ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर ३२ क्विन्टल सुन तस्करी

हिमाल प्रेस १७ असार २०८१ १३:५६
38
SHARES
ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर ३२ क्विन्टल सुन तस्करी सीआईबी

काठमाडौँ- ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा थप तथ्यहरू फेला परेको प्रहरीले जनाएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यस प्रकरणमा थप २० जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा २ जना चिनियाँ नागरिकसमेत रहेका छन्।

सीआईबी प्रमुख एआईजी श्याम ज्ञवालीले सोमबार पत्रकार सम्मेलन गरेर यस प्रकरणमा खुलेका थप तथ्यहरू सार्वजनिक गरेका हुन्। ब्रेकसूलगायतका विभिन्न सामानमा लुकाएर ल्याउने क्रममा २०८० साउन २ गते प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६० किलो सुन बरामद गरेको थियो।

सीआईबीको अनुसन्धानअनुसार यही तस्करीमा संलग्न समूहले ३१९४ किलो सुन तस्करी गरेको खुलेको छ। जसमा ब्रेकसूमा लुकाएर मात्र ३६२ किलो ७७८ ग्राम सुन तस्करी गरिएको पाइएको छ। त्यस्तै विभिन्न इलेक्ट्रोनिक सामानमा भने २ हजार ८ सय ३१ किलो ८ सय ९० ग्राम तस्करी भएको खुलेको सीआईबीको निष्कर्ष छ। यो सुन कुल ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २ सय ७२ रुपैयाँको हो। ठूलो परिमाणमा सुन तस्करी भए पनि त्यो सुन कहाँ छ भन्नेबारे भने अनुसन्धान नै भइरहेको प्रहरीको भनाइ छ।

अवैध सुनको भुक्तानी प्रक्रियामा नेपालका दुईवटा पेमेन्ट गेटवेसमेत संलग्न भएको खुल्न आएको छ। पेवेल नेपाल प्राइभेट लिमिटेड र सजिलो पेमेन्ट सर्भिस प्राइभेट लिमिटेडका खातामा बचत गरी एजेन्टमार्फत अवैध सुनको भुक्तानी भएको सीआईबी प्रमुख ज्ञवालीले जनाएका छन्।

स्थापनादेखि यी गेटवेमार्फत १ खर्ब २३ अर्बको कारोबार रहेकोमा भौचर डिपोजिट गरी ९६ अर्बबराबरको कारोबार गरेको देखिएको छ। उक्त प्रकरणमा संलग्न सञ्चालक समिति, कर्मचारी र एजेन्ट गरी ८ जना पक्राउ परेका छन्।

ब्रेकसुमा लुकाएर ल्याएको सुनको परिमाण ३६२ किलो ७७८ ग्राम रहेको देखिएको भन्दै सीआईबीले २०८० भदौ ३१ गते २९ जनाउपर अभियोगपत्र दायर गरेको थियो। उनीहरूबाट ३ अर्ब ५० करोड २ लाख १६ हजार ५ सय ५२ रुपैयाँ मागदाबी गरिएको थियो। सीआईबीले पक्राउ गरेकामध्ये २४ जना अभियुक्तहरू पुर्पक्षका लागि थुनामा गएका छन्। प्रहरीले यसप्रकरणमा थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: १७ असार २०८१ १३:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 8 =