गौतम गम्भीरको प्रश्न : कोहलीलाई जस्तो आलोचना रोहितलाई किन नगरेको?

हिमाल प्रेस २ माघ २०७९ २०:४३
14
SHARES
गौतम गम्भीरको प्रश्न : कोहलीलाई जस्तो आलोचना रोहितलाई किन नगरेको?

काठमाडौँ- भारतीय क्रिकेट टिमले आइतबार कीर्तिमान राख्यो, एकविदसीय इतिहासमा सर्वाधिक अन्तरको जित दर्ता गरेर। यसो गर्दा भारतले पाहुना टिम श्रीलंकालाई ३१७ रनले पन्छायो। थिरुभनन्थापुरममा भारतलाई श्रीलंकाविरुद्धको अन्तिम एकदिवसीय खेल जिताउन विराट कोहलीले अविजित १६६ रन बनाएका थिए। यो जितसँगै भारतले शृंखला आफ्नो पक्षमा पारेको थियो।

निर्धारित ५० ओभरमा भारतले पाँच विकेटको क्षतिमा ३९० रनको योगफल बनाउँदा शुभम गिलले ११६ रन बटुले। ब्याटिङसँगै बलिङ पनि अब्बल देखिएको विजेता टिमका लागि मोहम्मद सिराजले ३२ रन खर्चिएर चार विकेट हात पारे। भारतीय बलरहरूको दबाब थेग्न नसकेपछि श्रीलंका २२ ओभरमा ७३ रन बनाएर अलआउट भएको थियो।

भारतका लागि कप्तान रोहित शर्माको प्रदर्शन पनि सन्तोकजनक रह्यो। ओपनिङ गरेका उनले ४९ बलमा ४२ रन बनाए भने शुभम गिलसँग पहिलो विकेटका लागि ९५ रनको साझेदारी गरे। भारतले कीर्तिमानी जित रच्दा रोहितको नाममा भने खराब कीर्तिमान दर्ज भयो। त्यो के भने, श्रीलंकासँगको खेल रोहितले शतक प्रहार गर्न नसकेको ५० औँ अन्तर्राष्ट्रिय इनिङ्स थियो।

यो सन्दर्भमा भारतका पूर्वओपनर गौतम गम्भीरको प्रतिक्रिया आएको छ। विगतमा विराट कोहलीले अपेक्षा गरे अनुसारको ब्याटिङ नगर्दा जसरी आलोचना गरियो हाल रोहितको पनि त्यसैगरी आलोचना हुनुपर्ने गम्भीरको जिकिर थियो।

‘विराटले लगभग साढे तीन वर्ष शतक प्रहार गर्न सकेनन्। त्यसबेला उनको आलोचना भयो। अहिले रोहितको पनि आलोचना हुनुपर्छ। किनभने ५० इनिङ्समा पनि एक शतक बनाउन नसक्नु भनेको सामान्य कुरा होइन,’ गम्भिरले भारतीय टेलिभिजन च्यानल स्टार स्पोर्ट्ससँग भनेका छन्।

रोहितले पछिल्लो पटक शतक सेप्टेम्बर, २०२१ मा प्रहार गरेका थिए। त्यसबेला भारत इंग्ल्यान्डसँग टेस्ट खेलिरहेको थियो। कोहलीले सन् २०१९ देखि सन् २०२२ को बीचमा शतक बनाउन सकेका थिएनन्। एसिया कपमा अफगानिस्तानविरुद्ध १२२ रन बनाएसँगै कोहलीको शतकको खडेरी तोडिएको थियो। कोहलीले पछिल्ला चार एकदिवसीय इनिङ्समा तीन शतक बनाइसकेका छन्।

‘एक वा दुई शृंखलामा शतक बनाउन सक्नु सामान्य कुरा हो। तर रोहितले शतक बनाउन नसकेको त धेरै भइसक्यो। सामान्यतया उनी धेरै रन बनाउने खेलाडी हुन्। अहिले पनि उनी राम्रो लयमा देखिएका छन्। तर शतक बनाउन सकिरहेका छैनन्। उनी आगामी विश्वकपअघि नै शतक लयमा आउन आवश्यक छ। जसरी अहिले विराटले खेलिरहेका छन्, त्यही स्तरको खेल रोहितले पनि देखाउनु पर्छ। यी दुई खेलाडीकै बलमा हो भारतले विश्वकप जित्नसक्ने,’ गम्भीरले भनेका छन्।

नयाँ वर्षको सुरुवात भने रोहितले मजबुत ढंगमा गरेका छन्। भारतले श्रीलंकाविरुद्धको पहिलो एकदिवसीय ६७ रनले जित्दा रोहितले ६७ बलमा ८३ रन बनाएका थिए। दोस्रो एकदिवसीयमा भने उनी १७ रनमै सीमित भए। तेस्रो एकदिवसीयमा बलियो लयमा देखिए पनि शतक बनाउन असफल रहे।

रोहितले सन् २०१९ को एकदिवसीय विश्वकपमा सर्वाधिक रन बनाएका थिए। कुन नौ खेलमा पाँच शतकसहित कुल ६४८ रन बटुलेका रोहितबाट फेरि त्यही स्तरको प्रदर्शन चाहन्छ भारत। यो वर्ष भारतले नै विश्वकप आयोजना गर्ने भएकाले कप्तान रोहितबाट भारतीय समर्थकले ठूलो आश व्यक्त गरिरहेका हुन्।

प्रकाशित: २ माघ २०७९ २०:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 11 =