वर्तमान सरकार पाकेको आँपजस्तै हो : डा. कोइराला

हिमाल प्रेस ८ असार २०८१ २०:४७
10
SHARES
वर्तमान सरकार पाकेको आँपजस्तै हो : डा. कोइराला नेपाल मुस्लिम संघ मोरङको तेस्रो जिल्ला अधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै कांग्रेस नेता डा. शेखर कोइराला। तस्बिर : हिमालप्रेस

इटहरी– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार पाकेको आँपजस्तै रहेको बताएका छन्। नेपाल मुस्लिम संघ मोरङको तेस्रो जिल्ला अधिवेशन शनिबार उद्घाटन गर्दै नेता कोइरालाले उक्त कुरा बताएका हुन्। उनले भने, ‘यो सरकार पाकेको आँप जस्तो हो। कुन बेला झर्छ थाहा छैन।’

उनले संघ र प्रदेशमा गरी विगत डेढ वर्षमा २३ पटक सरकार फेरिएको बताए। स्थिर सरकार नभएकाले पनि जनअपेक्षाअनुसारको काम हुन नसकेको कोइरालाले उल्लेख गरे। नेता कोइरालाले सरकार गिराउने र ढाल्ने खेलमा कांग्रेस नभएको प्रस्ट पारे। उनले भने, ‘सरकार गिराउने र बिगार्ने खेलमा कांग्रेस लाग्दैन। सत्तारुढ दलभित्रै कलहका कारण यो सरकारको भविष्य पनि त्यति लामो छैन।’

कोइरालाले भ्रष्टाचारले मुलुकलाई नराम्ररी गाँजेको बताउँदै भ्रष्टाचारको विषय आउँदा जहिले पनि ठूला दलका नेतृत्व तहमा रहेका नेताहरू एक ठाउँमा उभिने गरेको प्रस्ट्याए। उनले भने, ‘ठूलाठूला भ्रष्टाचारका विषय उठ्दा ठूला दलका नेतृत्व तहमा रहेका नेताहरू एकै ठाउँमा उभिने गरेकाले पनि भ्रष्टाचार नियन्त्रणमा समस्या देखिएको छ। भ्रष्टाचारलाई ठूला दलका नेताले नै मलजल गरिरहेका छन्।’

भ्रष्टाचारका कारण अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि धमिलिँदै गएको उनको कथन थियो। नेता कोइरालाले भ्रष्टाचारका काण्ड बाहिर आउने तर केही समयपछि त्यत्तिकै सेलाएर जाने गरेका कारण भ्रष्टाचार नियन्त्रणमा नेपालको भूमिकाप्रति अन्तर्राष्ट्रिय स्तरमा प्रश्न उठ्ने गरेको बताए। भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम नगरेसम्म मुलुकको आर्थिक विकास हुन नसक्ने उनको भनाइ थियो।

नेता कोइरालाले २०८४ सालमा हुने आमचुनाव कांग्रेस एक्लै लड्ने बताए। विगतमा गठबन्धन गरेर चुनावमा जाँदा सरकार सञ्चालनको क्रममा कांग्रेसले धोका पाइसकेकाले अब कांग्रेस एक्लै चुनावमा जानुपर्नेमा जोड दिए। कोइरालाले मुस्लिम समुदाय लोकतन्त्रप्रति प्रतिबद्ध रहेकाले उनीहरूको शिक्षा र आर्थिक विकासका लागि राज्य गम्भीर हुनु आवश्यक रहेको बताए।

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौला, मुस्लिम संघका संस्थापक अध्यक्ष तथा नेका केन्द्रीय सदस्य अब्दुल सतारले राजनीतिक प्रतिनिधित्वमा मुस्लिम समुदायको अवस्था कमजोर भएकाले त्यसतर्फ कांग्रेले ध्यान दिनुपर्नेमा जोड दिए। विराटनगर महानगरपालिका मेयरसमेत रहेका नेपाली कांग्रेस मोरङका उपसभापति नागेश कोइरालाले नेपाली कांग्रेसको इतिहासमा महत्त्वपूर्ण योगदान दिने मुस्लिम समुदायको समस्या समाधान गर्न ध्यान दिनु जरुरी रहेको विचार राखेका थिए।

प्रकाशित: ८ असार २०८१ २०:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =