फाइनल पर्खिएका ‘किङ् कोहली’

हिमाल प्रेस १६ असार २०८१ ११:२६
22
SHARES
फाइनल पर्खिएका ‘किङ् कोहली’

काठमाडौँ- एक क्षणमा मुस्कुराइरहेका विराट कोहली, अर्को क्षणमा आँसुसरि बनिसकेका थिए। वास्तवमा यो किङ् कोहलीको क्षण थियो। यहाँ उनले जे सफलता पाएका छन्, उनी यसको हकदार हुन्।

टी-२० विश्वकप २०२४ को फाइनलमा दक्षिण अफ्रिाकाविरुद्ध भारतलाई जिताएसँगै कोहलीले छोटो ढाँचाको क्रिकेटबाट संन्यास घोषणा गरे। यो ढाँचाको क्रिकेटमा सम्भवतः भारतकै सबैभन्दा महान् खेलाडी कोहलीले फाइनलमा म्यान अफ द म्याच पनि दरिए।

विश्व च्याम्पियन, उपाधि भिडन्तमा निर्णायक खेलाडी र संन्यास, कोहलीका लागि यो मिठो संयोग हो।

विश्वकपमा कोहलीको सुरुवात चर्चा गरिएझैँ साह्रै खराब थिएन। हुन त सामाजिक सञ्जालले टिम छान्ने भइदिएको भए कोहलीले कहाँ फाइनल खेल्न पाउँथे र? तर भारतीय टिम व्यवस्थापन दृढ थियो, कोहलीको महत्तवलाई लिएर। सेमिफाइनल जितेपछि कप्तान रोहित शर्माले त भनेकै थिए, ‘कोहलीले सबैथोक फाइनलका लागि बचाएर राखेका छन्।’

शनिबार रातिको उपाधि भिडन्तको बीचमा जब कोहली उभिएका थिए, तब क्रिकेट विश्व अवश्य पनि कोहलीको पक्षमा थियो।

पहिलो ओभरमा कोहलीले तीन बाउन्ड्री प्रहार गरेर आफ्नो उपस्थिति जनाए। तर उनको सुरुवाती लयका बाबजुत भारतीय टिम केही धरमरायो। थोरै समयमा तीन विकेट गुमाएको भारतलाई अब कोहलीको झन् आवश्यकता पर्ने भयो।

उनले यो महसुस गरे पनि। हो, उनी करियरको उत्कर्षमा भएका बेलाको जस्तो खेलिरहेका थिएनन्। यद्यपि अनुभवी खेलाडीका रूपमा उनी प्रष्ट थिए, के गर्न आवश्यकता छ भनेर।

जब कोहली ब्याटिङ गरिरहेका थिए, उनका समर्थकको मस्तिष्कमा सन् २०१६ को त्यो विश्वकप खेल छाएको हुनुपर्छ। मोहालीको त्यो खेलमा उनले अस्ट्रेलियाविरुद्ध कस्तो खेलेका थिए, जोगजाहेर छ।

कोहलीबाट त्यही स्तरको प्रदर्शन दोहोरिने आशा जीवित थियो। सर ग्यारी सोबर्सको घरेलु मैदान केन्सिङ्टन ओभलमा आखिर कोहलीले प्रमाणित गरेरै छाडे, संघर्षमा टिकिरहे सफलता हात पर्छ नै।

‘कुनै दिन लाग्छ रन बनाउनै सकिँदैन। तर लगत्तै अर्को खेलमा आफैँ रन बन्छ। मलाई लाग्छ आज मैले टिमले दिएको जिम्मेवारी पूरा गरेँ। त्यो पनि यस्तो महत्त्वपूर्ण दिनमा। मेरा लागि अवश्य पनि गर या मरको स्थिति थियो। यो स्थितिमा आफूलाई सम्हालेर खेल्न चाहन्थेँ। जे जस्तो स्थिति छ त्यसलाई सम्मान र स्वीकार गरेर खेल्दै विश्वकप जित्ने चाहना थियो, स्थितिलाई जबरजस्ती आफ्नो पक्षमा पार्ने प्रयास गरेको होइन,’ खेलपछि कोहलीले भने।

कोहलीले आफूले टी-२० बाट संन्यास लिँदा कसैले अचम्म मान्नु नपर्ने बताए। ‘यो त ओपन सेक्रेट नै थियो,’ उनको भनाइ थियो। गत वर्ष ओडीआई विश्वकप जितेको भए कोहली सम्भवतः यसपालिको टी–२० विश्वकपमा हुँदैन थिए। तर घरेलु भूमिमा प्राप्त असफलताले कोहलीलाई धकेलिरह्यो।

विश्वकपपछि भारतीय टिममा कोहलीको स्थान कमजोर हुने आँकलन थियो। तर लगतैको इन्डियन प्रिमियर लिगमा देखाएको खेलले कोहलीमाथि उब्जिएका शंका धेरै हदसम्म निवारण भए।

भारतीय टिम व्यवस्थापनले कोहलीको स्थान सुरक्षित बनाइरह्यो। उनको भूमिका काट्ने प्रयास भएन। उनको खेल शैलीलाई सुहाउने गरि रणनीति बनाइयो, उनलाई ओपनिङमा तानियो।

उसो त फाइनलअघि ओपनिङमा कोहली कति सफल हुनसके, यसमा फरक फरक तर्क आउँछन् नै। तर उनी त्यहिँ टिकिरहनुको कारण यसअघि उपल्लो क्रममा उनले देखाएको खेल कौशल थियो।

तसर्थ उनी ओपनिङबाट भाग्ने पक्षमा थिएनन्। बरु डटेर खेल्ने उनको लक्ष्य थियो, तयारी पनि चलिरहेकै थियो। तयारी स्वरूप नेटमा जसप्रित बुमराहको बलिङ सामना गर्ने गरेका उनी निर्णायक खेलमा खरो उत्रिए।

आखिरमा आफूले परिकल्पना गरेको क्षण सिर्जित भएपछि कोहलीले अब पहिलो सिट छाड्ने बेला भएको घोषणा गरे। ‘अब नयाँ पुस्ताले जिम्मेवारी लिने बेला भएको छ। यी प्रतिभावान् खेलाडीले यो टिमलाई अगाडि बढाउनेछन्। भारतको झण्डा शिखरमा रहिरहनेछ,’ कोहलीको उद्घोष थियो।

प्रकाशित: १६ असार २०८१ ११:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + ten =