पुस्तक चर्चा

सूत्र लेखनमा कात्यायनको नयाँ प्रयोग : ‘कोमामा आमा’

रमेशप्रसाद खनाल १५ असार २०८१ १४:१२
174
SHARES
सूत्र लेखनमा कात्यायनको नयाँ प्रयोग : ‘कोमामा आमा’

नेपाली साहित्य लेखन, कला, गीतसंगीत, नाट्यकला आदि विधाको प्रवर्धन र समृद्धिमा काठमाडौँ पूर्वी भेगको विशेष योगदान रही आएको छ। यो क्षेत्रमा रमेश विकल, मनुजबाबु मिश्र, भैरव अर्यालजस्ता अनेकौँ वरिष्ठ लेखक बासस्थान तथा कर्मथलो भएकोले उनीहरूबाट अभिप्रेरित युवाहरूको संख्या पनि कम छैन। नेपालमा राजनीतिक परिवर्तनका संकेत सुरु भएका २०३५/३६ साल ताका यो क्षेत्र साहित्यिक उद्‌बोधनको थलो र सिर्जनात्मक सक्रियताको निमित्त जानिन्थ्यो।

चाबहिलबाट ‘उत्साह’ साहित्यिक पत्रिका नियमित रूपमा प्रकाशित हुन्थ्यो। चाबहिलमा ‘उत्साह’, आरुबारीमा बन्धु क्लब आदिले यस क्षेत्रमा आयोजना गर्ने नियमित साहित्यिक भेला, नाट्य प्रदर्शन, गीत संगीत प्रस्तुति, विषयगत गोष्ठी र जन्मजयन्ती कार्यक्रमहरू आदिको निरन्तरताले साहित्य र कला सिर्जनामा रुचि भएका युवाहरूलाई आकर्षित गर्दथ्यो।

यसै क्रममा यस भेगका साहित्यमा रुचि भएका युवाहरू गणेश योञ्जन, विमल अर्याल, बसन्त रिजाल, गोपाल बराल, रमेश खनाल, उद्धव रायमाझी, सीताराम ढुंगेल, विदुर चालिसे, धनवन्तरी मिश्र’ कात्यायन, भेषराज सापकोटा आदि मिलेर ‘मुक्का’ र ‘आगमन’ जस्ता तत्कालीन युवाको आवाज बोकेको साहित्यिक संकलनहरू वार्षिक रूपमा प्रकाशित गर्दथे।

यस्ता प्रकाशनहरू र साहित्यिक गतिविधिहरूसँग सक्रिय युवा ‘कात्यायन’ आफ्ना कविता, कथा र निबन्ध लेख्ने र गोष्ठीहरूमा सुनाउने गर्दथे। चाबहिलका स्थायी बासिन्दा उनी आफ्ना पिता प्रख्यात कविराज डा. कृष्णबहादुर सिंह मिश्रका काइँला सुपुत्र हुन्। पिता र माइलो दाजु सुविख्यात कवि /लेखक कणाद महर्षिको प्रभावमा साहित्य सिर्जनामा लागिपरेका उनलाई रमेश विकलको विशेष प्रोत्साहनले कविता लेखनमा लागेका थिए।

कात्यायन करिब २०३० को मध्यदेखि साहित्यिक लेखनमा सक्रिय रूपमा संलग्न रहे। २०५३ सालदेखि उनको ९ वर्षको अमेरिका बसाइले यो कार्यमा केही सुस्तता आयो। उनी २०६२ सालमा स्वदेश फर्किएपछि साहित्यिक सक्रियता पुन: बढ्यो र उनका रचनाहरू धमाधम प्रकाशित हुन थाले। सामाजिक सञ्जाल फेसबुकलाई उनले कविता, मुक्तक, कथा प्रकाशित गर्ने थलोको रूपमा उपयोग गर्दै धेरै पाठकहरूसम्म पुग्ने माध्यम बनाउन सफल भए।

आज उनी एक स्थापित कथाकार र सफल कविका रूपमा चिनिन्छन्। यसै क्रममा उनको ‘कोमामा आमा’ नामक सूत्र उपन्यास २०७३ साल महिनामा दिदी वसुन्धरा मिश्रको संयोजनमा भाइटीकाको दिन यो कृति प्रकाशन भयो। २०७३ सालमा प्रकाशित भएर पनि यस पुस्तकमाथि जति चर्चा परिचर्चा हुनु पर्ने थियो त्यति नभएको महसुस हुन्छ। आ-आफ्ना गुट/उपगुट बनाउने र आफ्नाहरूको मात्र चर्चा परिचर्चा गरिने पुरस्कृत हुने जस्ता  प्रवृत्तिले कात्यायनको कृति र योगदान ओझेलमा परेको वा पारिएको लाग्दछ। यो आलेखमा नेपाली साहित्यमा नवीनतम् प्रयोग गरेर लेखिएको एक उत्कृष्ट सिर्जनाको चर्चा हुनुपर्छ भन्ने मनसायका साथ पुस्तक र यसले समेटेका विषयबारे संक्षेपमा लेख्ने जमर्को गरिएको छ।

सूत्र लेखन

सामान्य रूपमा बुझ्दा संस्कृत भाषामा जसरी वेदपुराणहरूमा सानो सूत्रमा धेरै ज्ञान र विचारहरू समाहित गरिएको हुन्छ त्यसरी नै संक्षिप्त रूपमा उठाउन खोजिएका विषयहरू अविधा भन्दा पनि लक्षणा र ब्यन्जनाका साथै बिम्ब र प्रतिकहरूको सही प्रयोग गरेर लेखिने रचना (कथा, कविता वा निबन्ध आदि) लाई सूत्र लेखन भनिएको छ।

हरेक शब्द, वाक्य र अनुच्छेद आफैँँमा अर्थपूर्ण हुनु सूत्र लेखनको विशेषता हो। यसमा यथार्थ र कल्पनालाइ मिसाएर विम्बात्मक रूपमा रचना सिर्जना गरिन्छ। यसैगरी, वेदमा भएका ऋचामा जस्तै सूत्र लेखनमा कुनै विषयलाई केन्द्रमा राखेर मौलिकतासहित लेखिने अवधारणालाई पनि सूत्र लेखन मानिएको छ।

सारांशमा सूत्रबद्ध भएर संक्षेपमा कलात्मक ढंगमा अभिव्यक्त गर्नु नै सूत्र लेखन हो भन्ने बुझ्न सकिन्छ। उपन्यासको बनावट र विन्यासको अध्ययन गर्दा यो सही आंकलन हो भन्ने लाग्दछ। सिर्जनाको अन्तर्यमा पुरातन सबैको बिखन्डन गरेर नयाँ सिर्जना गर्नुलाई लेखकले प्रयोगात्मक रूपमा उपयोग गरेका छन्। यस सैद्वान्तिक धरातलमा उभिएको यो उपन्यास आद्योपान्त अध्ययन गरेपछि लेखकको वास्तविक कथन र विषयगत महत्त्व बुझ्न सहज हुन्छ।

नेपाली साहित्यमा सूत्र लेखनको सुरुवात विख्यात आख्यानकार डा. ध्रुवचन्द्र गौतमले गरेका हुन् भन्ने मानिन्छ। ‘फूलको आतंक’ नामक सूत्र उपन्यास लेखेका डा. गौतम नेपालमा सूत्र कथा लेखनको प्रणेता नै मानिन्छन्। साहित्यमा विविध प्रयोग गर्न रुचाउने डा. गौतमलाई कात्यायनले आफ्नो प्रेरणा स्रोतका रूपमा रहेको उल्लेख गरेका छन्।

त्यतिबेला चाबहिलको मैजुबहालमा बस्ने डा. गौतमको यो क्षेत्रमा हुने विभिन्न साहित्यिक जमघटहरूमा उनको प्रेरणादायी भूमिका रहन्थ्यो। यसै संगतिमा कात्यायन पनि थिए। छोटोमिठो तरिकाले आफ्नो मूल विषय भन्न सक्ने खुबीलाई कात्यायनले पनि आफ्नो शैली बनाए।

प्रयोगवादी लेखनमा लाग्नु भनेको एक प्रकारको जोखिम मोल्नु पनि हो।परम्परागत रूपमा लेखिने भन्दा बेग्लै शैलीमा लेख्दा पाठकले अस्वीकार गर्न पनि सक्दछन्। बजारमा बिक्ने मात्र लेख्ने हो भने लेखनमा नवीनता कहिल्यै आउन सक्दैन। एकै धाराको लेखन गरेर इतिहासमा योगदान गर्न सकिने होइन भन्ने बुझेर कात्यायन नयाँ र प्रयोगात्मक लेखनमा लागेका हुन् भन्ने लाग्दछ।

कात्यायन सूत्र कथा, कविता आदि लेख्दथे तर सम्पूर्ण उपन्यास नै भने यो उनको पहिलो कृति बनेको छ। वरिष्ठ कवि तथा स्रष्टा शार्दूल भट्टराईले पुस्तकको भूमिका गहन रूपमा लेखिदिएका छन्। भूमिकाले पाठकलाई पुस्तकको अन्तर्यबारे बुझ्न निकै सहज हुन्छ। ‘सूत्र उपन्यास’ को अर्थ के हो भन्ने जान्न एक पटक ‘कोमामा आमा’ पढ्नुपर्ने हुन्छ। डा गौतमले ‘आफ्नो उत्तराधिकारी’ मानेको कात्यायनले सूत्र उपन्यास लेखेर नेपाली साहित्यको प्रयोगवादी धारलाई मलजल गर्ने काममा ठुलो योगदान दिएका छन्।

उपन्यासभित्रको उपन्यास

‘कोमामा-लेखक अनुभूति’ शीर्षकबाट सुरु भएको उपन्यासको यो सूत्रमा लेखकको परिचय पाउन सकिन्छ।साथै, यो कृतिको सिर्जना किन र कसरी हुन् पुगेको हो भन्ने पनि बुझ्न सकिन्छ। समाज, देश र आफ्नो परिवेश प्रति चिन्तित लेखक नेपालमा केही गर्न नसकेको तर्फ पनि इंगित गर्दै आज नेपाली युवाहरूको विदेश पलायन हुनुपर्ने विवशताको चिरफार गर्छन्।

‘बोल्न पर्ने/नपर्ने ठाउँ कुठाउँ प्रतिवाद’ गर्ने ‘धुन्धुकारी’ कात्यायन नेपाल राष्ट्रका यावत् समस्याहरूप्रति संवेदनशील देखिन्छन्। ‘कोमामा छ देश’ भन्दै उनी देशलाई जगाउन आफ्नो स्वर बुलन्द पार्दछन्। इतिहासमा नेपाली जनताले अनेक संघर्ष, आन्दोलन र बलिदान गरेर राजनीतिक परिवर्तन ल्याए पनि उनीहरूको सपनाको अवसान भएको देखेर लेखक दुखित हुन्छन् र देशलाई ‘के ले आघात पुर्याइरहेछ’ भनेर खोज्न चाहन्छन्। आफू पनि स्वार्थमा लिप्त भएर विदेश पलयान हुन् चाहनु पर्ने विवशतालाइ पनि उनी उजागर गर्दै सबैलाई आफ्नो आलस्य छोड्न र अगाडि बढ्न आव्हान गर्दछन्।

‘कोमामा आमा’ मा लेखक जन्मदिने आमाको पीडा मार्मिक ढंगमा उल्लेख गर्दछन तर यो यस्तो सशक्त बिम्ब सिर्जना गर्छन् कि पाठकले देशको अवस्था जागृत हुनु पर्नेमा अचेत भएको बोध गर्दछ।आफू वरिपरि के भैरहेछ केही थाहा नहुनु, अचेत रहनु, चेतनाहीन हुनु नै चिकित्सकीय भाषामा ‘कोमा’ भनिएको पाइन्छ।

नेपाल देश बिरामी छ र यो बिरामी देशलाई आमाको रूपमा लेखक चित्रित गर्छन् र ‘कोमा’मा रहेको तितो यथार्थ झल्काउँछन्। ‘कोमा’ शब्दको अर्को प्रयोग उनले ‘विदेश पलायन हुनु’को पर्यायको रूपमा प्रयुक्त गरेका छन्। आफ्नो देशको माटो र माया बिर्सेर बिदेशमा रोजगारी लगायत विभिन्न कारणले बिदेशिन वाध्य नयाँ पुस्ता बिदेशमा हराएकोलाई पनि लेखक ‘कोमा’ मा गए सरह मान्दछन्।लेखक स्वयं पनि केही बर्ष कोमा (विदेश) मा पुगेको प्रसंग ठाउँठाउँमा आउँछ र त्यहाँको जीवन शैली बारे उपन्यासका विभिन्न अध्यायमा लेख्दछन् पनि।

२०७२ सालको विनाशकारी भूकम्पले नेपालमा सबै तह र तप्काका मानिसलाई एकै तहमा झारिदिएको वास्तविकता थियो।उपन्यासको तेस्रो सूत्र ‘त्रिपाल’मा नेपालको त्यतिबेलाको कारुणिक अवस्थालाई देखाइएको छ। त्यसैगरी भूकम्पले ल्याएको अभाव, हाहाकार, त्रास र संकटको घडीलाइ स्वार्थ पूर्ति गर्ने माध्यम बनाउने केही टाठाबाठाहरू लागेको देख्नुपर्दा आममानिसहरू दु:खी थिए। राहतका नाममा राजनीति गर्ने, भ्रष्टाचार गर्ने, झुठो विवरण बुझाएर सहयोग रकम हात पार्ने जस्ता विकृतिले आक्रान्त अवस्थाको चित्रण छ यो सूत्रमा। संकटमा समेत आफ्नो निजी फाइदाका लागि निर्दोष युवती बालबालिका बेचबिखन गर्न पछि नपरेका मान्छेहरूको प्रवृत्तिप्रति रोष व्यक्त गर्दछन् लेखक।

माया, प्रेम, यौन, धोखा आदि प्रसंग पनि उपन्यासमा प्रशस्त छन्। यसै क्रममा ‘म’ पात्र आफ्नो पुरानो प्रेमिकाकोमा पुग्दा पाएको आत्मीय स्वागतप्रति नतमस्तक हुन्छ र समयले विगतका घाउसमेत पुर्दै लगेको अनुभूत गर्दछ। असमझदारी पनि समझदारीमा परिणत हुन्छ र एउटा मायाको कथा बन्छ। अब फेरि त्यो पुरानो जीवन जिउन सम्भव नभए पनि आत्मिक माया रहिरहन्छ भन्ने आभास हुन्छ।

त्यस्तै, एउटा प्रसंगमा अमेरिकाबाट फर्केपछि ‘ऊ’ पात्र पूर्व प्रेमिकाहरू खोज्न जाँदा ढल्केको बैँस मात्र पाउँछ। फलस्वरूप ऊ तिनका अबोध छोरीहरूलाई आफ्नो यौन चाहना पूर्ति गर्ने साधन बनाउन उद्यत हुन्छ। ऊ पात्रको माध्यमबाट यस प्रकारको पतित कर्मलाई उदांगो पार्ने मनसुबा लेखकको हुनुपर्छ। यौन मनोविज्ञानसँगै सम्बद्ध अर्को प्रसंग छ- कार्यकारणवस विदेश लामो समय बसेको पात्र जब नेपालमा आफ्नी श्रीमती गर्भिणी भएको खबर पाउँछ त्यसले उसको जीवनमा ल्याएको भूकम्पलाई पनि सहज रूपमा लिँदै ऊ आफ्नी श्रीमतीप्रति नकारात्मक हुन सक्दैन।

पतिको विदेश पलायनपछि धेरै वर्ष यौन सन्तुष्टिको चाहना पूर्तिको निमित्त देशमा अन्य पुरुषसँग सम्पर्क गर्न बाध्य भएको अवस्थाको चित्रण मात्र छैन, परिवार विभाजनको पीडाले निम्त्याउने विविध प्रकारका सामाजिक विसंगतिप्रति लेखक सचेत गराउँछन। सूक्ष्म यौन मनोविज्ञानको विषयलाइ नाटकीय ढंगमा प्रस्तुत गर्न जानेका लेखक सूत्र ७ मा ‘ऊ’ र ‘ऊनी’ पात्रहरूको छोडपत्र गर्नुपर्दाको अवस्थाको चित्रण गर्दछन्।

अगाध माया गरेर पनि स्त्रीलाई पूर्ण यौन सन्तुष्टि हुँदैन भने उनको जीवन निस्सार हुन् पुग्छ; महिलाको यौन चाहनालाई तुष्टि गर्न नसक्दा महिलाले छोडपत्र गर्न बाध्य हुने अवस्था आएको विषय यस प्रसंगमा उठान गरिएको छ। नेपाली समाजमा महिला विरुद्ध विद्यमान अनेक विभेदमध्ये पूर्ण यौन सन्तुष्टिले छोडपत्रसम्म पर्‍याएको प्रसंगले बदलिँदो नेपाली समाजको तस्बिर पनि देखाउँछ।

नेपाल र विदेश खासगरी आफू बसेको अमेरिकाबीचका मानिसका दैनिकीको भिन्नताहरू देखाउँछन् कात्यायन दोस्रो सूत्र ‘अन्तर’ मा। नेपालमा एक प्रकारको व्यवहार गर्ने मानिस विदेश पुग्नासाथै बदलिएको देखिनु बिडम्बना लाग्दछ उनलाई।

यसै सिलसिलामा लेखक उपन्यासको सूत्र ९-११ सम्म अमेरिकाको क्यालिफोर्नियामा भोगेका कतिपय प्रसंगहरू उल्लेख गर्छन्। अमेरिकामा नेपाली डायस्पोराको संख्या केही वर्षमा बढेको छ। त्यहाँ जन्मिएका वा हुर्किएका नेपाली मूलका बालबालिकाहरूको जीवन त्यहाँकै संस्कृति, मूल्य र मान्यतामा ढल्दै जाने क्रममा छ।

त्यसैगरी, नयाँ पुस्ता कम्प्युटर र फेसनमा मग्न हुन मात्र जान्दछ र आफ्नो परिवेश र पारिवारिक मूल्य बिर्सिँदै गएको कटु यथार्थ पनि देखाएका छन्। अमेरिकामा रहेका नेपालीसँग सम्बन्धित अर्को प्रसंगले विदेशिने नेपालीहरूको छलकपटको चित्र पनि देखाउँछ। नेपालबाट पतिलाई अमेरिकाबाट जति सक्यो छिटो आऊ नत्र आफू मृत्युको मुखमा पुग्न लागेको भन्दै नेपाल फर्काउने पत्नीको जालोमा परेर ग्रीन कार्ड पाउने बेला भएको पात्र त्यो सबै छोडेर नेपाल फर्किन्छ तर यहाँ भने त्यही पत्नी कुनै एनआरएनले मिलाएको भिसमा अमेरिका जाने निश्चित भएको थाहा पाउँछ ऊ छाँगाबाट खसेको जस्तो हुन्छ। लेखक ग्रिन कार्डको लालसामा परिवारको विखण्डन कैयौँ नेपालीहरूको नियति बनेको तितो यथार्थ हाम्रो सामु पेश गर्छन्।

उपन्यासमा लोड सेडिङको अवस्थाले प्रताडित नेपालीहरूको अवस्था होस् वा राजधानीमा खाने पानीको हाहाकार; त्यसमाथि २०७२ सालमा अघोषित रूपमा लगाईएको आर्थिक नाकाबन्दीले उत्पन्न अभाव, रोग, भोक, शोकको प्रसंग मात्र ल्याएका छैनन्, सो समयमा लेखकले भोगेका आफ्ना तमाम दुखपीडाहरू पोखेका छन्।

नेपालमा १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वले सर्वसाधारण सबैभन्दा धेरै प्रताडित भए। यता नेतृत्व वर्ग आआफ़ू मिलेर सरकार बनाउने, बिगार्ने खेलमा मग्न भए, उता दुख नेपालीहरूको भागमा पारियो। १७००० भन्दा बढी नेपालीहरूको ज्यान गएको त्यो द्वन्द्वको परिणाम नेपालीलाई खालि आश्वासन र भरोसाका शब्दहरू मात्र हुन पुग्यो भन्दै लेखक ती नेपालीहरूको बलिदान व्यर्थ भएकोमा दुखित छन्।यसर्थ उनी उपन्यासको सूत्र-१६ मा नेपालको राजनैतिक नेतृत्व प्रति आक्रोश व्यक्त गर्दछन्।

नेपाली समाजको अर्को एक अर्को पहलुको लेखक उद्घाटन गर्दछन्-नेपाली समाज हल्लैहल्लाको देश हो। इतिहासदेखि नै हल्लाले हाम्रो जीवनको हरेक पक्षमा प्रभावित गर्दछ। यस विषयमा कवि भूपि शेरचनको प्रख्यात कविता नै छ। सानो कुरालाई बढाइचढाइ गर्नु नेपाली समाजको चारित्रिक गुण बन्न गएको जस्तो छ। यसका साथै आधुनिकताको नाममा क्रमश: यो समाज देखावाटीपन र औपचारिकतामा सीमित हुँदै गएको छ। नेपाली समाजमा क्रमिक रूपमा अनावश्यक ठस्सा देखाउने प्रवृत्तितर्फ बढेको छ। यस पक्षलाई पनि उपन्यासमा उधिनेका छन् लेखकले।

नेपालमा बढेको अर्को प्रवृत्ति हो-नेपालमा सबै जना शासन गर्न चाहन्छन्। सरकारी सेवा व भनौ राष्ट्र सेवामा खटिएका कर्मचारीहरू पनि यसै दिशामा उद्यत रहने गरेको विषय होस् वा नेपाली राजनैतिक नेतृत्वले जुँगाको बजारमा माछा, गोही, गिद्ध तथा छेपाराहरूको जुँगाहरू बटुलेको प्रसंगले उनीहरूको प्रवृत्तिगत बानीव्यहोरा दर्शाउन सफल छ। यसै प्रसंगमा नाग र व्यक्ति, देश र नेतृत्वको वर्णन जस्तो लाग्ने ‘नागमणि’ शीर्षकको प्रसंगले विभिन्न प्रकारका नागले नेतृत्वका विभिन्न रूप प्रतिबिम्बित गर्दछन् भने नागमणिको खोजीमा रहेका असहायजन भने विवश मुकदर्शक बन्न बाध्य छन् भन्ने देखाउँछ।

नेपाली समाजको अर्को प्रवृत्ति राजनीतिसँग सम्बद्ध छ।जस्तो देशको राजनीति छ त्यस्तै अन्य पक्ष पनि हुन्छन् भने जस्तो नेपालको बौद्धिक समुदाय पनि फाँटफाँट र समूह समूहमा विभक्त छ। वैचारिक भिन्नता होला तर बौद्धिकहरूको त राष्ट्रको अस्मिताको विषयमा एकै मत हुनुपर्ने होइन र! जसरी राजनीतिमा तामझाम र जालझेल हुन्छ त्यस्तै केही अपवाद बाहेक बौद्धिक जमात भनिने समुहहरू पनि उस्तै प्रवृत्तिका देखिन्छन्। यिनिहरू ‘फोहोरी खेल’ खेल्न कोही भन्दा कोही कम छैनन् भन्दै सूत्र २३ मा लेखक ‘…यति फोहोरी थियो कि फोहोर नै घ्रिणाले नाक थुन्थ्यो’ सम्म भन्न पुग्दछन्।

लेखक नेपाली समाजको अर्को एक बढ्दो प्रवृत्ति ‘आँशुको ब्यापार’ बारे ‘आँशु र पानी’ उपशीर्षकमा उल्लेख गर्दछन्।यस प्रसंगमा उनी नेपाली समाजमा बढ्दै गएको आम संचारको विकासले ल्याएको प्रविधिको प्रयोग गर्दै मानिसहरू आँशुको ब्यापार गर्न थालेको विषय उजागर गर्दछन्।संचार माध्यमको दुरूपयोग गर्दै पीडितका आँशुलाइ आफ्नो दुनो सोझ्याउने माध्यम बनाउने प्रवृत्ति प्रति लेखक रोष प्रकट गर्दछन्।

उपन्यासको पटाक्षेप भने सकारात्मक रूपमा अन्तिम सूत्र- ५५ को ‘सुन्दर गाउँ’ बाट भएको छ।यसले मानिसहरू आफ्नो काम आफैँ गर्न र उनीहरूले खोजेको वास्तविक परिवर्तन ल्याउन सक्षम छन् भन्ने सकारात्मक संदेश प्रवाहित गरेको छ।

उपन्यासका मूल विशेषता

कोमा शब्दको बिम्बात्मक प्रयोग : लेखकले ‘कोमा’शब्दलाई आफ्नो राष्ट्र नेपालको दुरावस्थाको मात्र चित्रित गरेका छैनन्, विदेशमा गुमनाम भएर रहन बाध्य नेपालीको पीडाको प्रतीकको रूपमा यसलाई प्रयोग गरेका छन्।‘कोमा’ मा पुगे पछि कुनै पनि प्राणीको अस्तित्व कहाँ हराउँछ केही थाहा हुँदैन। मान्छे मात्र होइन राष्ट्र नै कोमामा गए पछि केही चेत हुँदैन भन्ने अर्थमा यो शब्द प्रयोग भएको देखिन्छ। यो बिम्बको विशालतम प्रयोग यो उपन्यासको एक प्रमुख विशिष्टता हो।उपन्यास यसकै कवितात्मक अनुभूतिद्वारा ओतप्रोत छ।

नेपालमा बढेका प्रवृत्तिहरूको चित्रण : नेपाली समाजमा बढेका विभिन्न प्रवृत्तिबारे उपन्यासमा देखाएर लेखक समाजको नया तस्वीर देखाउछन्। जस्तो-संचार माध्यमको सहज उपलब्धतासंगै नेपालमा अचेल आफू सर्वज्ञाता जस्तो बनेर आफ्नो विद्वता प्रदर्शन नचुक्ने प्रवृत्ति।नेपालीहरूमा बढ्दै गएको यी लगायत विभिन्न प्रवृत्तिहरू उदाङ्गो पार्नु यो उपन्यासको विशेषता हो।

वर्तमान नेपाली समाजको चित्रण : समाज विकासका क्रममा नेपाली समाजका पुराना मूल्य र मान्यताहरू क्रमिक रूपमा परिवर्तन हुँदैछन्। मूल्य मान्यताहरूको गिर्दो साख होस् वा विखण्डित परिवारको कथाब्यथा हुन् लेखकले उपन्यासमा यस पक्षलाई सटिक रूपमा प्रस्तुत गरेका छन्। यस अर्थमा यो कृति विशिष्ट रहेको छ।

पात्रहीनताको प्रयोग : यो उपन्यासको एक अर्को विशेषता हो -पात्र भएर पनि तिनका नाम कतै उल्लेखन नहुनु। म, ऊ, उनी बाहेक मानिसको नाम उल्लेख नभएका पात्रहरूद्वारा कथा भनिएका छन्। कतिपय अवस्थामा लेखक आफैँ बोलेको हो जस्तो पनि लाग्दछ। आफूले भोगेका वा देखेका विषयहरू नै प्रथम वा द्वितीय पुरुषमा भनिएको छ। कतै ‘म’, कतै ऊ’ पात्रहरू प्रमुख भएर खण्ड खण्डमा कथाहरू भनिरहेको जस्तो लाग्दछ। यो यस सूत्र उपन्यासको विशेषता हो।

 राजनैतिक नेतृत्वको यथार्थ प्रकटीकरण : राजनीतिले देखाएको अमुर्त सपना भंग भएको, पत्रकार र नेताको गठजोड भएको अनि मानिस-मानिस बीच विभाजनको सिर्जना भएको तितो यथार्थलाई सहज प्रकटीकरण गरिएको छ। शासक, प्रशासक राजनीति र अर्थनीति बनाउँदासमेत आफ्नो स्वार्थलाई सर्वाधिक महत्त्व दिन्छन् भन्ने देखाउनु यो उपन्यासको उद्देश्य देखिन्छ। बाहिर ठिक्क पारे पनि भ्रष्टाचार र अनीतिपूर्ण कार्यको बचावट गर्ने प्रवृत्तिको उजागर गर्नु लेखकको ध्येय रहेको छ।

विदेश पलायनको पीडाको चित्रण : आजको नेपालमा विभिन्न कारणले नेपाली युवाहरूको बिदेशिनु पर्ने रहर होइन बाध्यता र नियति बन्न गएको जस्तो आभास हुन्छ।‘बिदेशिनु पनि त एक प्रकारको कोमामा जानु नै न हो’ भन्दै लेखक स्वयं फेरि कोमा (विदेश) जान लागेको संकेत गर्छन्। लेखक सोच्छन् -‘फेरि कोमामा गएर रेमिटान्सले देशलाई हिंड्न योग्य बनाउने कि, बगैचामा गएर, नियालेर फूलहरूलाई सुन्दर बनाउने? बिदेशी मुद्रा पठाएर राष्ट्रलाई समुन्नत बनाउने कि बगैचाका बिरुवाहरूको स्याहार-सुसार गरेर फूल फुलाउने?’ आफ्नो माटो र मातृभूमिमा पाइने पहिचान र स्वतन्त्रता कुनै पनि बिदेशी भूमिमा किमार्थ हुँदैन भन्ने उनको कथन छ।यसैले लेखक भन्न पुग्छन ‘…आफ्नै गर्भाशयको पिंजडामा किन नंग्रा नखियाउने?’

संकुचित हुँदै गएको नेपाली समाजको ऐना : जहाँसुकै रहे पनि आआफ्नो खेमा वा समुह वा आफ्ना मान्छेको सीमित दायरा बनाउने प्रवृत्ति बढ्दै गएको छ।जतिसुकै ठूल्ठूला कुरा गरे पनि आफ्नो जिल्ला, आफ्नो गाउँ अझ आफ्नो जात र थर भएकाहरूसंग समुह बनाउने र आफू सुरक्षित भएको महशुश गर्ने नेपालीहरूको प्रवृत्तिले नेपाली समाजको संकुचन हुँदै गएको आभास हुन्छ। ‘सयौं थुङ्गा फूलका हामी, एउटा माला नेपाली’ भनेर राष्ट्रगान गाउने त्यही मान्छे आफ्नो जात, धर्म, लिंग र स्थानको आधारमा आफ्नो खेमा बनाउछ र आफूलाई पर्दा त्यही खेमाले बोलिदिन्छ भने उसको सोच हुन्छ।

जो आफ्नो खेमा(समूह)मा पर्दछ त्यो राम्रो, त्यसका हरेक क्रियाकलाप राम्रा र जो आफ्नो खेमा बाहिर पर्छ त्यसका अवगुणको मात्रै चर्चा गर्छ।जो खेमा बनाउन जान्दैन/बनाउदैन त्यो समाजबाट लगभग परित्यक्त हुन्छ; उसको कुनै चर्चा सम्म पनि हुँदैन जतिसुकै योगदान गरेको भए पनि। (सूत्र २५. ‘आआफ्नो खेमा’) खेमामा हुनेहरू जेलबाट सबै छुट्दा पनि कुनै खेमा बनाउन नजान्नेहरू निर्दोष भएर पनि थुनिन बाध्य हुन्छन् भन्ने कटु यथार्थ देखाउने यो उपन्यास नेपाली समाजको ऐना बन्न सफल भएको छ।

उपसंहार

सूत्रहरूको मालामा उनिएको यो एक प्रयोगात्मक उपन्यास हो। यसलाई पुरानो चश्माले हेर्नु हुँदैन। यसले उपन्यासको परम्परागत अर्थ, परिभाषा र रूपको प्रतिनिधित्व गर्दैन तर नबिन ढंगबाट हाम्रा भोगाइहरूको चित्रण गर्न भने कुनै हालतमा पनि पछि परेको छ जस्तो लाग्दैन। विभिन्न प्रसंगमा नेपालको राजनैतिक-सामाजिक-आर्थिक अवस्थाको तस्विर देखाउंदै देश विषमताको पराकाष्ठामा पुगेकोमा लेखक चिन्तित देखिन्छन।

९५ पृष्ठ भएको र ५५ सूत्रहरू(अध्याय/शीर्षक)मा उनिएको यो सूत्र उपन्यास वा आख्यान लेखनको सवै स्थापित मापदण्ड विपरित अथवा मापदण्डको विखण्डन गर्दै सम्भवत नेपाली साहित्यमा नवीन भावभंगीमा लेखिएको यस प्रकारको पहिलो प्रयोगात्मक कृति हुन पुगेकोछ। यो उपन्यास साहित्यका पुराना परिभाषा, मूल्य र मान्यतालाई भत्काइदिएर नवीनता ल्याउन सफल एक उत्कृष्ट कृति बन्न पुगेको छ भन्न संकोच मान्नु पर्दैन।

सारांशमा भन्नुपर्दा, यो उपन्यास नेपाल, नेपाली समाज, राजनीति, नेतृत्व वर्ग, आममानिस, बौद्धिक वर्गलगायत पुरुष-नारी सम्बन्ध, यौन, भ्रष्टाचार, अनैतिकता, विसंगति र विषमता, भुइँमान्छेका विवशता र बाध्यता देखाउन सफल छ। साथै, नेपाल आमा अहिले (सायद यो उपन्यास लेखिदाको समय २०७१/७२ साल तिर) ‘कोमा’मा थिइन् र आज पनि त्यसमा खासै सुधार आएको छैन। देशबाट ता आमा जगाउने प्रयास जारी नै हुन्छ तर ‘कोमा’ (अर्थात विदेश) गएर भएपनि नेपालीहरू नेपाल आमाको पुनरुत्थान गर्नका लागि प्रत्येक दिन पसीना बगाइरहेका छन् भन्ने सकारात्मक संदेश दिन उपन्यास सफल मान्नुपर्दछ।

[कूटनीति र साहित्य लेखनमा रुचि भएका लेखक जर्मनीका लागि नेपालका पूर्वराजदूत र शिष्टाचार महापाल हुन्।]

प्रकाशित: १५ असार २०८१ १४:१२

प्रतिक्रिया

One thought on “सूत्र लेखनमा कात्यायनको नयाँ प्रयोग : ‘कोमामा आमा’

  1. यो पुस्तकको बिमोचन जर्मन स्थित नेपाली राजदूतावासमा भएको थियो जस्तो लाग्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 4 =