मधेशमा प्रचण्डको महिन्द्र ‘कार्ड’

किरण पौडेल १२ मंसिर २०८० २०:३८
60
SHARES
मधेशमा प्रचण्डको महिन्द्र ‘कार्ड’

काठमाडौँ– २०६४ साल यता चुनावैपिच्छे जनाधार र जनमत गुमाउँदै आएको दल हो माओवादी केन्द्र। एकपछि अर्को चुनावमा माओवादीको मत र सिट घट्दो क्रममा छ। यसको प्रभाव मधेश प्रदेशमा नपर्ने कुरै भएन।

माओवादी नेताहरूका अनुसार मधेशमा माओवादीभित्र ‘जनयुद्ध लडेका’ र ‘नलडेका’ बीच ठूलै खाडल छ। माओवादी सचिव गणेश साह भन्छन्, ‘मधेशमा आपसी द्वन्द्वकै कारण माओवादी खुम्चिएको हो।’ मधेशमा मातृका यादव र गणेश साह ‘माओवादी जनयुद्ध’ लडेका नेता भनेर चिनिन्छन् भने गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल ‘जनयुद्ध’ नलडेका नेता भनेर चिनिन्छन्।

‘मधेशमा माओवादीको देखिने गरी दुई गुट छ। एकले अर्कोलाई साथ दिन चाहँदैन,’ माओवादीका एक नेता भन्छन्, ‘यसैले मधेशमा मत घट्दो छ।’ मधेशमा यति बेला माओवादीका तर्फबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने एकमात्र नेता हुन् महिन्द्र राय यादव। वैधानिक रूपमा माओवादी रहे पनि यादवको दल भने नेपाल समाजवादी पार्टी हो। प्रचण्ड क्याबिनेटमा खानेपानीमन्त्री रहेका यादव माओवादीसँग तत्काल एकता गर्नुपर्ने पक्षमा छन्।

यादव माओवादीमा जाँदा मधेशमा नयाँ धारको नेताको जन्म हुने नेतृत्वको बुझाइ छ। ‘पुराना नेता महिन्द्र मधेशमा जनमत भएका नेता हुनुहुन्छ। उहाँले सर्लाहीबाट लगातार दुई पटक चुनाव जित्नुभयो’, सचिव साह भन्छन्। त्यसैले महिन्द्रलाई प्रचण्डले पत्याएको साह बताउँछन्।

माओवादीको उच्च स्रोतका अनुसार मधेशको माओवादीमा पोखरेल गुट र यादव गुटका साथै एमालेबाट माओवादीमा प्रवेश गरेको गुटको वर्चस्व छ। मधेश केन्द्रित दलबाट माओवादीमा प्रवेश गर्ने पनि त्यत्तिकै छन्। यी सबै गुटको नियन्त्रणका लागि प्रचण्डले महिन्द्रलाई अगाडि बढाउन खोजेको साहले बताए।

‘उहाँ (महिन्द्र) सबै झमेला नियन्त्रण गर्न सक्नु त हुन्न होला। तर हाम्रो नेतृत्वले चाहेको यही छ’, साह भन्छन्। यसका साथै महिन्द्र मधेशमा मुस्लिम नागरिक र ‘यादव समुदाय’ बीच पनि निकट मानिन्छन्।

महिन्द्रले माओवादी चाहनुको कारण

महिन्द्र राय यादव नेसपाका अध्यक्ष हुन् तर माओवादी सांसद। माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव लडेकाले कानुनी रूपमा उनी माओवादी हुन्। प्रचण्ड र भट्टराईबीच मनमुटाव हुँदा यादव दुई नेताको चेपुवामा पर्दै आएका छन्। यादव भन्ने गर्छन्, ‘म नेता नेसपाको हुँ। तर माओवादीको संसदीय दलको बैठकमा जानुपर्छ। नगएर पनि भएन।’ त्यसैले उनी तत्काल पार्टी एकता गर्ने पक्षमा छन्। उनले लामो समयदेखि पार्टी बैठकमा एकताको कुरा उठाउँदै आएका छन्।

यादव निकट एक नेताका अनुसार माओवादीसँग तत्काल एकता नगरेमा आफू कारबाहीमा पर्न सक्ने डर उनलाई छ। ‘पार्टी एकता नगरेमा ममाथि कारबाही हुन सक्छ। अर्को पार्टीको सांसद भनेर निलम्बन गरेमा पद जान्छ। यसैले हामीले एकता गर्नुपर्छ,’ यादवले भन्दै आएका छन्।

यादवलाई दुई पार्टीबीच एकता नभएमा मन्त्रीबाट हट्नुपर्ने चिन्ता रहेको ती नेताले बताए। त्यसैले उनले एकताको विकल्प देखेका छैनन्। ‘उहाँलाई राजनीतिक जीवनमा समस्या आए पनि भविष्य कता छ, त्यही गर्ने योजना छ,’ यादव निकट एक नेता भन्छन्, ‘उहाँ प्रचण्डसँग एकता गरेर अघि बढ्न चाहनुहुन्छ। त्यहाँ राजनीति सुरक्षित हुने बुझाइ उहाँको छ।’

यादव लामो समय कम्युनिस्ट र मधेश केन्द्रित राजनीति गर्दै आएका नेता हुन्। अब उनी सानो दल वा भूगोल केन्द्रित राजनीतिमा सीमित नरहने योजनामा रहेको उनी निकट एक नेताले बताए।

प्रचण्डको रोजाइमा महिन्द्र

पूर्वसहयात्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भट्टराईबीच एकता, तिक्तता र खटपट हुनु नेपाली राजनीतिमा नयाँ होइन। पछिल्ला दिनमा पार्टी एकताका विषयमा दुई नेताबीच छलफल र गृहकार्य चलिरहेको छ।

एक महिनाअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकताकै लागि भट्टराईको सट्टा नेपाल समाजवादी पार्टी (नेसपा) का अर्का अध्यक्ष महिन्द्र राय यादवलाई पत्र पठाएपछि दुई नेतापछि खटपट भएको थियो। त्यति बेला नेसपाका केन्द्रीय कार्यकारिणी अध्यक्ष भट्टराई भारत भ्रमणमा थिए।

यादवलाई माओवादीले पत्र लेखेपछि भट्टराईले गम्भीरतापूर्वक लिए। नेसपा नेताहरूका अनुसार तत्काल माओवादी केन्द्रसँग एकता नगर्ने बाबुरामले अड्डी लिए। माओवादी केन्द्रले आफूलाई ‘बाइपास’ गरेको भट्टराईको निष्कर्ष थियो। तर अहिले भट्टराई दिनहुँजसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डसँग छलफल जारी राखेका छन्। माओवादीसँग एकताका लागि भट्टराईको नेतृत्वमा कार्यदल बनेको छ। भट्टराई र यादवबीच चाहिँ माओवादीसँग तत्काल एकता गर्ने कि नगर्ने भन्नेमा विवाद छ।

महिन्द्रलाई पत्र पठाउनुको अर्थ

२०७९ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एक ठाउँमा आए, प्रचण्ड र भट्टराई। प्रचण्डले त्यसबेला भनेका थिए, ‘बाबुराम–प्रचण्ड एक ठाउँ हुनुको ठूलो अर्थ छ।’

नेसपा माओवादी केन्द्रको चुनाव चिह्न ‘गोलाकारभित्रको हसिया हथौडा’बाट चुनाव लड्न सहमत भयो। माओवादी केन्द्र कांग्रेससहितको पाँच दलीय गठबन्धनमा पनि थियो। माओवादीको चुनाव चिह्नबाट यादवले सर्लाही २ र मानुषी यमी भट्टराईले काठमाडौँ ७ बाट उम्मेदवारी दिए।

सर्लाही २ मा यादव र लोसपाका नेता राजेन्द्र महतो लडेका थिए। लोसपा पनि माओवादीसहितको गठबन्धनमा सहभागी थियो। राजेन्द्रलाई छाड्दा लोसपासँग तालमेल टुट्ने डर माओवादीलाई थियो। त्यसबेला ‘कठोर निर्णय’ लिँदै प्रचण्डले यादवलाई सघाउने निर्णय लिए।

माओवादीसहित पाँचदलीय गठबन्धनको सहयोगमा यादवले चुनाव जिते। उनको जितले संघीय संसद्‌मा नेसपा शून्य हुनबाट जोगियो। माओवादीको चुनाव चिह्नबाट मधेश प्रदेशमा जित्ने व्यक्ति पनि यादव मात्र भए। यादवले एकातिर माओवादीको साख बचाए भने अर्कातिर मधेशका प्रभावशाली नेता मानिने महतोलाई संसद् प्रवेश हुन दिएनन्। कुनै बेला एकै दलमा रहेका यी दुई नेता संयोगले एउटै निर्वाचन क्षेत्रबाट लड्नुपर्‍यो।

को हुन् महिन्द्र राय यादव?

यादव कम्युनिस्ट राजनीतिमा भिजेका नेता हुन्। उनी २०६२/६३ अघिसम्म एमाले केन्द्रीय सदस्य थिए। २०५१ सालको मध्यावधि चुनाव र २०५६ को प्रतिनिधिसभा सदस्य चुनावमा एमालेबाटै उम्मेदवार बनेका थिए।

जनआन्दोलनपछि यादव मधेश आन्दोलनमा होमिए। उनी तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) को महासचिव बने। राजनीतिक घटनाक्रमले मधेशवादी दल जुट्न र फुट्न थालेपछि यादव तमलोपा परित्याग गरी तराईमधेश सद्भावना पार्टी हुँदै राष्ट्रिय जनता पार्टीको अध्यक्षमण्डलको सदस्य बन्न पुगे।

राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम एकीकरण गरी जनता समाजवादी बन्यो। जनता समाजवादी पार्टीमा पनि विवाद बढेपछि पार्टी फुटको स्थितिमा पुग्यो। अध्यक्ष उपेन्द्र यादव पक्षले तत्कालीन राजपालाई कारबाहीको तयारी थाल्यो। महिन्द्र राय यादव भने उपेन्द्र पक्षमै उभिए। उनको दल बदलको शृंखला यतिमा सीमित रहेन।

जसपामा अध्यक्ष यादव पक्ष र अर्का अध्यक्ष बाबुराम भट्टराईबीच विवाद बढ्यो। यादव पक्षले तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारबाट फिर्ता हुने निर्णय लियो। त्यसबेला यादव मन्त्री थिए। उनी तत्काल मन्त्रीबाट फर्किने पक्षमा थिएनन्।

भट्टराई–महेन्द्र पक्ष छुट्टिने अवस्थामा पुग्यो। पार्टीको केन्द्रीय कार्यकारिणीको बैठक वीरगन्जमा राखेपछि भट्टराई–महेन्द्र पार्टीबाट बाहिरिने निर्णयमा पुगे। सुरुमा जसपाका अधिकांश नेता भट्टराई पक्षमा देखिए। पछि यादव पक्षमै लागे। महिन्द्रले भने भट्टराईलाई साथ दिइरहे।

मधेशका जानकार एवं विश्लेषक रोशन जनकपुरी यादव भट्टराईको साथ नछाड्ने बताउँछन्। ‘महिन्द्र सादगी नेता हुन्। उनी अहिले नै बाबुरामलाई धोका दिनुहुन्न भन्नेमा छन्,’ जनकपुरी भन्छन्, ‘बाबुरामको साथ छाडेमा कतै नपुगिने बुझाइ उनको छ।’

आफ्नो निर्वाचन क्षेत्रमा यादव लोकप्रिय छन्। जनकपुरी भन्छन्, ‘विकासे राजनीतिमा स्थानीय स्तरमा प्रभावशाली नेता हुन् यादव।’ महिन्द्रको अबको बाटो त्यति सहज छैन। त्यसैले उनले भट्टराईसहितलाई लिएर माओवादीसँग एकता गर्नु उपयुक्त हुने जनकपुरी बताउँछन्।

मधेशमा माओवादीको ओरालो यात्रा

संघीयता कार्यान्वयन भएपछिको चुनाव परिणाम माओवादीका लागि त्यति सुखद रहेको छैन।  २०७४ सालको संघीय संसद्को चुनावमा माओवादी मधेशमा पाँच सिटमा निर्वाचित भएको थियो। २०७९ सालको चुनावमा आइपुग्दा एक सिटमा आइपुगेको छ।

प्रदेशसभामा र स्थानीय तहमा पनि माओवादीको प्रतिनिधित्व घट्दै गएको छ। २०७४ को चुनावमा माओवादीले मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ ६ सिट जितेको थियो। यसैगरी २०७९ को चुनावमा माओवादी केन्द्र मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ चार सिट जितेर छैटौँ दल बनेको थियो।

२०७४ सालको स्थानीय निर्वाचनमा माओवादीले २१ स्थानीय तहमा प्रमुख जितेको थियो। तीमध्ये प्रमुख १३ र अध्यक्ष आठ थिए। त्यस्तै त्यतिबेला माओवादीका तर्फबाट मधेशमा १८ उपमेयर र ६ उपाध्यक्ष निर्वाचित भएका थिए।

२०७९ को स्थानीय तह चुनावमा माओवादीले मधेशका १३६ स्थानीय तहमध्ये ९ तहमा मात्रै जितेको थियो। माओवादीका तर्फबाट सात वटा नगरमा मेयर र दुई गाउँपालिकामा अध्यक्ष निर्वाचित भएका थिए। त्यस्तै पाँच नगरमा उपमेयर र चार गाउँपालिकामा उपाध्यक्ष निर्वाचित भएका थिए।

प्रकाशित: १२ मंसिर २०८० २०:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − nine =