सांकेतिक तस्बिर।
सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा निर्माणाधीन भोटेकोशी–१ जलविद्युत् आयोजनाको ढलान खसेर पुरिएका दुई मजदूरको शव फेला परेको छ। शुक्रबार राति उद्धारकार्य थालिए पनि आज बिहान ४ बजे दुवै मजदूर मृत भेटिएका हुन्।
आयोजनाको डिसेन्डर कभर स्ल्याबमा च्यापिएर ज्यान गुमाउनेमा बर्दिया नगरपालिकाका रामजिन थारू र सुमन थारू रहेका छन्।
उनीहरूको शव परीक्षणका लागि काभ्रेस्थित धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए। ढलानको संरचनाभन्दा तल्लो भागमा उनीहरू पुरिएकाले समयमै उद्धार गर्न नसकिएको उनी बताउँछन्।
उक्त दुर्घटनामा ११ जना घाइते भएका थिए। गत वर्षको साउन महिनादेखि निर्माण सुरु गरिएको भोटेकोशी–१ जलविद्युत्को सुरुङभन्दा माथि मजदुर काम गरिरहेको समयमा एक्कासि स्ल्याब भत्किएको थियो। एघार जनाको तत्काल उद्धार गरिएको थियो। उनीहरू सबै घाइते छन्। उनीहरूको बाह्रबिसेस्थित किस्टोन र बाह्रबिसे नगर अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई धुलिखेल लगिएको छ।




