनि हुन सक्छ। कुकुरले सरको जुत्ता टिपेर लानुको मतलब नयाँ वर्षमा विघ्नबाधा, व्यवधान, अनिष्ट आदि दुर हुने संकेत हो। उनले त्यसो भनेपछि जुत्ता हराउँदाको पीडा मैले  तत्काल बिर्सेँ।

त्यस बिहान हवाई चप्पलको भरमा क्वार्टरमा बित्यो। तराईको मन्दमन्द गर्मिलो हावा खान पाइएन किनभने चप्पलको भरमा मर्निङवाकमा निस्कन मन लागेन। जुत्ताबिना हिँड्ने बानी  पनि थिएन। बिहान सबेरै जुत्ता किन्न कहाँ पसल खुलोस्? त्यसमाथि गर्मीको समयमा सबेरै उज्यालो भए पनि वीरगन्ज सहर बिहान ढिलोसम्म सुतिरहन्थ्यो। दूध, दही, चिया, मिठाई, फलफूलबाहेक अरू पसल खुल्ने सुरसार थिएन। सीमापारि रक्सौलमा चहलपहल बढिसक्दा पनि वीरगन्जको मुख्य बजार भने सुनसान थियो। आर्थिक मन्दीले गर्दा बजार सुस्ताएको भन्थे।

त्यही आर्थिक मन्दीको बीचमा आफूलाई भने एकजोर नयाँ जुत्ता नकिनी भएको थिएन। त्यसमाथि खुट्टा पनि कति सौखिन भइसकेको थियो भने – स्केचर्स ब्रान्डको हलुंगो जुत्ताबाहेक अरू जुत्ता खुट्टामा छिर्थेन। मेरो त्यस दिनको मुख्य एजेन्डा हवाई चप्पल पट्काउँदै वीरगन्जको पसल चाहारेर एकजोर जुत्ता किन्नु थियो। जीवनमा त्यति ससाना कुराले पनि कति महत्त्व राख्दारहेछ भन्ने मैले त्यतिबेलै बुझेँ।

हामी दिनभर क्वार्टरमै सुस्तायौँ। दिउँसोको गर्मीमा बाहिर जाने त्यति मन पनि भएन। घाम ढल्कन लागेपछि नजिकैको भाटभटेनी स्टोर्समा गयौँ। त्यस दिन आइतबार मधेश प्रदेशमा बिदा भएकाले भाटभटेनीमा आइमाई केटाकेटीको भीडभाड रहेछ। सामान किन्ने भन्दा बिजुलीको भऱ्याङ – एक्सेलेटरमा तलमाथि गर्नेको जमात बढी देखिन्थ्यो। कति आइमाई, केटाकेटी बिजुली भऱ्याङमा पाइला राख्न नजानेर अल्मलिरहेका थिए भने कतिचाहिँ पहिलोपल्ट पाइला राख्दा  डराएर ठूलो स्वरमा कराइरहेका थिए। त्यस्तो दृश्य काठमाडौँको विशालबजारमा धेरै पहिले देखिन्थ्यो। अहिले वीरगन्जमा देखियो।

बिजुली भऱ्याङमा मान्छेको भीडभाड छिचोल्दै हामी सीधै जुत्ता भएको तलातिर सोझियौँ। त्यहाँ स्केचर्स, फिला, पुमा, नाइकी, एडिडास जस्ता अन्तर्राष्ट्रिय ब्रान्ड तथा सुपथ मूल्यका चिनियाँ जुत्ता भरिभराउ थिए। आफूलाई खुट्टामा मिल्ने एक जोर जुत्ता जसरी पनि किन्नु थियो – ब्रान्ड वा ननब्रान्डसित  मतलब थिएन। मुख्य समस्या साइजको थियो – आफ्नो खुट्टाको साइजको जुत्ता फेला पार्न मुस्किल। तै स्केचर्स कम्पनीको सेक्सनमा एउटा मिल्ने जुत्ता भेटियो। सक्कली,नक्कली जस्तोसुकै होस् – आखिर जुत्ता भनेको जुत्ता नै हो, खुट्टामा मिल्ने भेट्टाउनु नै ठूलो कुरा थियो।

मलाई जसरी पनि एकजोर जुत्ता किन्नु नै थियो। त्यसमाथि त्यहाँ काम गर्ने भर्खरकी सेल्स गर्लले मनै जित्ने गरेर भनिन्- ‘बुवा लाएर त हेर्नुस्, कति आरामदायी छ यो जुत्ता। स्केचर्स कम्पनीको चीनमा बनेको सक्कली जुत्ता हो।’ श्रीपुरतिरकी ती केटीले जुत्ताको राम्रै मार्केटिङ गरिन्। नगरेको भए पनि एकजोर जुत्ता जसरी पनि मैले किन्नैपर्थ्यो। जुत्ताको मूल्य गतिलै थियो, कथंम् कदाचित अगतिलो माल परेछ भने पनि चित्त बुझाउने मनस्थितिमा थिएँ। जुत्ता किनेर घर फर्कँदा खुट्टामा अर्कै स्फुर्ति आएको थियो। जुत्ता र खुट्टाको सम्बन्ध नङ र मासुजस्तो हुँदो रहेछ भन्ने कुरा मैले  जुत्ता हराएपछि थाहा पाएँ।

घडीओर्वा पोखरी।

त्यही नयाँ जुत्ता उनेर आदर्शनगरको गल्लीगल्ली छापा मारिएन कि वीरगन्ज बजारको मुटुमा रहेको घडीओर्वा पोखरीको फन्को मारिएन। साँझको बेला चहकिलो बत्तीको प्रकाशमा दुलहीजस्तै सिँगारिएको त्यो पोखरी धप्प बलेको देखिन्थ्यो।  त्यस्तै, वीरगन्जको पशुपति मन्दिरको पनि दर्शन गरियो अनि नवनिर्मित रामजानकी मन्दिर पनि घुम्न भ्याइयो। त्यतिमात्रै किन? वीरगन्जको प्रसिद्ध राज कचौरी चाटको स्वाद पनि लिन भ्याइयो अनि गर्मीका बेला ओढ्ने पातलो सुतीको च्यादर (दोहर) पनि किन्न भ्याइयो। त्यो सबै मेरो नयाँ जुत्ताको कमाल थियो। हवाई चप्पलको भरमा त्यो सबै सम्भव थिएन।

यसरी नयाँ जुत्ताको आगमनसँगै मैले नयाँ वर्षको सुरुवात गरेँ। अनि जुत्ता हराएको पीडाबाट मैले के पनि बुझे भने  ‘खुट्टा भए जुत्ता त कतिकति’ भन्ने उखान त पुरातनपन्थी दिमागको उपज रहेछ। एकपटक जुत्ता हराएपछि थाहा हुन्छ- खुट्टाले कति दु:ख पाउँदो रहेछ। खुट्टाले जुत्तालाई घोट्ने मात्र होइन रहेछ, जुत्ताले पनि खुट्टाको आवश्यकता पूर्ति गर्दो रहेछ। त्यो तत्त्वज्ञान बुझ्न एकपटक जुत्ता हराउनै पर्दो रहेछ।

नयाँ वर्षकै दिन मेरो जुत्ता हराउनु के संयोग मात्र थियो होला? अहिले सम्झेर ल्याउँदा यस्तो लाग्छ- नयाँ वर्ष भनेकै हाम्रो जीवनको पुरानो अध्याय सकेर नयाँ अध्याय सुरुवात हुनु हो जसरी मैले पुरानो जुत्ता हराएर नयाँ जुत्ताबाट नयाँ वर्षको सुरुवात गरेँ। जुत्ता त प्रतीक मात्र हो – करिमबक्सको जुत्ता जस्तो पत्रैपत्रले टालिएको जिन्दगी कति जिउनु? जिन्दगीलाई पनि त केही नयाँपन चाहियो, त्यसका लागि नयाँ ठाउँ घुम्नैपऱ्यो। अनि खाँटी कुरा – त्यसरी घुम्नका लागि लागि हलुका र गोडामा टम्म मिल्ने जुत्ता त चाहियो, चाहियो।

नयाँ वर्ष २०८१ मा खाली पैतालाको कारण मैले पाएको मोटामोटी ज्ञान यति नै हो। त्यही तत्त्वज्ञानको कारण म त भन्छु- एकजोर जुत्ता नपाएर हामीले खाली खुट्टा हिँड्न नपरोस्। एकछाक खान नपाएर भौकै बस्न नपरोस्। स्वदेशमा काम नपाएर विदेश जान नपरोस्। जन्मभूमि छाडेर अर्काको देशमा ज्यान फाल्न नपरोस्। रुखासुखा खाएर, दु:ख कष्ट झेलेर भए पनि आफ्नै माटोमा रमाउन सकियोस्। सुखदु:ख साट्न पाइयोस्। हाँसीखुसी बाँच्न पाइयोस्।

प्रकाशित: २२ असार २०८१ १०:३७

प्रतिक्रिया

2 thoughts on “खाली पैतालाका कारण पाएको तत्त्वज्ञान

  1. दाइको काठमाडौँ देखि बिरगंज यात्राको लेख राम्रो लाग्यो | सुर्य कुमार भाइको प्रसङ्ग आयो, मन अल्लि चसक्क भयो | जिन्दगी येसरिनै बितिरहेका छन्, उकाली ओरालीहरु पार गर्दै | दाई क़ा अरु अरु पनि लेखहरु पढ्ने सौभाग्य मिली रहोस् |

  2. शनिबार यत्तिको एउटा लेख पढ्न पाए मन आनन्द हुन्छ। राजनीतिको खेलबाट बाहिर आइयो जस्तो हुन्छ। पूर्व राजदूतले यत्तिको लेख्न थालेपछि अरु के गरेर बसेका हुन नि। लौ न पाउँ भटाभट पढ्न। हरि जीलाई बधाई‌, सम्पादकले गरेको प्रयासलाई सलाम।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =