नौबिसे-मलेखु सडक १५ दिनका लागि बन्द

हिमाल प्रेस २६ असार २०८१ ७:४४ | Wednesday, July 10, 2024
नौबिसे-मलेखु सडक १५ दिनका लागि बन्द

धादिङ- पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे-मलेखु सडकखण्ड १५ दिनका लागि राति बन्द गरिने भएको छ। आज (बुधबार)देखि आगामी साउन ९ गतेसम्म रातिको समयमा निर्माणको काम गर्न लागिएको हो। राति १० बजेदेखि बिहान ३ बजेसम्म राजमार्ग बन्द गरेर पुलको बिम राख्ने कार्य गर्न लागिएको नागढुंगा मुग्लिन सडक आयोजना (पूर्वी खण्ड)का सिनियर डिभिजन इन्जिनियर ईश्वरबहादुर रिजालले बताए।

नौबिसे नागढुंगा खण्डमा निर्माण हुँदै गरेको पुलको बिमलाई उचालेर पुलमा राख्नको लागिएको र त्यस बेला हुनसक्ने जोखिमलाई मध्यनजर गरेर काम गर्न लागिएको उनले जानकारी दिए। गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोलाको पुलको गडर लन्चिङ गर्न लागिएको छ। दिउँसोको समयमा गाडीको चाप बढी हुने भएकाले रातिको समयमा पाँच घण्टा सवारी आवागमन बन्द गरेर काम गर्न लागिएको इन्जिनियर रिजालले बताए।

‘पुलको आरसिसी बिम (प्रिकास्ट ब्रिज गर्डर) पुलभन्दा बाहिरको जमिनमा बनाइएको छ। त्यसलाई क्रेनले उचालेर पुलको दुवैतर्फको पिल्लरमा राख्नुपर्नेछ’, उनले भने, ‘काम नयाँ पुलमा हुने भए पनि पुरानो पुलसँगै रहेकाले काम गर्ने क्रममा आई पर्न सक्ने जोखिमलाई मध्यनजर गरी सडक सवारी रोकेर काम गर्न लागिएको हो।’

काम भइरहँदा सवारी साधन आवागमनमा बाधा पर्न जाने भएकाले सवारीको चाप नहुने समय (रातिको समय)मा काम गर्न लागिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए। मिश्रका अनुसार एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी साधनलाई पूर्णरूपमा रोकिनेछ। सम्पूर्ण चालकलाई आफ्नो लेनमा अनुशासन कायम राख्न र जथाभावी ओभरटेक नगर्न जिल्ला प्रहरी कार्यालय धादिङले सूचना जारी गरेको छ।

एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी साधन पूर्णरुपमा बन्द रहनेछ। राजमार्ग भएर यात्रा गर्ने सवारी साधनलाई वैकल्पिक मार्गको रूपमा गल्छी–विदुर–छहरे–टोखा सडक प्रयोग गर्न जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ। रासस

प्रकाशित: २६ असार २०८१ ७:४४ | Wednesday, July 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast