साहित्यवार्ता

लेखनका लागि अध्ययनको दायरा फराकिलो हुनुपर्छ :  साहित्यकार किरण आचार्य [अन्तर्वार्ता]

हिमाल प्रेस ८ असार २०८१ १२:४७
96
SHARES
लेखनका लागि अध्ययनको दायरा फराकिलो हुनुपर्छ :  साहित्यकार किरण आचार्य [अन्तर्वार्ता]

नेपालगन्जकी साहित्यकार किरण आचार्य उमेरले ६५ पार गरिन्। एमए र बीएड सकेपछि लामो समय प्राध्यापनमा बिताएकी आचार्य पछिल्लो समय साहित्य साधनामा सक्रिय छिन्। सानैदेखि साहित्यमा रुचि भए पनि लेखनमा भने दुई दशकयता मात्रै समय दिन सकेको उनी बताउँछिन्। उनी तीन कृति प्रकाशनको तयारीमा लागिरहेकी छन्। उपन्यास ‘अहिल्या’, एक कथासंग्रह र लघुकथा।

आचार्यको २०३३ सालमा पहिलोपटक  क्याम्पसको मुखपत्रमा ‘प्रेतआत्मा’ नामक कविता छपिएको थियो। त्यसयता उनको कथासंग्रह, कवितासंग्रह, मुक्तकसंग्रह र उपन्यास कृति प्रकाशित छ। (कवितासंग्रह-अनुभूति(२०६०), मुक्तकसंग्रह-अस्तित्व(२०६२), कथासंग्रह-क्यान्टोनमेन्ट (२०७७), सप रजुवा (थारु भाषामा २०७७), सृष्टिचक्र (२०७८), उपन्यास जरत्कारु (२०७९), परशुराम (२०८०)। उनै साहित्यकार आचार्यको व्यक्तिगत जीवन र साहित्यबारे जितराज सापकोटाले गरेको कुराकानी :

तपाईँको साहित्यलेखन कहिलेबाट सुरु भयो?

हाम्रो विद्यालय पञ्चोदय मावि धनगढीमा प्रायः साहित्यिक र सांस्कृतिक कार्यक्रम भइरहन्थ्यो। सानैदेखि साहित्यिक कार्यक्रम निकै मन पराउँथेँ। २०२४ सालमा म नौ वर्षकी थिएँ। कक्षा चारमा पढ्थेँ। पृथ्वीजयन्तीको उपलक्ष्यमा विद्यालयमा कविता प्रतियोगिता राखिएको थियो। मलाई धमिलो सम्झना छ। गुरुहरूले घरबाट कविता लेखेर ल्याउन भन्नुभयो। मैले लेख्न जान्ने कुरो भएन। बुबालाई भनेँ। उहाँले एउटा कविता लेखिदिनुभयो- ‘भारत चीनको बीचमा रहेको यो नेपाल’।

भिन्दा भिन्दै राज्य गराई बसेका थिए नेपाल
साना राज्य धेरै भए टुक्राटुक्री बनेर
कसे कम्मर पृथ्वीले विशाल बनाउँ भनेर
सोचे पुग्थ्यो वीर राजाले जुटे सब गोर्खाली
बाँधे एउटै सूत्रले बने सब नेपाली

मैले यो कविता वाचन गरेपछि सबैले निकै प्रशंसा गर्नुभयो। मेरो फोटो खिच्नुभयो। त्यो बेला फोटो खिच्नु निकै ठूलो कुरा मानिन्थ्यो। म कति खुसी भएँ भनेर शब्दमा बयान गर्न सक्दिनँ। यो कविता मैले लेखेको भनेर कसैले विश्वास गर्ने त कुरो भएन तर मलाई दोस्रो बनाइदिनुभयो। हातमा पहिलोपटक पुरस्कार जितेर घर जाँदाको मेरो प्रसन्नताले आकाश छोएको थियो। घरमा आमाबुवा खुसी हुनुभयो। त्यस दिनदेखि कविता लेख्नु यति राम्रो कुरो रहेछ भनेर अनुभव भयो।

अनि मैले बिस्तारै जे पायो त्यही कोर्न लागेँ। ती कविता बन्ने त कुरै थिएनन् तथापि लेख्न छोडिनँ। लेख्दै बुवालाई देखाउन थालेँ। बुबाले सच्याइदिनुहुन्थ्यो। विद्यालयमा हुने कवितावाचन कार्यक्रममा पनि सहभागी हुन्थेँ। त्यसबेला मैले आफूल विजेता हुँदा ठूलो सन्तुष्टि प्राप्त गर्थें। बुबाले रेडियो नेपालमा आउने बाल कार्यक्रम बजाइदिनुहुन्थ्यो। सुन्ने गर्थेँ। त्यहाँ बोल्न मन लाग्थ्यो तर सम्भव थिएन।

तैपनि समय बित्दै गयो। लेख्दै गएँ तर दुर्भाग्य त्यतिबेला धनगढीमा छापाको व्यवस्था थिएन। न त मलाई छापाबारे केही जानकारी थियो। निरन्तरता दिए तर ती सबैलाई संकलन गर्नेबारे ज्ञान थिएन। कृतिको महत्त्व नै बुझिन्। कक्षा सातमा पढ्दा महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता ‘भिखारी’ पढ्नुपर्दथ्यो।  उहाँले लेख्नुभएको थियो-

हेर भिखारी अडी/अडी आयो
करुण दृष्टिले नजर उठायो…
महाकविको कविताको मूल्यांकन गर्ने मेरो सामर्थ्य हुने कुरो त भएन तैपनि मेरो बालमनले केही असहमति जनाएछ र यस्तो कविता लेखेछ-

ए, नदेऊ नदेऊ भिख त्यसलाई
हो तर एक भिखारी
माग्दै हिँड्दछ दैलो दैलो
पेसा बनाई भिखलाई
कर्तव्यशील मानव जीवन
निष्क्रिय बनाई जिउँछ
पाखुरामा बल हुँदा हुँदै पनि
अरूसँग दाँत किच्याउछ।…  

अहिले तपाईँको लेखन गतिविधि कसरी बढिरहेको छ?

क्याम्पस पढ्न लागेपछि मैले कथा पनि लेख्न थालेँ। कथा र कविता लेखन दुवै विधामा कलम चलाइरहन्थेँ। २०३७ सालमा वैवाहिक जीवन सुरु भयो। म गृहिणी भएँ। घरको दायित्व बढ्दै गयो। अन्य समयमा लेखन कार्य सम्भव हुँदैनथ्यो। सबै सुतिसकेपछि राति लेखन कार्य गर्थेँ। मेरा कथा अग्रज साहित्यकार मदनमणि दीक्षित, नगेन्द्रराज शर्मा दाइ, भाइ वासु अधिकारीलगायतले मन पराइदिनुहुन्थ्यो। निकै राम्रो बयान गरिदिनुहुन्थ्यो। वासु भाइले त शब्द संयोजन नामक पत्रिकामा मेरा चारवटा कथा पनि प्रकाशन गरिदिनुभएको थियो।

म २०६१ सालमा धम्बोजी माविको प्रधानाध्यापक भएँ। बिहान ६ बजे घरबाट निस्कन्थेँ। साँझ पाँच बजे घर फर्कन्थेँ। शरीर थाकेर शिथिल हुन्थ्यो। यस्तो अवस्थामा न केही सोच्न सक्थेँ न त लेख्न नै। २०७५ असोज १९ गरे सेवानिवृत्त भएँ। नगरपालिकाको आग्रहमा मैले पुनः एउटा असहज परिस्थितिको विद्यालयमा सल्लाहकारका रूपमा कार्य गर्नुपर्ने भयो। २०७७ मा कोभिड कारण विद्यालय बन्द भए। घर बस्नुपर्ने भयो। यसै बेला मेरा पुराना चारवटा पुस्तक बन्न पुग्ने कथाहरू जलेर नष्ट भयो। एउटा सर्जकलाई आफ्नो सिर्जना मर्दा के हुन्छ? लेखन कार्य समाप्ति भएको जस्तो ठानेँ। मुटु फुट्लाजस्तो भयो।

जीवन कहालीलाग्दो हुन पुग्यो। मेरो पतिले ‘फेरि तिनै कुरा राखेर कथा लेख’ भन्नुभयो तर त्यतिका कथामा मैले केके लेखेकी थिएँ बिर्सिसकेकी थिएँ। उहाँको प्रश्नको मसित कुनै जबाफ थिएन। एक दिन नेपालगन्जका सुप्रसिद्ध पत्रकार झलक गैरेको फोन आयो। उनले मलाई मेरा विगत स्मरण गराउँदै लेखन कार्य अगाडि बढाउन अनुरोध गरे। मैले पनि सुरू गरेँ किनभने मसित विकल्प थिएन।

त्यसपछि कलम पुनः चलाए। कथा लेख्दै थिएँ। त्यही बेला साहित्यकार कल्पना खरेलसित भेट भयो। उहाँले मलाई उपन्यास लेख्न उत्साहित गर्नुभयो। त्यतिबेला नै हो मैले ‘जरात्कारु’ लेखेकी। त्यसपछि करिब पाँचवटा उपन्यास लेखेँ। अब मलाई उपन्यास लेखन कार्य नै सहज लाग्छ।

वर्तमान लेखनप्रति सन्तुष्ट हुनुहुन्छ?

सन्तुष्ट हुनु राम्रो हो भन्छन् तर मलाई लाग्छ सन्तुष्टि सिर्जना र प्रगतिको बाधक हो। मेरो लेखनलाई पाठकले कस्तो मान्नुहुन्छ त्यो महत्त्वपूर्ण कुरा हो। पुस्तक प्रकाशन गरिसकेपछि त्यो त पाठकको सम्पत्ति हुन्छ।

कुनै नयाँ कृतिको तयारीमा हुनुहुन्छ कि?

एउटा साहित्यकारको कलम रोकिनु भनेको सिर्जना रोक्नु हो- जुन मृत्युको पर्याय हो। शरीर र चेतनाले साथ दिएसम्म लेखन कार्य निरन्तर गर्न सकूँ-ईश्वरसित यही प्रार्थना छ।

साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ जस्तो लाग्छ?

कृतिको उचित मूल्यांकन गरिदिए हुन्थ्यो जस्तो लाग्छ।

तपाईंको साहित्यिक आदर्श के हो?

समाजमा भए/गरेका यथार्थ चित्रण। त्यसका साथै वैदिक/पौराणिक ग्रन्थमा उल्लेख भएका र समाजमा छरिएका कुराका बीचमा पटक्कै तालमेल रहेनछ। ती पुराणमा भएका यथार्थलाई सबैसामु ल्याउन सकूँ।

अहिले नेपाली लेखकले आफ्नो लेखकीय दायित्व वहन गरिरहेका छन् त?

कृति निकै सिर्जना भएका छन्, जुन अत्यन्त सुन्दर पक्ष हो तर ती कृतिमा कुनै दिन पक्कै प्राण भरिनेछन् भन्ने आशा गरौँ।

तपाईं आफ्ना कृतिबाट सन्तुष्ट हुनुहुन्छ?

यो कुरा त पाठकवर्ग एवं समालोचकहरूले नै भन्नु हुनेछ।

साहित्य लेखनमा हिजो र आजको तुलना कसरी गर्नुहुन्छ?

समाज पुस्ता/दरपुस्ता बदलिँदै जान्छ। संस्कृति पनि परिवर्तन हुँदै जान्छन्। तसर्थ मानव सोच र अभिरुचि पनि फरक हुनु स्वाभाविक हुन्छ। एकै प्रकारको सिर्जना भए त्यसलाई सिर्जना भन्न पनि मिल्दैन त्यो त अनुकरण बन्न जान्छ। केही सिर्जना परिमार्जनको पर्खाइमा छन् भने केही त गहन अध्ययन र अनुसन्धानबाट अत्यन्त उत्कृष्ट कृति सिर्जना भएका छन्। यसमा महिलाको संख्या पनि बडो लोभलाग्दो छ।

तपाईंको विचारमा साहित्य कस्तो लेखिनुपर्छ?

यो त लेखकको रुचिमा नितान्त निर्भर हुन्छ। लेखकलाई के कुराले प्रभावित बनाउन सक्छ भन्ने मूल कुरो हो।

लेखनप्रति केले प्रेरणा दिन्छ जस्तो लाग्छ?

लेखकलाई उत्प्रेरित गर्ने कुरा ती जसले उसको मन मस्तिष्क छुन्छ। अन्तरमनलाई नै झकझक्याउँछन्। महर्षि गौतमको न्याय दर्शनका अनुसार प्रकृतिमा भएका अर्थात् ब्रह्म एवं आत्माबाहेकका सबै कुरा ज्ञेय हुन्। दृष्टि र दृष्टिकोणको आवश्यकता हुन्छ। लेखकलाई कुन कुराले प्रभाव पार्छ त्यो नितान्त लेखकको स्वभाव र अभिरुचिमा निर्भर हुन्छ।

तपाईंको लेख्ने निश्चित समय छ कि?

म प्रायः बिहान र दिउँसो लेख्ने गर्छु।

लेख्न कस्तो वातावरण चाहिन्छ?

शान्त र एकान्त।

लेख्ने विषयवस्तु कसरी छान्नुहुन्छ?

यो त घटना एवं पात्र हेरेर हुन्छ।

सफल स्रष्टाका आवश्यक गुण के-के हुन्?

उसले केवल आफ्नो अनुभव र भोगाइलाई पस्कियोस्, नयाँपन ल्याउन सकोस्।

साहित्यमा कुन विधाका पाठक बढी भएको महसुस गर्नुहुन्छ?

यो पाठकको नितान्त व्यक्तिगत कुरा हो। लेखकीय दृष्टिकोणले भन्नुपर्दा कसले के मन पराउँछ भनेर लेख्न थाल्ने हो भने त्यो त व्यावसायिक लेखन भयो। जुन चलचित्रको सेरोफेरोको कुरा हो। सिर्जना र व्यवसायमा धेरै अन्तर हुन्छ।

सिर्जनामा सजीवता र काल्पनिकतामध्ये कुन बढी हुनुपर्ला?

दुवै बराबरी महत्त्वका कुरा हुन्।

लेख्नुपर्ने बाध्यता कतिबेला महसुस हुन्छ?

जतिखेर विषयवस्तु वा पात्रको चरित्रले मन छुन्छ।

नयाँ लेखकलाई केही सुझाव दिनुहुन्छ कि?

अध्ययनलाई फराकिलो पार्नुस् किनभने एउटा सर्जकलाई धेरै कुरा जान्नु आवश्यक हुन्छ जस्तो लाग्छ। साथै आफ्ना भावनामा समर्पित हुनुहोस्। जे देख्नुहुन्छ र जे अनुभूत गर्नुहुन्छ त्यही लेख्नुहोस्। अर्काको अनुकरण कदापि नगर्नुहोस्। यसो गर्दा तपाईंको सिर्जनशीलता ओझेलमा पर्छ। सिर्जनामा लेखकको विचार एवं भाव नै महत्त्वपूर्ण हुन्छ, त्यसैले सिर्जनामा नयाँपन दिन्छ। नयाँ आयाम थप्छ। सामाजिक, प्राकृतिक वा पौराणिक जस्तोसुकै पक्ष रोज्नुस् त्यो लेखकको अभिरुचि हो।  लेखनअघि सम्बन्धित रचनामा निकै चिन्तन र मनन गर्नुहोस्। सक्दो भावनाको गहिराइमा पुग्ने प्रयास गर्नुहोस्। अनि आफ्नै सोँच र दृष्टिकोणलाई पस्किनुहोस्।

अन्तमा, किन कोही स्रष्टा दलको झण्डामुनि ओत लाग्ने रहर गर्छन्?

यो प्रश्नको जबाफ त उहाँहरूसितै छ।

प्रकाशित: ८ असार २०८१ १२:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 17 =