श्री एयरलाइन्सको काठमाडौँ–भरतपुर परीक्षण उडान

हिमाल प्रेस ६ असार २०८१ १६:३५
42
SHARES
श्री एयरलाइन्सको काठमाडौँ–भरतपुर परीक्षण उडान

चितवन- श्री एयरलाइन्सले आज काठमाडौं–भरतपुर परीक्षण उडान सम्पन्न गरेको छ। भरतपुर विमानस्थलमा जहाज अवतरण भएपछि उडान दललाई स्वागत गरिएको थियो। श्री एयरलाइन्सको ड्यास एट क्यू ४०० (Dash 8 Q 400) जहाजको परीक्षण उडान गरिएको हो। एयरलाइन्सका अध्यक्ष सुधीर मित्तलसहितको टोली परीक्षण उडानबाट विमानस्थल झरेसँगै उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङ, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललगायतले उनीहरूलाई स्वागत गरेका थिए।

अध्यक्ष मित्तलले ८० जना यात्रु बोक्न सक्ने क्षमताको जहाज सहज अवतरण भएको जनाउँदै नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएसँगै नियमित उडान गर्न सकिने बताए। उडान थालेसँगै अहिलेको भाडा दरभन्दा केही कममा उडान गर्न सकिने उनको भनाइ छ। अहिले बुद्ध एयरले मात्र दैनिक भरतपुरबाट काठमाडौँ र पोखरा उडान गर्दै आएको छ। एकतर्फी भाडा रु चार हजार सात सयभन्दा माथि छ।

यो विमानस्थलको धावनमार्ग एक हजार दुई सय मिटरमात्र लामो छ। धावनमार्ग कम भएकाले क्षमताभन्दा केही कम यात्रु उडाउन सकिने उनले जानकारी दिए।  भरतपुरबाट काठमाडौँ उडान भर्दा ५५ जना र काठमाडौँबाट आउँदा ७० जनासम्म उडान गर्न सकिने अनुमान उनको छ।

जहाजको सहज अवतरणपछि गृहमन्त्री लामिछानेले यसले यहाँको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने बताए। उाले आफू अन्त्यमा आएर जोडिएको भन्दै सुरुवातदेखि निरन्तर लागिररहेका महानगरपालिका प्रमुख दाहाललगायत सबैलाई धन्यवाद दिए।

पर्यटनमन्त्री तामाङले महानगरपालिकाको प्रमुखको निरन्तर सात वर्षको मेहनत, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहल, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको चाहनाका कारणले चितवनवासीले सोचेको भन्दा छिटो विमानस्थल स्तरोन्नति र विस्तारको काम हुन लागेको बताए। उनले काम नरोकिने जनाउँदै यथाशक्य छिटो विमानस्थल विस्तारको काम सम्पन्न हुने बताए।

महानगर प्रमुख दाहालले आफू पहिलोपटक प्रमुख भएपछि पहिलो कार्यपालिकाको बैठकबाट यो विषयलाई निर्णय गरेर निरन्तर लागेको जनाउँदै सबैलाई धन्यवाद दिइन्। उनले विमानस्थल विस्तारसँगै कम भाडादरमा यात्रुले हवाई यात्रा गर्न पाउने भन्दै श्रीएयर यहाँ आएर यात्रुलाई सहज हुने उनको भनाइ छ। यसले यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उनको भनाइ थियो।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले यथाशक्य छिटो श्रीएयरलाई भरतपुर उडानका लागि अनुमति दिइने बताए। आउँदो जनवरीसम्ममा विमानस्थल विस्तारको काम थाल्ने जनाउँदै उनले यससँगै चौबीसै घण्टा जहाज चलाउन सकिने उनको भनाइ छ। रासस

प्रकाशित: ६ असार २०८१ १६:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − four =