नियात्रा

सुन्दरी शैलुङको शीतलता [तस्बिरहरू]

राजाराम बर्तौला १५ असार २०८१ १९:२०
130
SHARES
सुन्दरी शैलुङको शीतलता [तस्बिरहरू] दोलखा जिल्लाको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय तीर्थस्थलका रूपमा परिचित शैलुङ क्षेत्र। तस्बिरहरू : राजाराम बर्तौला

 

माथिमाथि शैलुङ्गेमा चौरी चराउनेलाई
हत्केलामा मायाको गुराँस फुलाउनेलाई
भन्दिनू है, भन्दिनू मेरो चुल्ठो खाली छ
उसको त्यो मनै जाली छ।

हो यो त्यही शैलुङ्गे जसलाई श्रवण मुकारुङले लिपिबद्ध गरेका हुन् र कर्णप्रिय स्वरकी धनी कुन्ति मुक्तानले आफ्नो मधुर स्वर दिएर यो गीतलाई लोकप्रिय बनाएकी हुन्। यस गीतका संगीतकार शिलाबहादुर मोक्तान हुन्। उतिवेलै यो गीत रेडियोमा बज्न थाल्दा गीतको भावप्रधान अभिव्यक्तिले बैँसले धपक्क भएकी एउटा युवतीको अभिप्राय प्रणय लक्षणायुक्त चुल्ठोले गुराँस खोज्दै मायाको भाव व्यक्त गरिरहेको छ। यो गीत सुन्दै गर्दा यो ठाउँको सुन्दरताका साथै स्थानीय परिवेशको कल्पनाशीलतलाई जोडेर यो ठाउँ कस्तो होला भनेर कल्पना गर्ने गरिथ्यो।

त्यही ठाउँ जाने साइत जुर्‍यो २०८१ सालको असार पहिलो हप्ता। मनसुन पूर्वबाट पश्चिम सर्दै आएको र मौसम विभागले बागमती प्रदेशमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान जारी गर्दै गर्दा पनि हामी त्यसतर्फ सोझिएका थियौँ। आकाश टम्म बादलले ढाकिएको थियो। कुनै पनि बेला दर्के झरीको सम्भावना प्रबल थियो। रहर नै गरेर योजना गरिसकेपछि जाने नै निधो गरेर समूहमा मिसियो।

पदयात्राको संयोजन भीमसेन शर्मा, हाइक पर नेपालले गरेका हुन्। कच्ची बाटो र भूस्खलन आदि कारणले गर्दा वर्षा लागेपछि शैलुङ पुग्न सकिँदैन। मनसुन झरीले छोप्नुभन्दा ठिक्क अगाडिको यो यात्रा एक प्रकारले रोमाञ्चक पनि थियो।

केही वर्षअघिसम्म शैलुङ पदयात्राका लागि जानेहरू मुढेबाट यात्रा सुरु गर्दथे। अहिले भने त्यो अवस्था छैन। मुढेबाट एक घण्टाको बसयात्रामा कालापानी पुगिन्छ। कालापानी भनेको शैलुङ जाने यात्रुका लागि बास बस्ने अन्तिम बिन्दु हो। कालापानीसम्म पुग्न काठमाडाैँबाट १३० किलोमिटरको यात्रा गर्नुपर्दछ। दोलालघाट हुँदै खाडीचौर पुगेपछि खोला तरेर उकालो लाग्नुपर्दछ। यहाँबाट मुढे भन्ने ठाउँमा पुगिन्छ।

यो ठाउँ २५०० मिटरको उचाइमा छ। यो ठाउँ हिमाली आलु र स्लेटबाट बनेका प्रस्तरकलायुक्त सरसामानका लागि प्रख्यात छ। यहाँबाट एकडेढ घण्टाको बसयात्रापछि कालापानी पुगिन्छ। कालापानी भन्नेबित्तिकै हामी महाकालीपारिको कालापानी सम्झन्छौँ। तर यो कालापानीचाहिँ दोलखाको कालापानी हो र शैलुङको फेदीमा रहेको छ। यहाँ भर्खरभर्खर केही ससाना होटल खुल्न थालेका छन्। केही वर्षअगाडि मात्र यहाँ कच्ची बाटो पुगेको हो। बाटो पुगेपछि व्यवसायको अवसर खोज्नेहरूले यहाँ होटल व्यवसा विस्तार गर्दैछन्। हाम्रो बास यहीँको एउटा स्थानीय होटलमा भयो।

शैलुङ हेर्न इच्छा राख्नेहरूले सार्वजनिक बसमा गएर मुढेमा वा ढुंगे बजारमा बास बसेर पदयात्रा गर्दा पनि हुन्छ। सार्वजनिक बस कालापानीसम्म जाँदैन। करिब ३० किलोमिटर बाटोको अवस्था खराब छ। काठमाडाैँदेखि निजी सवारीमा (फोरह्विल) वा स्तरीय मोटरबाइकमा जाँदा पनि हुन्छ। प्रायः युवाहरू मोटरसाइकलमा भएको देखियो। स्कुटरमा जाँदा भने समस्या पर्न सक्दछ। करिब एक घण्टाको बाटोबाहेक अरु सबै पिच गरिएको छ।

कालापानीको बास र गुप्तेश्वर महादेवको दर्शन

कालापानी २८०० मिटरको उचाइमा रहेको छ। मनसुनको आगमन भइसकेको हुँदा यहाँको बसाइमा बादलको लहरले छोपर जानु सामान्य हो। बादलभित्र हराउँदा र बादलले बोकेर ल्याएको पानीको शीतल स्पर्शले रोमाञ्चक अनुभूति मिल्दछ। होटलमा झोलाझाम्टा राखेर गुप्तेश्वर महादेवको दर्शन गर्न ओरालो लाग्यौँ।

तल खोचमा अर्थात् भनौँ पहराहरूको बीचमा महादेव बसेका रहेछन्। गुप्त भागमा बसेको भएर गुप्तेश्वर भनिएको होला। दुईतीन सय मिटर ओरालो झरेर गुफामा लुकेर बसेका महादेवको दर्शन गरेपछि फेरि उक्लेर बास भएको ठाउँमा आयौँ। पहिलो दिनको हिँडाइ भनेको दुई घण्टा मात्र भयो। त्यस दिन भीमसेनजीले आयोजना गरेको बारबेक्युको स्वाद लिएर सुत्यौँ।

सैलुङेको लर्को

बिहान उठेर सानो झोला पिठ्युँमा भिर्दै त्यसमा पानीको बोतल राखेर उकालो लागियो। कौतूहल त छँदै थियो शैलुङ हेर्ने। कस्तो हुन्छ शैलुङ? के फरक छ अरु डाँडाभन्दा शैलुङ? किन प्रिय छ शैलुङ गीतकार, गायक र प्रकृति प्रेमीहरूमा मात्र नभएर नवयौवना, युवक र युवतीहरूमा पनि? उनीहरूमात्र किन, मजस्तो केश फुलेको नित्य र अनित्यको बीचमा भौँतारिएको, सत्य, सुन्दर र शिवको प्रार्थी, अभ्यर्थी, यात्रीमाझ पनि यो शैलुङप्रति त्यत्तिकै आकर्षित भएको हैन। यो अलौकिक आनन्ददायक र सुरुचिपूर्ण छ।

शैलुङ प्रवेशका लागि निर्मित कलात्मक प्रवेशद्वारले स्वागत गर्दछ फेदीमा। यहाँबाट मिनि ग्रेटवाल सुरु हुन्छ। चीनको ग्रेटवालकै डिजाइनमा सानो ग्रेटवाल निर्माण गरिएको छ। आकर्षक र सुन्दर देखिन्छ। भलै यसको आवश्यकता र औचित्यका विषयमा बहस हुन सक्ला तर स्थानीयको प्रयासलाई प्रशंसा गर्नैपर्दछ। प्रायः पदयात्रीहरू पर्वतीय पदयात्रामा प्राकृतिक गारेटो बाटो हिँड्न रुचाउँछन्। यसबाट प्रकृति, वातावरण, पर्यावरणबीचको सन्तुलनलाई समेत मद्दत गर्दछ। यो ‘कालापानी शैलुङ मिनी ग्रेटवाल’ शैलुङ गाउँपालिकाले करिब पाँच करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न गरेको हो। यो अपूर्ण छ र अझै यसको निर्माणकार्य बाँकी छ।

मिनी ग्रेटवाल चढेर सकिएपछि केहीबेर हिँडेर हामी एउटा थुम्कोमा पुग्यौँ। फेरि ओरालो लाग्यौँ अर्को गुफा हेर्न। यसपाला भने शैलुङ्गेश्वर महादेवको दर्शन गर्न। एउटा ठूलो गुफामा महादेव विराजमान छन्। यहाँसम्म जान ढुंगाका सिँढी बनाइएका छन्। ठूलो त्रिशूल राखिएको छ। यहाँ महादेवको दर्शन गरेर पुनः उकालो लागियो। दुई थुम्काहरूको बीचबाट। ठाडो उकालो हिँडेको अनुभूति पनि नहुने निरन्तर उकालो लागिरहनुपर्ने। उकालो सकिएपछि बाटैमा सिंहबाहिनी देवीको मन्दिर भेटिन्छ र अलि अगाडि बढ्दै गएपछि थुम्कोमा शिवलिंगसहितको त्रिशूल देखिन्छ। यहाँ पनि देवाधिदेव महादेवको दर्शन गर्ने सौभाग्य मिल्दछ।

यहाँबाट उकालो लागेपछि भेटिन्छ ‘भीमसेनको तरबार’। यो ठाउँको थुम्कोमा एउटा विशाल चट्टानपत्र देखिन्छ जसको आकार टाढाबाट हेर्दा तरबारजस्तो देखिन्छ। अतः यो ठाउँको नाम रहेको छ भीमसेनको तरबार। यहाँबाट माथि लागेपछि क्रमशः कहीँ ढुंगाको सिँढी कहीँ गोरेटो हुँदै उकालो चढ्नुपर्दछ। शैलुङको शिखरतर्फ पाइला बढाउँदै गर्दा टुप्पाको बौद्ध गुम्बा देखाएर भीमसेन शर्माले भने उः त्यो ‘परमार्थका लागि उक्लने बाटो स्वर्गद्वारको सिँढी’। उनले त्यसो भन्दै गर्दा हामी शिखरको अन्तिम चढाइ गर्दै थियौँ। शिखरमा रहेको श्वेत गुम्बाले हामीलाई हेरिरहेको प्रतीत हुन्थ्यो। गुम्बालाई एकैछिनमा बादलले छोप्थ्यो र हराउँथ्यो। केही बेरपछि फेरि बादल फाट्दा घामसगै चम्कन्थ्यो।

हामी ‘पृथ्वीको नाइटो’ लेखेको ठाउँमा पुग्यौँ। सायद पर्वतहरू पृथ्वीको नाइटो हो। सोही बिम्बलाई उतार्न यहाँको शिखरको एक भागलाई पृथ्वीको नाइटो भनिएको हुनुपर्दछ। यहाँ बुद्ध आए आएनन् जातक कथाहरूले भन्लान्। तर आस्थाको अगाडि विश्व झुक्नुपर्दछ। यहाँ बुद्धको पाइला जनाउने सांकेतिक चिह्न र भाषामा बोर्ड झुन्ड्याइएको छ।

विश्वशान्तिका लागि मनमनै कामना गर्दै शिर झुकाइयो। यो ठाउँमा चित्त शान्ति त छँदैछ, विकाररहित भावशून्यतामा रमाउने विशाल तरेली परेका पहाडी थुम्काहरूको साथ र हरिया चरिचरण हेरेर दैहिकमात्र हैन आध्यात्मिक शान्तिसमेत पाइने शान्त परिवेश पनि पाइन्छ। हरिया चौरमा चौँरीहरू चरिरहेका दृश्य आत्मिक सुखका लागि पर्याप्त छ। चौँरीहरू अघाउन्जेल चर्छन् र साँझ आफैँ गोठ फर्कन्छन्।

चौँरीलाई दाम्लोले बाँध्न पर्दैन। तर मानिसको मनलाई बाँध्न पर्दछ। विचलित र भ्रमित मानव मनलाई संग्रहित गरेर एकाग्रचित्तका लागि यी हरियाली शैलुङमा उभ्याउनुपर्दछ। यी शैलुङहरू ध्यानस्थल हुन्। यहाँ शिव डमरु बजाउँदै हातमा त्रिशूल लिएर नाचेको हेर्न भगवान बुद्ध आइपुग्छन्। शक्तिकी आराध्य सिंहबाहिनी यिनै लुङहरूमा लुकेर क्रीडा हेर्दछिन्।

शैलुङ भनेको सयवटा थुम्काहरू हुन भनेर भाषिक परिभाषा गरिएको छ। यहाँको लुङहरू लोभी नजरका लागि तृप्ति दिने मुक्तिदाता हुन्। एक पटक पुगेर यो प्राकृतिक देनको रसास्वादन गर्नै पर्ने ठाउँ हो यो। धेरैिकठीन यात्रा गर्न पनि पर्दैन। अलिकति निश्चयता, अलिकति परिश्रम र चाहना राख्ने हो भने धेरै खर्च नगरीकन प्रकृतिले उपहारमा दिएको त्यो सुन्दरको अनुपम आनन्द लिन पाइन्छ। रामेछापपट्टिबाट जाँदा मिनी ग्रेटवाल छुट्छ र सम्भवतः निकै तल ओडारमा रहेको महादेवको मन्दिर पनि दर्शन गर्नबाट छुट्न सक्छ। कालापानीपट्टिबाट यात्रा गर्दा शैलुङको विशेष आनन्द उठाउन सकिन्छ।

शिखरको टुप्पामा बौद्ध गुम्बा छ। त्यहाँ दृश्यावलोकनका लागि टावरको पनि निर्माण गरिएको छ। यो बोधिचैत्य शैलुङ रिगसुम गोन्पो सेवा समाजको अग्रसरतामा २०७८ फागुनमा निर्माण गरिएको हो। पुराना गुम्बा पनि नयाँ गुम्बाको नजिकै छन्। कोही भत्कदैं गएका देखिन्छन् र मर्मतको पर्खाइमा छन्। गोन्पो सेवा समाजले यहाँ पुग्ने यात्रुहरूलाई निःशुल्क चिया ख्वाउने गर्दछ।

यहाँबाट शैलुङको लुङहरू, लुङहरूमा चरिरहेका चौँरीका बथान, केही घोडाहरूको लस्कर, बेलाबेलामा आएर छोप्ने बादलका झोक्काहरू मनै लोभ्याउने दृश्य हुन्। ती दृश्य हेर्दा आँखा भरिएलान् तर मन भरिँदैन।

प्रकाशित: १५ असार २०८१ १९:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − nine =