महिन्द्र-गंगानारायण : न बाबुरामसँग रहे, न प्रचण्डका भए

किरण पौडेल ३ असार २०८१ १६:५०
1.3k
SHARES
महिन्द्र-गंगानारायण : न बाबुरामसँग रहे, न प्रचण्डका भए

काठमाडौँ- नेकपा माओवादी केन्द्रले बेवास्ता गर्दा नेपाल समाजवादी पार्टी (नेसपा) बाट आएका नेताहरू यता न उता भएका छन्। डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाबाट फुटेर आएका नेताहरूको माओवादीमा विलय हुने प्रक्रिया ओझेलमा परेको हो।

नेसपाका महिन्द्र्रराय यादव, गंगानारायण यादवसहितका नेताहरू चैत ३ मा माओवादीसँग एकता गर्न तयार भएका थिए। उनीहरूले माओवादीसँग मिसिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग लिखित सहमति गरेका थिए। माओवादीकै आलटालले एकता प्रक्रिया रोकिएको नेसपाका पूर्वनेताहरूको गुनासो छ।

नेसपाका महिन्द्रराय यादव पक्षीय नेताहरूले सिंगो नेसपा माओवादीसँग एकतामा गएको दाबी गरेका थिए। बाबुराम पक्षीय नेता भने एकता प्रक्रियामा गएनन्। बाबुराम-प्रचण्डबीच सहमति नजुट्दा अन्य नेता नेसपा फुटाएर एकता प्रक्रियामा सामेल भएका थिए।

नेसपा स्रोतका अनुसार केन्द्रीय समितिका ४७ जना मात्र माओवादीको एकता प्रक्रियामा गएका छन्। नेसपामा एक सयभन्दा बढी केन्द्रीय सदस्य छन्। नेसपाको बाबुराम पक्षले महिन्द्र पक्षलाई कारबाही गरिसकेको छ। माओवादीले उनीहरूलाई साधारण सदस्य बनाएको छैन। त्यसैले महिन्द्र-गंगाराम यतिबेला अन्योलमा छन्।

चैत ३ मा भएको चारबुँदे सहमतिअनुसार दुई पक्षबीच वैचारिक एकरूपता र संगठनात्मक तयारी गर्न माओवादीका तर्फबाट महासचिव देवप्रसाद गुरुङ र महिन्द्र पक्षबाट नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठको नेतृत्वमा कार्यदल बनेको थियो।

माओवादी स्रोतका अनुसार चैतयता कार्यदलको बैठक एकपटक मात्र बसेको छ। पार्टीभित्रका केही नेतालाई त एकता प्रक्रिया कहाँ पुग्यो पनि थाहा छैन। यद्यपि दुवै पक्ष एकता तत्काल भइहाल्ने बताउन छाडेका छैनन्। उनीहरू साउनमै एकता हुने दाबी गर्छन्। एकता प्रक्रिया भने उनीहरूले दाबी गरेजस्तो सहज छैन।

‘यसबारे पछिल्लो समय छलफल चलेको सुनिएको छैन। कसरी अघि बढ्छ थाहा छैन,’ माओवादी सचिव गणेश साह भन्छन्, ‘उहाँहरू(महेन्द्र-गंगानारायण) माओवादी बनिसक्नुभयो। अब पदमा मिलाउन मात्र बाँकी छ।’ महिन्द्र पक्षका नेताहरूलाई दिइने पद खुलाइएको छैन।

माओवादीका एक पदाधिकारीका अनुसार महिन्द्रलाई पदाधिकारी र गंगानारायणलाई केन्द्रीय समितिमा समेट्ने प्रयास भइरहेको छ।  ‘अध्यक्ष (प्रचण्ड) ज्यूले पद तपाईँले चाहेजस्तो, सहमति मेरो भन्नुभा छ’, माओवादीका एक नेता भन्छन्, ‘एकता हुने टुगो छैन।’ महिन्द्र नेसपामा रहँदा पार्टी अध्यक्ष थिए भने गंगानारायण सहअध्यक्ष थिए।

‘उहाँहरूसँग एकता गर्ने सैद्धान्तिक सहमति भइसक्यो। अब बिस्तारै एक भइन्छ,’ माओवादीतर्फका वार्ता टोली संयोजक एवम् महासचिव देव गुरुङ भन्छन्, ‘महाधिवेशनअघि हामी एक हुन्छौँ।’ महाधिवेशनको भने टुंगो लागेको छैन।

अर्का एक नेता पनि अध्यक्ष प्रचण्डले महाधिवेशनअघि पद दिने आश्वासन दिएको बताउँछन्। माओवादीले यसप्रति चासो दिएको छैन। अध्यक्ष प्रचण्डले समय दिन नसकेको र अन्य नेताले चासो नदिएको महिन्द्रनिकट एक नेता सुनाउँछन्। ती नेता भन्छन्, ‘छलफल अघि बढ्न सकेन। माओवादीबाट पनि चासो कम हुँदै गयो।’ नेसपाले शुक्रबार सूचना निकालेर महिन्द्रलाई कारबाही गरेको जनाएको छ।

‘हामीले स्पष्टीकरण सोधेका थियौँ। चित्त बुझ्दो नआएपछि कारबाही गर्‍यौँ’, नेसपाका प्रवक्ता कृष्ण शर्मा भन्छन्, ‘बैठकमा बोलाउँदा नआएको र पार्टी हितविपरीत काम गरेकाले कारबाही गरिएको हो।’

महिन्द्र भने नेसपाले आफूलाई कारबाही गर्न नमिल्ने बताउँछन्। ‘बाबुरामजीले कारबाही गरेर केही हुन्न। हामी एकताको तयारीमा छौँ। एकता अब भइहाल्छ’, उनी भन्छन्, ‘हामी अहिले माओवादी भएका छैनौँ। प्रक्रियामा छौँ।’ बाबुरामसहितकै नेताको सहमतिमा आफूहरूले माओवादीको चुनाव चिह्नबाट उम्मेदवारी दिएको महिन्द्रको दाबी छ।

‘बाबुराम आफू नउठ्ने तर छोरी (मानुषी यमी)लाई उठाउने हुनुभयो। उहाँले प्रचण्डलाई गोरखा २ छाड्दिनुभयो,’ महिन्द्र भन्छन्, ‘चुनावपछि उहाँ (बाबुराम)जी एकतामा नजाने हुनुभयो। हामी एकतामा गयौँ।’ महिन्द्रपक्षले आफूहरूसँग कति नेता छन् भनेर छुट्याउन सकेको छैन।

महिन्द्रले पाउलान् त उपनेता?

प्रतिनिधिसभा निर्वाचनबाट महिन्द्रले माओवादीकै चुनाव चिह्न गोलाकारभित्रको हसिँया र हथौडामा चुनाव लडे। सर्लाही २ बाट प्रतिनिधिसभामा जित्दा उनी मधेशमा माओवादीको एक मात्र प्रत्यक्ष सांसद बनेका थिए।

यही कारण पनि महिन्द्र प्रचण्ड नजिक भए। माओवादीका कतिपय नेताका अनुसार उनलाई प्रचण्डले संसदीय दलको उपनेता बनाउने तयारी गरेका छन्। महिन्द्र भने यो कुरा स्वीकार्न तयार छैनन्।

‘मलाई यसबारे थाहा भएन। पद ठूलो कुरा होइन। सम्मानजनक एकता हुनुपर्छ’, उनी भन्छन्। माओवादीको संसदीय दलको उपनेता चयनका बेला विवाद भएको थियो। माओवादीका दलको नेतामा प्रचण्ड सर्वसम्मत बन्दा उपनेतामा उपमहासचिव वर्षमान पुन र जर्नादन शर्माले दाबी गरेका थिए।

विवाद भएपछि प्रचण्डले उपनेता मनोनयन स्थगित गरे। सो पद खाली छ। प्रचण्डले महिन्द्रलाई उपनेता बनाएर वर्षमान र जनार्दनलाई ‘सन्तुलन’ गर्न सक्ने माओवादीका ती नेता बताउँछन्। यही कारण महिन्द्र माओवादीसँग एकताका लागि सहमत भएको ती नेताको दाबी छ।

महिन्द्रलाई अघि सारे मधेशमा माओवादी शक्ति बढ्ने अनुमान छ। हुन त माओवादीसँग एकता प्रक्रियामा सहमति हुँदा महिन्द्र प्रचण्डकै नेतृत्वमा खानेपानी मन्त्री थिए। उनी बाबुरामकै कोटाबाट मन्त्री बने पनि अहिले पद गएको छ। प्रचण्डले कांग्रेसको समीकरण तोड्दा महिन्द्रको मन्त्री पद गएको हो। महिन्द्र भने आफूले पदका लागि राजनीति नगरेको सुनाउँछन्। सम्मानजनक रूपमा सहमति भए एकता हुने उनी बताउँछन्।

‘एकता महाधिवेशन अब हुन्छ। जुन महाधिवेशनमा पार्टीको नाम फेरिन्छ,’ महिन्द्र भन्छन्, ‘हामी मात्र होइन। विप्लव (नेत्रविक्रम चन्द) सँग पनि एकता हुन्छ।’

नेसपाबाटै माओवादीसँग एकता गर्न तयार गंगानारायण भने बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री छन्। उनी नेसपा पक्षका वार्ता संयोजक हुन्। वार्ता समितिका विषयमा चासो राख्दा गंगानारायणले आफू व्यस्त रहेको बताए। उनी लामो समयदेखि बाबुराम निकट नेता हुन्। बाबुराम प्रधानमन्त्री हुँदा उनी प्रमुख स्वकीय सचिव थिए। अहिले बाबुरामसँग छुट्टिए। यी नेताहरू बाबुरामसँग छुट्टिएर माओवादीसँग एकता गर्ने भनिए पनि एकता प्रक्रिया अनिश्चित बनेको छ।

अनिश्चित महाधिवेशनको पर्खाइ

माओवादीका महासचिव गुरुङले महाधिवेशनपछि पार्टी एकता हुने बताए पनि महाधिवेशन कहिल्यै हुने टुंगो छैन। माओवादीको आठौँ महाधिवेशन २०७८ पुसमा भएको थियो। अध्यक्ष प्रचण्डले ६ महिनामै विशेष महाधिवेशन गर्ने बताएका थिए। तीन वर्ष बितिसक्दा पनि विशेष महाधिवेशन हुने निश्चित छैन।

महिन्द्र पक्षीय नेताहरू पनि सोही महाधिवेशनबाट एक भएर जाने बताउँछन्। ‘महाधिवेशनले पार्टीको नाम फेर्छ। अनि एकता हुन्छ’, महिन्द्र भन्छन्। महिन्द्रको सर्त नै माओवादीको नाम फेर्नुपर्ने छ। माओवादीका एक नेताका अनुसार माओवादी हटाएर नेकपा (समाजवादी) बनाउने तयारी छ।

त्यसका लागि महाधिवेशन कुर्नुपर्छ। महाधिवेशन हुने टुंगो नहुँदा एकता प्रक्रिया अनिश्चित छ। आठौँ महाधिवेशनलाई माओवादीले राष्ट्रिय सम्मेलन भनेर तयारी गरेको थियो। अध्यक्ष प्रचण्डले सम्मेलनलाई एकाएक महाधिवेशनमा परिणत गरेका थिए।

महाधिवेशन औपचारिकता भएको भन्दै कार्यकर्तालाई प्रचण्डले विशेष महाधिवेशन गर्ने बताएका थिए। फागुन १ मा माओवादीले ‘विधान सम्मेलन’ गरेको थियो। विधान सम्मेलनमा पनि तत्काल महाधिवेशनको कुरा उठेको थियो। वधान सम्मेलन सकिएको ६ महिना बित्दा पनि महाधिवेशन मिति तोकिएको छैन। ‘महाधिवेशन गर्ने पनि तयारी हुँदैछ, छलफलमा छौँ’, महासचिव गुरुङ भन्छन्।

मधेशमा प्रचण्डको महिन्द्र ‘कार्ड’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + twelve =