खेती किसानी

बंगुरपालन : माग धान्नै मुस्किल छ अर्जुनलाई

रमेश भारती ६ असार २०८१ १५:०६
1.4k
SHARES
बंगुरपालन : माग धान्नै मुस्किल छ अर्जुनलाई अर्जुन योङहाङ। तस्बिर : रमेश दवाडी

काठमाडौँ- ‘मासुका पारखीहरू बंगुरको परिकारमा जति आकर्षित हुन्छन्, आफू नजिकै बंगुर देख्दा त्यत्ति नै घिनाउँदा रहेछन्’, यो भनाइ हो बंगुरपालक किसान अर्जुन योङहाङको। उनको भोगाइ पनि त्यस्तै छ, स्वदेशमै केही उद्यम गर्ने उद्देश्यले काठमाडौँ पाँचथरबाट काठमाडौँ छिरेका उनले सुरुमा काठमाडौँको टोखामा बंगुरपालन गरे। त्यहाँ स्थानीयवासीले फोहोर भयो भनेर विरोध गरेपछि केही समय अन्योलमा परे उनी। स्थानीयले विरोध गर्दैमा व्यवसाय बन्द गर्न सकेनन्।

बजारमा बंगुरको माग उच्च रहेको बुझेका योङहाङले फार्म दक्षिणकाली नगरपालिकामा पर्ने चाल्नाखेलमा सारे। त्यहाँ पनि विरोध नभएको होइन। पातलो बस्ती भएकाले मात्रै आफूलाई बंगुर पाल्न सहज भएको योङहाङ बताउँछन्। उनले भने, ‘बंगुर भन्नेबित्तिकै मान्छेले गलत सोच्छन्। त्यही भएर बंगुरपालन गर्ने स्थानबाट स्थानीयले लखेट्दा रहेछन्।’

योङहाङले चाल्नाखेलको भैँसीखेलमा बंगुर, कुखुरा र हाँस फार्म सञ्चालन गरिरहेका छन्। पाँच लाख लगानी गरेर थालनी गरेको व्यवसाय फस्टाउँदो छ। बंगुरपालक किसानलाई फोहोरी काम गरेको भनेर होच्याउने गरे पनि केही फरक नपर्ने उनी बताउँछन्। ‘मानिसहरू बंगुरपालनलाई फोहोरी काम भन्छन्। बजारमा यही बंगुरको माग धेरै छ’, योङहाङले भने।

बजारको माग धान्न मुस्किल भएको उनले बताए। उनले भने, ‘वैशाखयता २० वटा पाठापाठीको माग भएको छ, कहाँबाट ल्याउनु त्यति?’ पाठापाठीका माग उपत्यकाबाहिरबाट पनि आउने गरेको उनले बताए।

ग्राहकको मागअनुसार विभिन्न जातका बंगुर भित्र्याउँदै जाने योजनामा उनी छन्। योङहाङ भन्छन्, ‘बिक्री नहोला भन्ने चिन्ता छैन। अब बंगुरका पाठापाठी अहिलेभन्दा दोब्बर उत्पादन गर्दैछु।’ उनले उन्नत जातको पाठापाठी पनि उत्पादन गर्न थालेका छन्।

उनको फार्ममा धराने, पाख्रीबास र डिउना प्रजातिका बंगुर छन्। योङहाङले चाल्नाखेलमा तीन रोपनी जग्गा भाडामा लिएका छन्। त्यससबापत वार्षिक १ लाख ५० हजार रुपैयाँ तिर्नुपर्छ। फार्ममा बंगुरका पाठापाठीसँगै मासु र बिउ पनि पाइन्छ। यहाँ उत्पादन भएका पाठापाठी एउटाको नौ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको उनी सुनाउँछन्।
‘ठूला बंगुर ४० हजार रुपैयाँसम्ममा बिक्री भइरहेको छ’, उनले भने। दुईतीन महिनामै पाठापाठी बेच्नका लागि तयार हुन्छन्।

एउटा बंगुरले एक पटकमा १० देखि १६ वटासम्म पाठापाठी पाउँछ। माउ बंगुरले वर्षमा दुई बेत ब्याउँछ। उनका अनुसार फार्ममा सानाठूला गरी ६० वटाभन्दा बढी बंगुर छन्। उनले भने, ‘मैले सुरुदेखि बंगुरपालन गर्दै आएँ। उन्नत जातको पाठापाठी उत्पादन गरी ग्राहकसम्म पुर्‍याउने लक्ष्य छ। अहिलेसम्म ऋण छैन। फार्मको आयस्रोत कृषिमै लगानी गर्दैछु।’

वर्षमा ४ लाख नाफा

बंगुरपालनबाट योङहाङले सबै खर्च कटाएर वार्षिक चार लाखसम्म कमाउँछन्। परिवारका सदस्यले बंगुरपालनमा सघाइरहेका कारण उनले काम गर्ने मान्छे राख्नुपरेको छैन। उनले भने, ‘बंगुर, कुखुरा र हाँसपालनसँग सन्तुष्ट छु। वार्षिक १५/१६ लाख खर्च गर्दा आम्दानी चार लाख हुन्छ। अहिले श्रीमती र तीन छोराछोरीको पालनपोषण र पढाइखर्चको माध्यम बंगुर पालन भएको छ।’

आहार संकलन फोहोरबाट

बंगुरको दानपानीकै लागि योङहाङ दैनिक बिहान चार बजे उठिसक्छन्। सडेका फलफूल र बढी भएका खानेकुरा संकलन गर्न होटल/रेस्टुरेन्ट पुग्छन्। बंगुरलाई १० बजेभित्र दानापानी हालिसक्नुपर्छ। कुखुराको आन्द्रा ‘हाफ ब्वाइल’ गरेर हाँसलाई खुवाउँछन् भने झोलचाहिँ बंगुरलाई दिन्छन्।

धानको ढुटो र भुस बंगुरका अन्य आहार हुन्। होटेलमा बढी भएका खानेकुरा ल्याउँदा बंगुर बिरामी हुन थाल्यो। त्यसपछि फोहोरको गाडीबाट बंगुरका लागि उपयोगी वस्तु संकलन गर्न थालिएको उनले बताए। ‘मानिसले मिल्काएका फलफूल, काउली, मेवा, केरा छानेर ल्याउने गरेका छौँ। तर फोहोरमा आफैँले छान्नुपर्छ’, उनले भने। एउटा गाडी फोहोरमा दाना छान्न २२ सय रुपैयाँ तिर्नुपर्छ।

सामान्य रोगको उपचार आफैँबाट

बंगुरपालन थालेपछि बिस्तारै उसलाई लाग्ने सामान्य रोगबारे बुझ्न थालेको योङहाङ बताउँछन्। उनी भन्छन्, ‘सामान्य खोप त आफैँले लगाउने गरेको छु। दबाईचाहिँ डाक्टरको सल्लाहअनुसार खुवाउँछु। बंगुरलाई सामान्य रूपमा कस्ताकस्ता रोग लाग्छन् भन्नेबारे डाक्टरसँग सिकेको हुँ।’ साथीभाइको फार्ममा बंगुर बिरामी हुँदा गएर सामान्य उपचार गरिदिने गरेको योङहाङले बताए।

फार्ममा बंगुरका साथ अर्जुन योङहाङ। तस्बिर : रमेश दवाडी

यसरी बने प्रेरणाका स्रोत

नातामा दाजु पर्ने देउमान दम्पतीले बंगुरपालन गर्ने सल्लाह दिए। सोहीअनुरुप उनले ऋण खोजे। लगानी गरे र व्यवसाय आरम्भ गरे। बिस्तारै व्यवसया फस्टाउँदै गएको योङहाङ बताउँछन्। उनले भने, ‘मेरो देखेर अरूले पनि सिको गर्न थालेका छन्। विदेश जान खोजेका युवालाई रोकेको छु भने मेरो काम देखेर विदेश गएका साथीभाइ फर्किएका छन्।’

त्यसो त योङहाङ कतारमा निकै दुःख पाएर फर्किएका हुन्। उनले भने, ‘चर्को घाममा काम गर्दा पनि भनेजति तलब पाइएन। गर्दागर्दैको काम छाडेर देशमै केही गर्छु भनेर फर्किएँ।’

कतारबाट फर्केपछि उनले झापाको बिर्तामोडमा केही समय रेस्टुरेन्ट चलाए। त्यो राम्ररी चलाउन सकिनँ। अनि काठमाडौँ आएर बंगुर पालनमा लागेको हुँ।’ यस क्रममा टोखामा पाँच वर्ष फार्म चलाए। उनको सुझाव छ, ‘खट्दाखेरि कमाइ त आफ्नै देशमा हुँदो रहेछ भने किन ऋण गरेर अर्काको देशमा जाने? आफ्नै देशमा बालबच्चासँग बस्ने मिठो नमिठो एक छाक खाएर पनि काम गर्न सकिन्छ।’

ऋण काढेर व्यवसाय थाल्दा उनले सुरुसुरुमा धेरै समस्या भोगे। ‘पाठापाठी स्याहार्न, दाना खुवाउन र माउलाई कतिखेर दाना हाल्ने आदि कुरा जान्न समय लाग्यो। बिस्तारै सिक्दै गरेपछि अहिले सजिलो भएको छ’, योङहाङले भने। उनले विदेश जान लागेका युवालाई पनि यहीँ काम गर्न प्रोत्साहित गर्दै आएका छन्। म्यानपावरलाई खुवाउने पैसा खुवाउनुभन्दा यतै केही गर्नुपर्छ भनेर सल्लाह दिँदै आएको उनी बताउछन्। उनी भन्छन्, ‘दुईचार लाख लगानी गरे त यहीँ राम्रो छ। सबैभन्दा राम्रो त बंगुर फार्म नै हो।’

बंगुरपालन गर्दा के के गर्नुपर्छ भनेर सल्लाह पनि दिन्छन् उनी। बंगुर पालेको ठाउँमा हाँस पाल्नैपर्ने उनको अनुभव छ। ‘बंगुर पालेको छ महिनापछि पैसा पाइन्छ भने हाँसले नियमित पैसा दिन्छ। हाँसको अण्डा पनि बिक्री हुन्छ। घरखर्च चलाउन सजिलो हुन्छ।’

साथै हाँस र बंगुरका लागि आहारा पनि उस्तै भएकाले सजिलो हुने उनी बताउँछन्। फार्ममा केही कुखुरा पनि पालेका छन् योङहाङले। उनले भने, ‘कुखुरा त आफन्त र साथीहरूका लागि हो। लोकल खान चाहनेले किनेर लान्छन्। कुखुराबाट खासै आम्दानी हुँदैन। बंगुर र हाँसबाट आम्दानी हुन्छ।’

बंगुरपालनका लागि उनले आधुनिक खोर बनाउने योजना सुनाए। व्यवसाय विस्तार गर्दै लैजाने अर्जुनको योजना छ। माउ बंगुरको संख्या बढाएर पाठापाठी उत्पादन बढाउने योजना उनले योजना सुनाए। बंगुरका लागि उनले कतैबाट अनुदान नपाएको बताए। अनुदान पाएमा आफूलाई व्यवसाय विस्तार गर्न सहज हुने उनी बताउँछन्। व्यावसायिक रूपमा बंगुरपालन गर्दै आए पनि स्थानीय सरकारबाट कुनै सहयोग नगरेको अर्जुनको गुनासो छ। युवाहरूलाई व्यसायमा आकर्षित गर्न स्थानीय सरकारले कार्यक्रम ल्याए पनि सामान्य किसानले अनुदान नपाएको उनले बताए।

उपत्यकामा ५७ प्रतिशत बंगुरको मासु खपत

नेपालमा वार्षिक ५ लाख २० हजार मेट्रिक टन मासु उत्पादन हुने गरेको सरकारी तथ्यांक छ। कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार बंगुरको मासु करिब ९१ हजार २७ मेट्रिक टन उत्पादन हुन्छ।

बंगुरको उत्पादितमध्ये ५७ प्रतिशत मासु उपत्यकाभित्र खपत हुने गरेको कृषि मन्त्रालयको पशुपन्छी तथा मासुजन्य उत्पादन प्रतिवेदनमा उल्लेख छ।

नेपालमा चोँचे, हुर्रा, वामपुड्के, जंगली बँदेल, पाख्रीबास, धराने कालो बंगुर पालन गरिन्छ। भारत, चीन, अस्ट्रेलिया, नर्वे, भियतनाम, इटली, फ्रान्स, थाइल्यान्डलगायत देशबाट वार्षिक ३० हजार मेट्रिक टन बंगुरको मासु आयात हुने गरेको मन्त्रालयको प्रतिवेदनमा छ।

प्रकाशित: ६ असार २०८१ १५:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =