कौशिक वैदिक गुरुकुललाई युगनाथ जनकल्याण पुरस्कार

हिमाल प्रेस ८ असार २०८१ १३:३४
434
SHARES
कौशिक वैदिक गुरुकुललाई युगनाथ जनकल्याण पुरस्कार थापाथली जनकल्याण परिवारले शनिबार आयोजना गरेको कार्यक्रममा सम्मान ग्रहण गर्दै कौशिक वैदिक गुरुकुलका प्रधानाचार्य रामचन्द्र तिमल्सिना। तस्बिर : हिमाल प्रेस

काठमाडौँ– काभ्रेको भुम्लुस्थित कौशिक वैदिक गुरुकुललाई युगनाथ जनकल्याण पुरस्कार अर्पण गरिएको छ। काठमाडौँको थापाथलीमा रहेको थापाथली जनकल्याण परिवारले गुरुकुललाई शनिबार आयोजित कार्यक्रममा १५ हजार नगदसहितको उक्त पुरस्कार समर्पण गरेको हो।

परिवारको ३५ औँ वार्षिकोत्सकका अवसरमा आयोजित कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ एवम् समाजसेवी मृर्गेन्द्रराज पाण्डेले गुुरुकुलका संस्थापक एवम् प्रधानाचार्य रामचन्द्र तिमल्सिनालाई पुरस्कार अर्पण गरेका थिए। वैदिक वाङ्मयअन्तर्गतका वेदसहित संस्कृत व्याकरण, साहित्यका महत्त्वपूर्ण विधाहरू तथा आधुनिक विषय पठनपाठन गरी गौशालासमेतका माध्यमबाट शैक्षिक एवम् आध्यात्मिक चेतना वृद्धि गरेबापत गुरुकुललाई उक्त सम्मान गरिएको परिवारले जनाएको छ।

सम्मानित भएपछि तिमल्सिनाले वेदको संरक्षण गर्नुपर्छ, गुरुकुल हाम्रो आफ्नो पद्धति हो भन्ने मान्यताका साथ एक दशकअघि स्थापित गुरुकुल सम्मानित हुँदा आफू हर्षविभोर भएको बताए। ‘भौगोलिक रूपमा अति विकट सुनकोशीको तटमा रहेर हामीले गुरुकुल स्थापना गरेर आज सम्मानित हुन पाउँदा जिम्मेवारी बढेको महसुस भएको छ’, उनले भने।

लुकेर काम गर्दा पनि समाजले देख्दो रहेछ भन्ने आफूलाई लागेको उनको भनाइ छ। उनले शिक्षाको माध्यमबाट नै संस्कार र संस्कृतिको संरक्षण गर्न सक्ने बताए। उनले गुरुकुलमा योग, आयुर्वेद र प्राकृतिक चिकित्सासँगसँगै अगाडि बढाउने उद्देश्य रहेको जानकारी दिए। त्यसका लागि जमिन पनि खरिद गरेको बताउँदै उनले थापाथली जनकल्याण परिवारलाई गुरुकुलको भ्रमण गर्न आमन्त्रण गरेका थिए।

कार्यक्रममा ५१ हजार रुपैयाँ राशिको जनकल्याण पुरस्कार डा. वेणीमाधव ढकाललाई (मरणोपरान्त), व्यासाचार्य किशोरकुमार गौतमलाई २० हजार रुपैयाँ राशिको ललितजंग सिजापति पुरस्कार अर्पण गरिएको थियो।

यसैगरी प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ र डा. रमा भट्टराईलाई जनकल्याण सम्मान अर्पण गरिएको थियो। निःशुल्क रूपमा संस्थाको लेखा परीक्षण गरेर सहयोग गरेबापत लक्ष्मीरत्न बज्राचार्यलाई १० हजारसहित सम्मान गरिएको थियो।

सम्मानित हुनेमा साइकल दौडका खेलाडी निरभ श्रेष्ठ (१० हजार रुपैयाँ), गीतसंगीत विधामा योगदान दिएबापत सुरेन्द्र श्रेष्ठ (१० हजार रुपैयाँ), गायन क्षेत्रमा संलग्न उत्सव नेपाल र सिर्जना दाहाल (१०-१० हजार रुपैयाँ) छन्।

गुह्येश्वरी बाल शिक्षा माविकी छात्रा अर्पणा खनाललाई १० हजार रुपैयाँको नन्दलाल जोशी स्मृति पुरस्कार, थापाथलीस्थित गायत्री मन्दिरलाई १० हजार राशिको आर्थिक सहयोग, विश्वनिकेतन र गुह्येश्वरीका ६ जना छात्रछात्रालाई जेनहन्दार छात्रवृत्ति, विश्वनिकेतन र गुह्येश्वरीका दुईदुईजना छात्रछात्रालाई विजयकोकिल छात्रवृत्ति र स्वयंसेवकहरूलाई उपहार प्रदान गरिएको थियो।

प्रकाशित: ८ असार २०८१ १३:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =