एकीकृत समाजवादीभित्र राजनीति गर्दै कांग्रेस र एमाले

हिमाल प्रेस ९ असार २०८१ १८:५४
204
SHARES
एकीकृत समाजवादीभित्र राजनीति गर्दै कांग्रेस र एमाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली।

काठमाडौँ– नेकपा एकीकृत समाजवादी दसौँ राष्ट्रिय महाधिवेशनको संघारमा छ। महाधिवेशनका लागि देशभरबाट एक हजार आठ प्रतिनिधि छनोट भएका छन्। असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुने महाधिवेशनबाट चयन हुने नेतृत्वका लागि एकीकृत समाजवादीमा रस्साकस्सी छ।

एकीकृत समाजवादीलाई मात्रै होइन, नेपाली कांग्रेस र नेकपा एमालेलाई पनि एकीकृत समाजवादीको महाधिवेशन लागेको छ। एकीकृत समाजवादीको नेतृत्वमा आउने व्यक्तिका कारणले देशको राजनीति कता निर्देशित हुन्छ भन्ने समेत तय हुने भएकाले कांग्रेस एमालेले यसमा चासो दिएका हुन्।

संघीय संसद्मा १० र राष्ट्रियसभामा आठ सदस्य रहेको एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गरेको छ। अन्य प्रदेशमा पनि एकीकृत समाजवादीको उपस्थितिले सत्ता समीकरण फेरबदल गर्न सहयोग गर्छ।

सानो संख्या भए तापनि संसदीय अंकगणितमा एकीकृत समाजवादीको उपस्थिति अर्थपूर्ण छ। त्यसैले कांग्रेस-एमाले यो पार्टीको नेतृत्वमा आफू अनुकूल व्यक्ति होस् भन्ने चाहन्छन्। यसकारण कांग्रेस र एमाले आफू अनुकूल नेतृत्व एकीकृत समाजवादीमा स्थापित गराउने प्रयासमा रहेको समाजवादीका नेताहरू बताउँछन्।

एकीकृत समाजवादीमा माधव नेपाल, झलनाथ खनाल र घनश्याम भुसाल नेतृत्वको आकांक्षी छन्। नेपाली कांग्रेस र नेकपा एमाले यी तीन नेता नेतृत्वमा आए के हुन्छ भन्ने सन्देश एकीकृत समाजवादीका नेताकार्यकर्तामा प्रवाह गरिरहेका छन्। जसले एकीकृत समाजवादीको महाधिवेशनलाई राजनीतिक रूपमा रोचक र घोचकसमेत बनाइदिएको छ।

कांग्रेसको चाहना : माधव नेपाल

माधवकुमार नेपाल एकीकृत समाजवादीको नेतृत्वमा दोहोरिए सहज हुने नेपाली कांग्रेसको बुझाइ छ। त्यसैले कांग्रेसले नेपाल दोहोरिए प्रधानमन्त्री बन्न सक्ने आस एकीकृत समाजवादीका नेता/कार्यकर्ताकहाँ पुर्‍याइरहेको छ। नेपाललाई बलियो हुने गरी नीति लिन पनि कांग्रेसले भन्दै आएको नेपाल निकट एक नेताले बताए। यसकारण नेपालले प्यानल बनाएर चुनाव लड्न नपाउने नीति पार्टीबाट पास गराएका छन्।

महाधिवेशन प्रतिनिधि छनोटमै यस्तो दृश्य देखापरेको नेताहरू बताउँछन्। महाधिवेशन आयोजक समिति स्वत: प्रतिनिधि हुने व्यवस्था गरिएकाले करिब चार सय ५० केन्द्रीय नेता स्वत: प्रतिनिधि हुँदैछन्।

यसअघि केन्द्रीय नेता पनि चुनियर आउनपर्ने निर्णय गरिएकामा उक्त व्यवस्थालाई संशोधन गरी केन्द्रीय तहका नेता स्वत: प्रतिनिधि हुने व्यवस्था गरिएको हो। यसो गर्नुको कारण नेपालको नेतृत्वमा दोहोरिने आकांक्षा जोडिएको नेताहरू बताउँछन्।

छनोट गरिएका प्रतिनिधिको कुल संख्याको पाँच प्रतिशत अर्थात् ९५ जना मनोनयन गर्ने व्यवस्था पनि छ। केही दिनमा ती प्रतिनिधि मनोनयन गरिने पार्टी कार्यालयले जनाएको छ। यसले समेत हाल संस्थापन पक्षमा रहेका वा पार्टी नेतृत्व गरिरहेका नेपाललाई सहयोग पुर्‍याउने नेताहरूको दाबी छ।

एमाले नीति : सके झलनाथ नसके घनश्याम

एकीकृत समाजवादीमा एमाले भन्दा अलग हुन नसकेको बुझाइ राख्ने पनि छन्। साथै समय मिलाएर एमालेसँग एक भएर जानुपर्ने मत राख्ने पनि छन्। यस्तो मत राख्नेहरूलाई एमाले नेताहरूको अभिव्यक्तिले ढाढस दिने गरेको समाजवादीका नेता बताउँछन्।

एकीकृत समाजवादीसँग एकता गर्ने र एकीकृत समाजवादीका नेताहरूलाई सम्मानजनक उपस्थिति पार्टीमा गराएर एमाले सबैभन्दा ठूलो पार्टी बन्ने सोचमा रहेको सन्देश नेता÷कार्यकर्ताहरू प्रवाह गरिरहेका छन्।

संसद्को सबैभन्दा ठूलो दल बन्न एमाले एकीकृत समाजवादीसँग एकता गर्न चाहन्छ र ठूलो पार्टी बन्ने ध्याउन्नमा एमाले नेतृत्वले एकीकृत समाजवादीलाई सम्मानजनक उपस्थिति पार्टीमा गराउँछ भन्ने सन्देश दिइरहेका छन्।

खनाल नेतृत्वमा आए उनलाई संसद्मा ल्याउन भूमिका खेल्ने आश्वासन पनि एमाले नेताहरूले एकीकृत समाजवादीका नेता÷कार्यकर्ताकहाँ पुर्‍याएका छन्। यसका लागि कुनै प्रतिनिधिसभा सदस्यलाई फिर्ता बोलाउने वा राष्ट्रियसभा सदस्यको निर्वाचनलगायतका विकल्प दिइएका छन्।

यसमा एमालेको सत्ता राजनीतिक छ। केही गरी नेपाल दोहोरिए उनी सधैँ कांग्रेसका लागि सहयोगी हुने एमाले नेतृत्वको बुझाइ छ। एमाले नेतृत्व पनि माधव नेपालसँग सहकार्य गर्न नसकिनेमा प्रस्ट रहेको नेताहरू बताउँछन्।

दुवै खेमामा नरहेका र खासगरी युवा पुस्ता घनश्याम भुसाललाई नेतृत्वमा अगाडि सार्न खोज्दैछन्। नेपालले पार्टीमा पकड जमाएकाले हाफू हार्ने जस्तो देखे उनले भुसाललाई सहयोग गर्ने पनि कतिपय नेताहरूको विश्वास छ।

भुसाल पनि बृहत् वाम एकताका पक्षमा छन्। उनी एमालेसहितको ध्रुवीकरणका पक्षमा वकालत गरिरहेका नेता हुन्। यसकारण नेपाल नभएर झलनाथ खनाल आउँदा राम्रो र खनाल आउन नसक्ने अवस्थामा भुुसाल नेतृत्वमा आउनु उचित हुन्छ भन्ने बुझाइमा छ।

एकीकृत समाजवादीका नेताहरूबीच नेतृत्वका लागि रस्साकस्सी चलिरँदा नेतृत्वका आकांक्षीहरूलाई एकीकृत समाजवादीभित्र बलियो बनाउने भूमिका नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले गरिरहेका छन्।

संघीय संसद् र प्रदेश सभामा एकीकृत समाजवादीको संख्या एमाले नेतृत्वको वर्तमान सत्ता गठबन्धनका लागि आवश्यक छ। एक ठाउँ नरहे अन्यत्र नरहने प्रवृत्ति वा अभ्यासका कारण वर्तमान गठबन्धनका लागि एकीकृत समाजवादीको साथ आवश्यक छ।

कांग्रेस पनि एकीकृत समाजवादी आफूँसग हुँदा वर्तमान सत्ता समीकरण बदल्न सहयोग पुग्ने हिसाब गरिरहेको छ। एकीकृत समाजवादीको साथ पाए तत्काल संघीय सरकार नफेरिए पनि प्रदेश सभामा थप सहज हुने कांग्रेसको संसदीय अंकगणित छ। यसकारण कांग्रेस र एमाले एकीकृत समाजवादीमा आफू अनुकुल नेतृत्व आओस् भन्ने चाहन्छ।

एकीकृत समाजवादी : बाहिरबाहिर सर्वसम्मतको रटान, अध्यक्षमा आआफ्नै दाबी

प्रकाशित: ९ असार २०८१ १८:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =