‘म्याड-फेस्ट २०२४’ नामक नाटक महोत्सव गर्दै मण्डलाका पूर्वविद्यार्थी

हिमाल प्रेस ५ असार २०८१ १५:३४
408
SHARES
‘म्याड-फेस्ट २०२४’ नामक नाटक महोत्सव गर्दै मण्डलाका पूर्वविद्यार्थी

काठमाडौँ- मण्डला थिएटर नेपालका पूर्वविद्यार्थीले ‘म्याड-फेस्ट २०२४’ नामक नाटक महोत्सव गर्ने भएका छन्। महोत्सव मण्डला पूर्वविद्यार्थी सर्कल (एमएसी) र मण्डला थिएटर नेपालको संयुक्त प्रयासमा पहिलो पटक हुन लागेको हो।

थापागाउँस्थित मण्डला थिएटर नेपालको प्राङ्गणमा महोत्सव यही असार २१ देखि २३ (५-७ जुलाई) तीन दिनसम्म चल्नेछ।

हालसम्म गरेका काम र अनुभवलाई आगामी पुस्तामा समर्पित गर्ने र नयाँ पुस्ताका लागि ठाउँ, ज्ञान र अवसर सिर्जना गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको निर्देशक अनुप न्यौपानलेले बताए। ‘नाटक सिकेपछि कोही कता कोही कता हराइरहेका हुन्छौँ,’ उनले भने।

पूर्व विद्यार्थीको समुदायमा दिगो सम्बन्धहरू पुनः स्थापना, सहकार्य र एकआपसमा एकता प्रोत्साहन गर्ने नाटकको अर्को मुख्य उद्देश्य रहेको महोत्सवका निर्देशक अनुप न्यौपानेले बताए।

महोत्सवले पूर्वकलाकारको लागि सहज र पहुँच योग्य प्लेटफर्म सिर्जना गर्नेछ भन्नेमा निर्देशक न्यौपानेको विश्वास छ। निर्देशक न्यौपानेका अनुसार विगतका वर्षहरूमा भएका नाटक महोत्सवहरू भन्दा अलग, नयाँ लेखक र निर्देशकहरूलाई प्रोत्साहन गर्ने महत्वाकाङ्क्षा रहेको छ।

महोत्सवमा सामाजिक समकालीन नाटकदेखि प्रयोगात्मक एबसर्ड नाटकहरू लिएर विभिन्न विधाका ६ वटा नाटक प्रदर्शन गरिनेछ। साथै महोत्सवमा कविता, संगीत, प्रश्नोत्तर सत्र, समाचार नाटक, प्यानल छलफलहरु पनि हुनेछ।

निर्देशक न्यौपानेका अनुसार महोत्सवमा उपलब्ध १८ वटा कथाहरूबाट ८ वटा कथाहरूलाई जुरीमार्फत छनोट गरिएको हाे। छानिएका लेखक र निर्देशकहरूलाई १५ दिने प्रोडक्सन वर्कसपमा सहभागी गराएपछि अन्ततः ६ वटा नाटक छनोट गरिएको उनले बताए।

लेखक निर्देशक संयोग गुरागाईंद्वारा लिखित ‘रेल्वे टु नोव्हेर’,अदन बत्री र सुशन बस्नेतको लेखन, सुशन बस्नेतको निर्देशन रहेको ‘मिरर’, श्रेया सिंहको लेखन र बेदना राई निर्देशित ‘सिल्पिनी’, प्रविन तामाङको लेखन र विजय तामाङ (ब्लोन) को निर्देशन रहेको ‘नुग्धा’, प्रितिशा अधिकारी लेखन र निर्देशित ‘आगम’ र सागर कार्कीको लेखन र निर्देशन रहेको ‘अंकुरन’। यी नाटकको १० दिने नियमित मञ्चन पनि हुनेछ।

दयाहाङ राईको अभिभावकत्वमा मण्डला पूर्व विद्यार्थी सर्कल र मण्डला थिएटर नेपालको संयुक्त प्रयासमा महोत्सव आयोजना गरिएको हो। विश्व रङ्गमञ्च दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा म्याड-फेस्ट २०२४ को घोषणा घोषणा गरिएको थियो।

प्रकाशित: ५ असार २०८१ १५:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − thirteen =