विद्यार्थीलाई मन पराउँछु भनेपछि प्राध्यापकको हत्या, १७ वर्षपछि भारतबाट पक्राउ

हिमाल प्रेस १६ साउन २०८१ १७:१५ | Wednesday, July 31, 2024
विद्यार्थीलाई मन पराउँछु भनेपछि प्राध्यापकको हत्या, १७ वर्षपछि भारतबाट पक्राउ रञ्जन खड्का

काठमाडौँ- काठमाडौँको मीनभवनस्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापकको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले आज सार्वजनिक गरेको छ। क्याम्पसका तत्कालीन प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न रञ्जन खड्कालाई प्रहरीले १७ वर्षपछि पक्राउ गरी सार्वजनिक गरेको हो।

 २०६४ असार २६ मा ललितपुर महानगरपालिका-२२ स्थित शंखमुलमा प्राध्यापक विष्टको हत्या भएको थियो। काठमाडौँ–३२ कोटेश्वर घर भएका खड्का करिब १७ वर्ष भारतमा लुकेर बसेका थिए।

खड्का भारतको बैंगलोर र जल्पाइगुडी क्षेत्रमा लुकेर बस्ने गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए। भारतीय प्रहरीसँगको समन्वयमा खड्कालाई पक्राउ गरिएको उनको भनाइ छ।

अपराध अनुसन्धान कार्यालयबाट खटिएको इन्स्पेक्टर नेतृत्वको टिमले उनलाई जल्पाइगुडीबाट पक्राउ गरेर काठमाडौँ ल्याएको हो। फुपुको छोरा धादिङ गंगाजमुना गाउँपालिका-७ घर भएका विनोद थापाको आग्रहमा उनले प्राध्यापकको हत्या गरेको यसअघि नै पुष्टि भएको थियो। रञ्जन विनोदको मामाका छोरा भएको पनि खुलेको छ।

विनोदकी दिदी सबिता थापा अधिकारी भन्ने शोभिता थापा त्यतिबेला कमर्श क्याम्पसमा स्नातक तहमा अध्ययनरत थिइन्। प्राध्यापकले आफूलाई ‘मन पराउँछु’ भनेर पटक-पटक फोन गर्ने गरेको कुरा शोभिताले भाइलाई भनेकी थिइन्। त्यसपछि प्राध्यापकलाई कुट्ने योजना बनाएर विनोदले आफ्नो समूहलाई बोलाएका थिए। विनोदले योजना बनाएपछि  शोभिताले प्राध्यापकलाई भेट्न बोलाइन्।

शोभितालाई भेट्न शंखमुल गएका प्राध्यापकलाई रञ्जन, विनोद र भक्तपुरका राजिब पाण्डेले रड र इट्टा प्रहार गरेर हत्या गरेको प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले बताए। शोभिता-२०८० चैतमा पक्राउ परेर धरौटीमा छुटिसकेकी छन्।

विनोद पनि जेल सजाय काटेर २०७९ असोज ३ मा रिहा भइसकेका छन्।  लागूऔषध मुद्दामा झापामा पक्राउ परेपछि प्रहरीले उनलाई काठमाडौँमा ल्याएर हत्या मुद्दामा बयान गराएको थियो। ललितपुर जिल्ला अदालतले उनलाई २०७१ पुस ३० मा जन्मकैदको फैसला गरेको थियो।

अर्का प्रतिवादी भक्तपुर लोकन्थलीका राजीव पाण्डे पनि २०७६ मा डिल्लीबजार कारागारबाट रिहा भइसकेका छन्। रञ्जनको मुद्दा चाहिँ ललितपुर जिल्ला अदालतमा मुल्तवीमा  छ।

प्रकाशित: १६ साउन २०८१ १७:१५ | Wednesday, July 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast